धनगढी ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) को सुदूरपश्चिम भ्रमण भ्रमणको क्रममा धनगढी पुगेपनि निर्धारित कार्यकर्ता भेटघाट तथा छलफल गर्न सकेनन् । समर्थकहरूको भिडभाडका कारण उनले गाडीबाट नओर्लिएरै मंगलबार मध्यान्ह धनगढी पुगेका बालेनले अर्को गन्तव्य कञ्चनपुरतिर लागे ।
धनगढी आइपुगेका बालेनलाई स्वागत गर्न आएका कार्यकर्ताको भिडले गर्दा उनले धनगढी–४ उत्तरबेहडीस्थित कार्यालयमा पस्न नसक्ने अवस्थामा उनले सोझै कञ्चनपुरतिर लागेका हुन् । कैलाली क्षेत्र नम्बर ५ को चुनाव लक्षित धनगढीको सम्पर्क कार्यालयमा बालेनलाई भेट्न उम्मेदवार आनन्दबहादुर चन्दलगायतका नेताहरूभित्रै पर्खिरहेका थिए ।
तर, कार्यालय बाहिर समर्थकहरूको भीडले ‘बालेन सरकार’ को पक्षमा नाराबाजी लगाइरहेका थिए । भीड नियन्त्रणबाहिर जान थालेपछि उनी बाहिरबाटै समर्थकहरूलाई हात हल्लाउँदै र घण्टी बजाउँदै कञ्चनपुरतर्फ लागेका हुन् । बालेन मंगलबार कञ्चनपुरको पुनर्वास हुँदै महेन्द्रनगर पुगे । कञ्चनपुरको झलारी र महेन्द्रनगरमा आयोजित चुनावी सभाहरूलाई सम्बोधन गरे ।
काठमाडौँ महानगरपालिकाको नगरप्रमुख पदबाट राजीनामा दिएर झापा–५ मा प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दिएका बालेनले चुनावी प्रचार अभियान देशभरी चलाइरहेका छन् । उनले सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा पनि चुनावी प्रचारमा जाने र उत्तैबाट कर्णाली प्रदेशतिर लाग्ने बताइएको छ ।
अत्तरियामा एक घण्टा अघि पुगे, १० मिनेटमै हिडे
दिउँसो १२ बजे अत्तरियामा पुग्ने कार्यसूची भए पनि रास्वपाका वरिष्ठ नेता शाह मंगलबार बिहान ११ बजे अत्तरियामा पुगे । उनी चौमालाबाट पश्चिमतर्फ लागेको थाहा पाएपछि हतार हतार अत्तरियामा चोकमा उनका समर्थक जम्मा भएका थिए । अत्तरिया चोकमा गाडी भित्रबाटै समर्थकलाई अभिवादन गरेका बालेन रास्वपाको धनगढी रोडमा रहेको पार्टीको क्षेत्रीय सचिवालय भित्र ५ मिनेट बिताए ।
पार्टी कार्यालयमा कैलाली क्षेत्र नम्बर ४ का प्रतिनिधिसभाका उम्मेदवार खेमराज कोइरालासँग छोटो संवाद गरेका उनी पार्टी कार्यालयमा राखिएको घण्टी बजाएर धनगढी तर्फ लागेका थिए । करिब १० मिनेट अत्तरियामा बिताएका उनलाई उपस्थित दर्शकले घेरेका थिए ।
समन्वय अभावमा खनालको क्षेत्रमा रोकिएनन्
वरिष्ठ नेता बालेन शाह क्षेत्र नम्बर २ को घण्टी घरमा नरोकिएर हिडेपछि कार्यकर्ता र समर्थक निराश भएका छन् । बालेन आउने खबरपछि कार्यकर्ता र समर्थक बिहानैदेखि बर्दगोरिया गाउँपालिका–२ स्थित बौनिया बजारमा रहेको क्षेत्र नम्बर २ को घण्टीघरमा जम्मा भएका थिए ।
बालेनकै स्वागतमा रास्वपा बर्दगोरियास्थित क्षेत्रीय समितिले स्वागत तथा अभिवादन कार्यक्रम राखेको थियो ।
शाह साढे ९ बजेतिर बौनिया पुगे पनि उनी त्यहाँ रोकिएनन् । बालेन नरोकिएपछि समर्थकहरूले व्यवस्थापनमा कमजोरी गरेको भन्दै कैलाली–२ का उम्मेदवार केपी खनालसँग गुनासो गरेका थिए । खनालले पनि समन्वय अभावमा शाहलाई त्यहाँ रोकाउन नसकिएको बताएका छन् । ‘यहाँ उहाँलाई स्वागत गर्दै भेटघाट गर्ने कार्यक्रम राखिएको थियो तर हामी साथीहरूलाई व्यवस्थापन गर्ने क्रममा पछि परेको थियौँ’, खनालले भने, ‘समस्या केही होइन समन्वय अभावले उहाँ यहाँ नरोकिएको कुरा हो । अब उहाँलाई हामी ल्याउछौँ ।’









प्रतिक्रिया दिनुहोस्