काठमाडौँ। निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता, २०८२ लाई कडाइका साथ पालना गराउन उद्योग, व्यवसायलगायत निजी क्षेत्रसँग सम्बन्धित प्रतिनिधिमूलक संस्थाका प्रतिनिधिले माग गरेका छन् ।
निर्वाचन आयोगले आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी आज यहाँ आयोजना गरेको निजी क्षेत्रका छाता संस्थाहरूसँगको अन्तक्र्रियामा सहभागी वक्ताहरूले निर्वाचन आचारसंहिता पालना भएमात्र स्वच्छ, निष्पक्ष र स्वतन्त्र रूपामा निर्वाचन हुने भएकाले त्यसतर्फ ध्यानाकर्षण गराएका हुन् ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले निर्वाचन आचारसंहिताको पूर्णपालना गराउन अनुगमनमा कडाइ गर्नुपर्ने र आचारसंहिता उल्लङ्घन भएको पाइएमा तत्काल कारबाहीको व्यवस्था गर्नुपर्ने सुझाव दिए ।नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले निजी क्षेत्रमा लगानीमैत्री वातावरण बनाउन नीतिगत स्पष्टता र राजनीतिक स्थायित्व आवश्यक भएको बताए । निर्वाचन सम्पन्न गराएर स्थिर सरकार बनाउन आवश्यक रहेको उहाँको धारणा थियो । निर्वाचनमा उम्मेदवारहरूले खर्च विवरण लिँदा पारदर्शी रूपमा बैंकबाटै कारोबार गर्ने व्यवस्था राम्रो भएकाले त्यसलाई पूर्ण रूपमा कार्यान्वयन गराउन पनि उनको माग थियो ।
नेपाल घरेलु तथा साना उद्योग महासङ्घका अध्यक्ष उमेशप्रसाद सिंहले निर्वाचन आचारसंहिता कडाइका साथ लागू गर्नुपर्नेमा जोड दिँदै मतदाता शिक्षामा आयोगले अझ ध्यान दिनुपर्ने सुझाव दिए । त्यसका लागि आयोगलाई आवश्यक सहयोग गर्न आफूहरू पनि तयार रहेको उनले बताए । बदलिँदो परिस्थितिमा निर्वाचन हुन्छ हुँदैन भन्ने अन्योलबीच निर्वाचन हुन्छ भन्ने वातावरण आयोगले बनाएकोमा उहाँले खुसी व्यक्त गरे । होटल संघ नेपालका अध्यक्ष विनायक शाहले निर्वाचनको समयमा हवाई तथा स्थलमार्गबाट नेपाल भित्रने पर्यटकलाई होटल तथा गन्तव्यसम्म पुग्नका लागि सहज वातावरण बनाउने गरी सहयोग गर्न आयोगलाई आग्रह गरे ।
रेष्टुराँ तथा बार एसोसिएसन अफ नेपाल (रेबान) का अध्यक्ष सङ्घर्ष विष्टले निर्वाचन आचारसंहिता र मतदाता शिक्षाका विषयमा आयोगलाई आवश्यक सहयोग गर्न आफ्नो संस्था तयार रहेको बताए । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का प्रमुख कार्यकारी अधिकृत रामचन्द्र सेढाइले निर्वाचनको समयमा नेपाल आउने पर्यटकलाई व्यवस्थापन गर्न निर्वाचन आयोगले सहजीकरण गर्नुपर्ने बताए । निर्वाचनसम्बन्धी सकारात्मक सूचना विश्व बजारमा पु¥याउन पर्यटन व्यवस्थापन आवश्यक भएको उनले सुनाए । साल्ट ट्रेडिङका महाप्रबन्धक उर्मिला श्रेष्ठले निर्वाचन प्रचारप्रसारमा राष्ट्रिय झण्डा प्रयोग भएको र समुदायलाई असर हुनेगरी ध्वनि प्रदूषण भएको विषयप्रति आयोगको ध्यानाकर्षण गराए ।
प्रकाशित मिति : २०८२ माघ १३ गते मंगलबार









प्रतिक्रिया दिनुहोस्