भयावह बन्दै नसर्ने रोगः एकवर्षमै भेटिए ९८ हजारभन्दा बढी क्यान्सरका बिरामी



नन्दराम जैशी । सुर्खेत ।

पछिल्लो समय नेपालमा नसर्ने रोग भयावह बन्दै गएको छ । जसको उदाहरण क्यान्सरपीडित बिरामी हुन् । विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालमा एकवर्षमै ९८ हजार बढी क्यान्सरपीडितका बिरामी भेटिएका छन् । आर्थिक वर्ष २०८१–०८२ मा नेपालमा प्रदेशगत रूपमा क्यान्सरका बिरामीको सङ्ख्या सार्वजनिक भएको हो ।

उपलब्ध तथ्यांकअनुसार बागमती प्रदेशमा सबैभन्दा धेरै क्यान्सरका बिरामी दर्ता भएका छन् । तथ्यांकअनुसार बागमती प्रदेशमा क्यान्सरका बिरामीको सङ्ख्या ८५ हजार ४०० पुगेको छ, जुन अन्य प्रदेशको तुलनामा अत्यधिक हो । त्यसैगरी कोशी प्रदेशमा ११ हजार ७२७ जना क्यान्सरका बिरामी रहेका छन् ।

गण्डकी प्रदेशमा २४५, लुम्बिनी प्रदेशमा २२३, मधेश प्रदेशमा २०६, कर्णाली प्रदेशमा १५४ र सुदूरपश्चिम प्रदेशमा १२५ जना क्यान्सरका बिरामी रहेको तथ्यांकमा उल्लेख छ । विशेषज्ञहरूका अनुसार बागमती र कोशी प्रदेशमा बिरामीको सङ्ख्या बढी देखिनुमा उच्च जनघनत्व, सहरीकरण, अस्वस्थ जीवनशैली, रासायनिक विषादीको उच्च प्रयोग, वातावरणीय प्रदूषण, उपचार तथा परीक्षण केन्द्रहरूको पहुँच जस्ता प्रमुख कारण रहेका छन् ।

अन्य प्रदेशहरूमा बिरामीको सङ्ख्या कम देखिए पनि परीक्षणको पहुँच अभावका कारण वास्तविक सङ्ख्या अझै पनि बढी हुनसक्ने अनुमान गरिएको छ । विश्व स्वास्थ्य संगठन कर्णाली प्रदेश प्रमुख प्रदीप अधिकारीले क्यान्सरको प्रारम्भिक पहिचान, नियमित स्वास्थ्य परीक्षण, जनचेतना अभिवृद्धि तथा प्रदेशगत रूपमा उपचार पूर्वाधार सुदृढ गर्न आवश्यक रहेको बताए ।

‘नसर्ने रोगहरू मुख्यतः अस्वस्थ खानपान, सुर्तीजन्य पदार्थको सेवन र असन्तुलित जीवनशैलीका कारण बढ्दै गएको छ,’ उनले भने, ‘नेपालमा हरेक वर्ष करिब ३९ हजार ९०० जनाको मृत्यु सुर्तीजन्य पदार्थको सेवनका कारण हुने गरेको छ । यसलाई गम्भीर सार्वजनिक स्वास्थ्य चुनौतीको रूपमा लिइएको छ ।’

नसर्ने रोगको रोकथामका लागी पैरवी

नेपालमा क्यान्सर, उच्च रक्तचाप, मधुमेह, स्वासप्रस्वास लगाएतका नसर्ने रोगको रोकथाम तथा नियन्त्रणका लागि नागरिक समाजको भूमिका सशक्त बनाउन प्रदेशगत रूपमा पैरवी तथा अन्तक्र्रिया कार्यक्रम सुरु गरिएको छ । उपभोक्ता हित संरक्षण मञ्च नेपालले यो कार्यक्रम कर्णाली प्रदेशबाट सुरु गरेको हो ।

उपभोक्ता हित संरक्षण मञ्च नेपालका अध्यक्ष ज्योति बाँनियाले नसर्ने रोग रोकथामका लागि स्वास्थ्यमैत्री नीति निर्माणमा सरकारलाई दबाब दिइएको बताए । हानिकारक उत्पादनहरूको वितरण र बिक्रीमा कडा अनुगमन गर्नु तथा समुदायस्तरमै स्वस्थ जीवनशैली र खानपानसम्बन्धी शिक्षा दिन नागरिक समाजको भूमिका महत्वपूर्ण रहेको उनको दाबी छ ।

‘सरकारले गरेका प्रतिबद्धताहरू कार्यान्वयन भए नभएको लेखाजोखा गर्ने जिम्मेवारी पनि नागरिक समाजकै हो,’ उनले भने, ‘सबैले आआफ्नो क्षेत्रबाट नसर्ने रोग कम गर्न के कसरी भूमिका खेल्न सकिन्छ ? त्यसरी काम गरौँ ।’ मञ्चका महासचिव विष्णु तिमिल्सिना र प्रदेश अध्यक्ष विन्दुलाल रेग्मीले अस्वस्थ खाद्यवस्तु, रासायनिक विषादी र प्रशोधित खानाका कारण मधुमेह, उच्च रक्तचाप, क्यान्सरजस्ता नसर्ने रोग बढिरहेको बताए ।

उनीहरूले उपभोक्तालाई सचेत बनाउँदै स्वस्थ विकल्प रोज्न प्रेरित गर्नुपर्नेमा जोड दिए । कर्णाली प्रदेश सरकारका कृषिमन्त्री विनोदकुमार शाहले अर्गानिक उत्पादन र उपभोग बढाउन सके धेरै नसर्ने रोग नियन्त्रण गर्न सकिने धारणा राखे । रासायनिक मलको अत्यधिक प्रयोगले नेपालको करिब ४० प्रतिशत माटो बिग्रिएको भन्दै त्यसले उत्पादन घट्दै गएको उनको भनाइ छ ।

‘खुला सिमाना, सीमित जनशक्ति र फितलो अनुगमनका कारण अखाद्य तथा गुणस्तरहीन वस्तु भित्रिने क्रम बढेको छ,’ उनले भने, ‘अनुगमन प्रणाली मजबुत बनाउनुपर्ने देखिन्छ । भने पछिल्लो समय अर्गानिक उपभोगप्रति नागरिकको चेतना पनि बढ्दै गएको छ ।’ कृषि मन्त्रालयका सचिव संजिवकुमार कर्णले स्वस्थ र सन्तुलित खाद्यवस्तुको उपभोग नै नसर्ने रोग रोकथामको आधार भएको बताए ।

कर्णालीमा रासायनिक विषादीको प्रयोग अन्य प्रदेशको तुलनामा कम भए पनि अझै न्यूनीकरण गर्नुपर्ने उनको भनाइ छ । प्रदेश योजना आयोगका उपाध्यक्ष सूर्यनाथ योगीले सबैभन्दा महत्वपूर्ण विकास भनेको कृषि उत्पादन र सामाजिक विकास भएको उल्लेख गरे । दोस्रो पञ्चवर्षीय योजनामा पनि नसर्ने रोग नियन्त्रण र पोषण सुरक्षा कार्यक्रमलाई प्राथमिकतामा राखिएको उनले बताए ।

सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख बृर्षबहादुर शाहीले समयमै रोग पत्ता लगाउन सके जटिल नसर्ने रोगहरू पनि नियन्त्रण र उपचार सम्भव हुने बताए । उनले प्रदेश सरकारले प्रारम्भिक स्वास्थ्य परीक्षण र सचेतनामूलक कार्यक्रम विस्तार गरिरहेको जानकारी दिए ।

जनप्रतिनिधि कमल छत्यालले खानाको रूपमा जंगफुड प्रयोग गर्ने बानीले दीर्घकालीन स्वास्थ्य समस्या निम्त्याउने भन्दै विद्यालय तहदेखि नै पोषण शिक्षामा जोड दिनुपर्ने बताए । नसर्ने रोग रोकथामका लागि नीति निर्माण, प्रभावकारी अनुगमन, अर्गानिक कृषि प्रवद्र्धन, उपभोक्ता सचेतना र नागरिक समाज र सरकारबीचको सहकार्यलाई अझ बलियो बनाउनुपर्ने आवश्यक रहेको उनको भनाइ छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ ८ गते बिहीबार