पूर्वप्रधानमन्त्रीसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता



काठमाडौँ ।

प्रतिनिधिसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको उम्मेदवारको मनोनयन दर्ता गरेकामध्ये ४९ जनाले उम्मेदवारी फिर्ता गरेका छन् । निर्वाचन आयोगका अनुसार उम्मेदवारी फिर्ता लिने अन्तिम समयसम्मको तथ्यांकअनुसार देशभरबाट ४९ जनाले उम्मेदवारी फिर्ता लिएका हुन् ।

माघ ६ गते उम्मेदवारहरूको मनोनयनपत्र दर्ता कार्य सम्बन्धित मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा १६५ निर्वाचन क्षेत्रमा ६८ राजनीतिक दल र स्वतन्त्र उम्मेदवारसमेत गरी ३,४८७ मनोनयनपत्र दर्ता भएका थिए । दर्ता उम्मेदवारीमध्ये महिला ३९६, पुरुष ३,०९० र अन्य १ जना थिए ।

स्वीकृत निर्वाचन कार्यक्रमअनुसार उम्मेदवारउपरको दाबी विरोधको उजुरी लिने कामसमेत सम्पन्न भई प्राप्त पाँच उजुरीका सम्बन्धमा सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट आवश्यक निर्णयको कार्य सम्पन्न भइसकेको निर्वाचन आयोगले जनाएको छ । प्राप्त उजुरीका आधारमा कैलाली निर्वाचन क्षेत्र नम्बर १ का एकजनाको उम्मेदवारी सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट खारेज भएको छ भने निर्धारित समयभित्र ४९ जना उम्मेदवारहरूले आफ्नो नाम फिर्ता लिएका छन् ।

तीमध्ये सबैभन्दा धेरै स्वतन्त्र उम्मेदवार रहेका छन् । आयोगका अनुसार कूल २७ जना स्वतन्त्र उम्मेदवरले उम्मेदवारी फिर्ता लिएका छन् ।उम्मेदवारी फिर्ता लिनेमा पूर्वप्रधानमन्त्रीसहित बागी र स्वतन्त्र उम्मेदवार छन् । देशभरका सातवटै प्रदेशका विभिन्न जिल्लाका विभिन्न निर्वाचन क्षेत्रका उम्मेदवारहरूले उम्मेदवारी फिर्ता लिएका हुन् । उम्मेदवारी फिर्ता लिनेमध्ये गोरखा २ बाट प्रगतिशील लोकतान्त्रिक पार्टीबाट उम्मेदवार बनेका डा. बाबुराम भट्टराई हुन् ।

यस्तै गोरखा १ बाट उक्त पार्टीबाटै उम्मेदवार बनेका गोपालबाबु श्रेष्ठले पनि उम्मेदवारी फिर्ता गरेका हुन् । यस्तै, मनाङमा एमालेबाट पोल्देन छोपाङ गुरुङ र राप्रपाबाट कुविरसिंह गुरुङले उम्मेदवारी फिर्ता लिएका छन् । स्याङ्जा क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवार दिएका आँधीखोला गाउँपालिका –२ का ३४ वर्षीय मनोज नेपाली दर्जी र स्याङ्जा क्षेत्र नम्बर–२ मा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का उम्मेदवार टिकारम रेग्मी र स्वतन्त्र उम्मेदवार दिलिप श्रेष्ठले उम्मेदवारी फिर्ता लिएका छन् ।

तनहुँ निर्वाचन क्षेत्र नम्बर–२ मा उज्यालो नेपाल पार्टी (उनेपा)का उम्मेदवार मनराज गुरुङले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार श्रीराम न्यौपानेलाई सघाउने घोषणा गरेर उनले उम्मेदवारी फिर्ता लिएका हुन् । पाल्पा २ मा स्वतन्त्र उम्मेदवारी दिएका देवीप्रसाद भण्डारी, नवलपरासी बर्दघाट सुस्तापूर्वमा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का उम्मेदवार जगन्नाथ अर्याल र स्वतन्त्र उम्मेदवार लक्ष्मण श्रेष्ठले उम्मेदवारी फिर्ता लिएका हुन् ।

कोशी प्रदेशका विभिन्न निर्वाचन क्षेत्रबाट उम्मेदवारी फिर्ता भएको छ । ओखलढुंगाबाट स्वतन्त्र मनोनयन दर्ता गराएका सन्त तामाङ, धनकुटामा उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार गंगाराम गोम्देन, मोरङ १ बाट जनता समाजवादी पार्टी नेपालका दुर्गाप्रसाद दर्लामी, मोरङ ३ बाट स्वतन्त्र उम्मेदवार बनेका सुरेश लिम्बु, दलबहादुर थापा र कन्चन न्यौपाने र मोरङ ६ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका राम खत्रीले उम्मेदवारी फिर्ता लिएका हुन् ।

मधेश प्रदेशअन्तर्गत सिरहा ४ का वीरेन्द्रप्रसाद शाह, महोत्तरी १ मा स्वतन्त्र उम्मेदवारी दिएका टेकप्रसाद पोखरेल र प्रमोदकुमार शाह, महोत्तरी ३ मा स्वतन्त्र उम्मेदवारी दिएका राधेश्याम तिवारी र महोत्तरी ४ मा स्वतन्त्र उम्मेदवारी दिएका संजयकुमार चौधरीले उम्मेदवारी फिर्ता लिएका हुन् । सर्लाही १ र ४ मा क्रमशः स्वतन्त्र उम्मेदवारहरू भरतकुमार थापा र महेशप्रसाद यादव तथा पर्सा क्षेत्र नम्बर– २ बाट स्वतन्त्र उम्मेदवार राजेश्वर साह, पर्सा ४ का पिपुल्ट फस्ट पार्टीका फिरोज अन्सारीले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

बारा ४ का स्वतन्त्र उम्मेदवार कलामुदिन हवारी र युनाइटेड नेपाल पार्टीका नरबहादुर श्रेष्ठले उम्मेदवारी फिर्ता लिएको आयोगले जनाएको छ ।यस्तै बागमती प्रदेशअन्र्तगत धादिङ १ मा स्वतन्त्र उम्मेदवारी दिएका इस्वोर भारती, नुवाकोट २ मा प्रगतिशील लोकतान्त्रिक पार्टीबाट उम्मेदवार बनेका रजमान तामाङ, काठमाडौँ १ मा स्वतन्त्र उम्मेदवारी दिएका बाबुराम आचार्य, काठमाडौँ ५ मा मितेरी पार्टीबाट उम्मेदवार बनेका सुनिता न्यौपाने, काठमाडौँ ६ मा स्वतन्त्र उम्मेदवारहरू निर्मला खड्का, राजेन्द्र सिटौला र काठमाडौँ ७ का स्वतन्त्र उम्मेदवार रामशरण थपलिया र चितवन १ मा स्वतन्त्र उम्मेदवारी दिएका रामेश्वरप्रसाद घिमिरेले उम्मेदवारी फिर्ता लिएका हुन् ।

लुम्बिनी प्रदेशअन्तर्गत रुकुम पूर्वबाट स्वतन्त्र उम्मेदवारी दिएका अमरसिं पुन, रुपन्देही–२ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की कर्भिका थापा, रोल्पाका स्वतन्त्र उम्मेदवार दलबहादुर खत्री, बाँके १ बाट स्वतन्त्र उम्मेदवारहरू दिपकबहादुर शाही र प्रदिप पौडेलले उम्मेदवारी फिर्ता लिएका छन् । बाँके २ बाट नेपाल जनता पार्टीका उम्मेदवार विजयकुमार गुप्ता र जनता समाजवादी पार्टीका सरस्वतीप्रसाद बर्माले फिर्ता लिएका छन् । त्यसैगरी बाँके ३ मा स्वतन्त्र उम्मेदवारी दिएकी भगवती शाहले पनि उम्मेदवारी फिर्ता लिएकी छिन् ।

बर्दिया क्षेत्र नं १ मा उम्मेदवारी दिएका प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार राजु रानाभाट, क्षेत्र नं २ मा प्रगतिशील लोकतान्त्रिक पार्टीकै उम्मेदवार नेत्रराज आचार्य र स्वतन्त्र उम्मेदवार नुतनकुमार चौधरीले उम्मेदवारी फिर्ता लिएका छन् । आम जनता पार्टीका उम्मेदवार रामेश्वर चौधरीको उम्मेदवारी खारेज भएको छ । कर्णाली प्रदेशअन्तर्गत कालीकोटमा चारजनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

कालीकोटबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका भुपेन्द्रजंग शाही, धर्मराज न्यौपाने र प्रेमसिंह तिरुवा र जीवन बुढाले उम्मेदवारी फिर्ता लिएका छन् । सल्यानमा दुईजनाले उम्मेदवारी फिर्ता लिएका छन् । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)बाट उम्मेदवार बनेका सन्तोषकुमार राई र आम जनता पार्टीका मानसिंगे कामीले शुक्रबार मुख्य निर्वाचनको कार्यालय गएर आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ १० गते शनिबार