मानव गतिविधिबाट उत्पन्न जलवायु परिवर्तनले दक्षिणी अफ्रिकामा हालै आएको अत्यधिक वर्षा र बाढीलाई अझ गम्भीर बनाएको एक अध्ययनले देखाएको छ । यस प्राकृतिक विपत्तिका कारण १०० भन्दा बढी मानिसको ज्यान गएको छ भने तीन लाखभन्दा बढी विस्थापित भएका छन् ।वल्र्ड वेदर एट्रिब्युसनले गरेको अध्ययनअनुसार दक्षिण अफ्रिका, मोजाम्बिक र जिम्बाब्वेका केही भागमा केवल १० दिनभित्र एक वर्ष बराबरको वर्षा भएको थियो । यसले घर, सडक, पुल र अन्य पूर्वाधारमा ठूलो क्षति पु¥याउँदै गहिरो मानवीय पीडा निम्त्याएको अनुसन्धानकर्ताहरूले बताएका छन् ।

मोजाम्बिकमा धेरै घर तथा भवन पूर्ण रूपमा डुबानमा परेका थिए भने दक्षिण अफ्रिकाका लिम्पोपो र म्पुमालाङ्गा प्रान्त तथा जिम्बाब्वेका केही क्षेत्रमा सडक र पुलहरू बगाएका थिए ।वैज्ञानिकहरूका अनुसार यो दुर्लभ घटना करिब ५० वर्षमा एकपटक मात्र देखिने खालको हो । हालको ला निना मौसम प्रणालीले प्राकृतिक रूपमा ओसिलो अवस्था सिर्जना गरे पनि अत्यधिक तातो वातावरणका कारण यसको असर अझ तीव्र बनेको अध्ययनले जनाएको छ ।
रोयल नेदरल्यान्ड्स मौसम विज्ञान संस्थानका वरिष्ठ जलवायु अनुसन्धानकर्ता इजिदिन पिन्टोले जीवाश्म इन्धनको निरन्तर प्रयोगले चरम वर्षाको तीव्रता बढाएको र यसले बाढीलाई समुदायले सामना गर्न नसक्ने स्तरसम्म पु¥याएको बताए । उनका अनुसार वर्षाको तीव्रतामा देखिएको करिब ४० प्रतिशत वृद्धि मानव–कारण जलवायु परिवर्तनबिना सम्भव देखिँदैन ।वैज्ञानिकहरूले दक्षिणी अफ्रिका यसअघि पनि बाढीप्रति संवेदनशील रहे पनि यसपटकको घटनाको परिमाण अपेक्षाभन्दा धेरै भएको बताएका छन् । मोजाम्बिक मौसम सेवाका अनुसन्धानकर्ता बर्नार्डिनो नान्टुम्बोले केही स्थानमा दुई–तीन दिनमै वर्षायामभरि पर्ने वर्षा भएको उल्लेख गरे ।









प्रतिक्रिया दिनुहोस्