सुदूरपश्चिममा मनसुनी विपद्बाट ३३ हजार नागरिक प्रभावित हुने अनुमान



कैलाली ।

यस वर्षको मनसुनका कारण सुदूरपश्चिममा ३३ हजारभन्दा बढी नागरिक प्रभावित हुने अनुमान गरिएको छ । सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार विपद् (बाढी, पहिरो, डुबान)बाट प्रदेशका ७ हजार ६ सय ३ घरधुरी विपद्को प्रत्यक्ष चपेटामा पर्ने अनुमान गरिएको छ ।

मन्त्रालयका विपद् सम्पर्क व्यक्ति जनक धामीका अनुसार प्रदेशको ३३ हजार २ सय २७ जना मानिस विपद्बाट प्रभावित हुनसक्ने अनुमान गरिएको छ । प्रदेश सरकार तथा सरोकारवाला निकायहरूले पूर्वतयारी र प्रतिकार्य योजनालाई तीव्रता दिएको धामीले बताए । ‘अहिले विपद् प्रभावित हुने स्थान र घरधुरीको पहिचान गरेका छौँ,’ धामीले भने, ‘त्यसैअनुसार हामीले पूर्वतयारी पनि गरिरहेका छौँ, छिट्टै कार्यविधि बनाएर कामको बाँडफाँट हुन्छ ।’

भौगोलिक संवेदनशीलताका कारण सुदूरपश्चिमका विभिन्न जिल्लामा विपद्को प्रकृत फरक–फरक हुने देखिएको छ । मन्त्रालयका विपद् सम्पर्क व्यक्ति धामीका अनुसार यो वर्ष तराईका दुई जिल्ला कैलाली र कञ्चनपुर मनसुनबाट सबैभन्दा बढी प्रभावित हुने अनुमान गरिएको छ । तराईका क्षेत्रमा नदी कटान र अस्वाभाविक वर्षाका कारण डुबान तथा बाढीको समस्या मुख्य चुनौतीका रूपमा रहने आकलन गरिएको उनले बताए ।

पहाडी तथा हिमाली भू–भागमा डुबान र बाढीको सम्भावना न्यून रहे पनि पहिरोको जोखिम भने निकै उच्च रहेको छ । विगतका वर्षहरूमा जथाभाबी खनिएका सडक र कमजोर भू–बनोटका कारण सामान्य वर्षामा पनि ठूला पहिरोहरू जाने र बस्ती नै जोखिममा पर्ने गरेको अनुभव प्रदेश सरकारसँग रहेको छ । यस पटक पनि पहाडी जिल्लाहरूमा पहिरोले ठूलो आर्थिक र मानवीय क्षति पु¥याउन सक्ने भन्दै उच्च सतर्कता अपनाउनु पर्ने धामी बताउँछन् ।

मन्त्रालयले संकलन गरेको पछिल्लो तथ्यांकअनुसार सुदूरपश्चिमका ९ वटै जिल्लाहरू मनसुनको जोखिममा छन् । जसअनुसार कञ्चनपुरमा ७ हजार १ सय ३२ जना (प्रदेशमै सबैभन्दा बढी प्रभावित हुने अनुमान) कैलालीमा ६ हजार १ सय ९५ जना (दोस्रो बढी जोखिमयुक्त क्षेत्र) डोटीमा ४ हजार ८ सय २० जना, बाजुरामा ३ हजार ७ सय ७६ जना, बैतडीमा ३ हजार ३ सय ६२ जना, डडेल्धुरामा ३ हजार १ सय ८ जना, बझाङमा एक हजार ७ सय ७४ जना, अछाममा एक हजार ६ सय २ जना दार्चुलामा एक हजार ४ सय ६७ जना प्रभावित हुने अनुमान गरिएको छ ।

मनसुन सुरु हुन लागेकाले सम्भावित क्षतिलाई कम गर्न र नागरिकको जीउधनको रक्षा गर्न आन्तरिक मामिला तथा कानुन मन्त्रालयले गृहकार्य अगाडि बढाएको छ । विपद् सम्पर्क व्यक्ति धामीका अनुसार पूर्वतयारीलाई व्यवस्थित र संस्थागत बनाउन एउटा विशेष कार्यदल गठन गरिएको थियो ।

उक्त कार्यदलले सम्भावित विपद् व्यवस्थापन र प्रतिकार्यका लागि विस्तृत मस्यौदा तयार गरिसकेको छ । मन्त्रालयले मनसुन आधिकारिक रूपमा सक्रिय हुनुअगावै यो मस्यौदालाई मन्त्रीपरिषद्बाट पारित गराई पूर्ण रूपमा कार्यान्वयनको चरणमा लैजाने तयारी गरेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ जेठ १८ गते सोमबार