आठौँ प्रदेशसभा दिवसमा भएनन् औपचारिक कार्यक्रम



सुदूरपश्चिम ।

आठौँ प्रदेशसभा दिवस यसपटक सुदूरपश्चिममा औपचारिक कार्यक्रम आयोजना गरिएन । सुदूरपश्चिम प्रदेशसभाले हरेक वर्ष माघ ७ गते मनाउँदै आएको प्रदेशसभा दिवसमा यसपालि प्रनितिधिसभा निर्वाचनको आचारसंहिता लागू भएकोले औपचारिक कार्यक्रम नगरिने प्रदेशसभा सचिवालयले जनाएको छ ।

मंगलबार भएको प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दर्ताका लागि प्रदेशसभा सदस्य तथा सरकारका मन्त्रीहरू प्रदेश राजधानी धनगढीमा नरहेकोले पनि औपचारिक कार्यक्रम नराखिएको प्रदेशसभाका सचिव देवबहादुर बोगटीले बताए । ‘प्रदेशसभा दिवसमा औपचारिक कार्यक्रम राख्दा माननीयज्युहरूले राजनीतिक भाषण गरिहाल्ने भएको हुँदाका त्यस किसिमको कार्यक्रम नराख्न निर्वाचन आयोगबाट सुझाव आएको थियो,’ सचिव बोगटीले भने, ‘माननीयज्युहरू पनि नेताको उम्मेदवारी दर्ताका लागि निर्वाचन क्षेत्रमा जानु भएको छ । सरकारका मन्त्रीहरू पनि सबै जना उपलब्ध हुनुहुन्न । यो माहोलमा औपचारिक कार्यक्रम उपयुक्त नभएकोले राखिएन ।’

२०७४ माघ ७ गते सुदूरपश्चिम प्रदेशमा प्रदेशसभाको पहिलो बैठक बसेको थियो । सोही दिनको सम्झानामा प्रदेशसभा दिवस मनाइँदै आइएको छ । प्रदेशसभाको पहिलो कार्यकालमा ६२ वटा नयाँ कानुन बनेको भए पनि दोस्रो कार्यकालमा केही कानुनहरू संशोधन भएका छन् । दोस्रो कार्यकालको तीन वर्षमा एउटा मात्रै मूल कानुन बनेको छ भने पाँचवटा ऐन संशोधन भएको छ । एउटा सामयिक राजस्व संकलनसम्बन्धी अध्यादेश पारित भएको थियो ।

प्रदेश सरकारले कानुन निर्माणलाई प्राथमिकतामा नराख्न प्रदेशसभाको बैठक समेत उल्लेख्य सङ्ख्यामा बस्न सकेको छैन । दोस्रो कार्यकालमा तीनवटा बजेट पारित भएको छ भने चारपटक सरकार परिवर्तन भएको छ । प्रदेश सरकारले प्रदेशसभामा तीनवटा मूल कानुनको विधेयक र तीनवटा संशोधन विधेयक दर्ता गराएको भए पनि सो विधेयकहरूमध्ये दुईवटामा मात्रै प्रदेशसभा सामान्य छलफल भएको छ । दुईवटा विधेयक सभामा टेबुल भएको छ भने दुईवटा विधेयक संसद्को कार्यसूचिमै परेको छैन ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ ८ गते बिहीबार