बाँके जिल्लाको सदरमुकाम समेत रहेको नेपालगन्ज उपमहानगरपालिका पर्ने बाँके निर्वाचन क्षेत्र नम्बर २ ले राष्ट्रिय राजनीतिमा पनि महत्वपूर्ण अर्थ राख्छ । २००७ सालयता एकजना प्रधानमन्त्रीसहित १० जना मन्त्री यस क्षेत्रबाट निर्वाचित भएर गएका जनप्रतिनिधिहरू भएका छन् । १० जना मन्त्रीहरू मन्त्री भएको पटक हिसाब गर्दा यस निर्वाचन क्षेत्रबाट निर्वाचित भएका जनप्रतिनिधिहरू ३१ पटक मन्त्री भएका छन् ।
वीरेन्द्र जैसी । नेपालगन्ज ।
बाँके जिल्लाको सदरमुकाम समेत रहेको नेपालगन्ज उपमहानगरपालिका पर्ने बाँके निर्वाचन क्षेत्र नम्बर २ ले राष्ट्रिय राजनीतिमा पनि महत्वपूर्ण अर्थ राख्छ । २००७ सालयता एकजना प्रधानमन्त्रीसहित १० जना मन्त्री यस क्षेत्रबाट निर्वाचित भएर गएका जनप्रतिनिधिहरू भएका छन् । १० जना मन्त्रीहरू मन्त्री भएको पटक हिसाब गर्दा यस निर्वाचन क्षेत्रबाट निर्वाचित भएका जनप्रतिनिधिहरू ३१ पटक मन्त्री भएका छन् ।
सुशिल कोइराला प्रधानमन्त्री हुँदा पनि यही क्षेत्रबाट निर्वाचित भएर गएका थिए । त्यसपछि निर्वाचित भएका मोहम्मद इश्तियाक राई भौतिक पूर्वाधार तथा यातायातमन्त्री भए । पछिल्लोपटक निर्वाचित डा. धवलशमशेर राणा भने मन्त्री हुन पाएनन् । यस हिसाबले बाँके क्षेत्र नम्बर २ राजनीतिक दलहरूले निर्वाचन लड्ने प्रयोजनमा मात्रै नलिई प्रतिष्ठाको लडाइँका रूपमा र निर्णायक तहमा प्रभाव पार्नसक्ने नेतृत्व चयन गर्ने अवसरका रूपमा लिने गरेका छन् ।
आसन्न प्रतिनिधिसभाको निर्वाचनलाई पनि राजनीतिक दलहरूले यस क्षेत्रलाई प्रतिष्ठाको लडाइँको क्षेत्रका रूपमा व्याख्या गरिरहेका छन् । प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि बाँके क्षेत्र नम्बर २ बाट मंगलबार २२ जनाले उम्मेदवारी दिए । तीमध्ये दुईजना स्वतन्त्र उम्मेदवार छन् भने बाँकी २० जना राजनीतिक दलका प्रतिनिधिहरू हुन् ।
राणाको मत तान्ने चुनौतीसहित मैदानमा देवकोटा

यस निर्वाचन क्षेत्रबाट निवर्तमान प्रतिनिधिसभा सदस्य पाएको राप्रपाबाट ऋषिराज देवकोटाले उम्मेदवारी दिएका छन् । २०७९ सालमा निर्वाचित निवर्तमान प्रतिनिधिसभा सदस्य डा. धवलशमशेर राणाले आफ्नो उत्तराधिकारीको रूपमा देवकोटालाई अघि सारेका छन् । मतदातामाझ बलियो पकड भएका डा. राणालाईजस्तै देवकोटालाई पनि मत प्राप्त हुने नहुने भने हेर्न बाँकी छ ।
ऋषिलाई राप्रपाले राष्ट्रवादी, सनातन संस्कृतिका अभियन्ता र युवा उम्मेदवारका रूपमा परिचित गराउन खोजिरहेको देखिन्छ । लामो समयको राजनीतिले परिचित अनुहार रहेका देवकोटालाई राणाको व्यक्तित्वका कारण प्राप्त भएको मानिएको अघिल्लो निर्वाचनको विजेता प्राप्त मत तान्नु नै चुनौतीको रूपमा रहेको छ । त्यसैमाथि उक्त निर्वाचनमा राणालाई एमालेले समेत समर्थन गरेको थियो ।
आफ्नो उम्मेदवारको संकटमा एमाले

बाँके क्षेत्र नम्बर २ मा नेकपा एमालेले लगातार दोस्रोपटक आफ्नो पार्टीमा आबद्ध उम्मेदवार उठाएन । उसले अघिल्लो निर्वाचन २०७९ मा निकटतम प्रतिद्वन्द्वी रही हार व्यहोरेका र २०७४ को निर्वाचनमा विजेता रहेका मोहम्मद इश्तियाक राईलाई उम्मेदवार बनाएको छ । राईले यसपटक आफू महासचिव रहेको जनता समाजवादी पार्टी छोडेर एमालेबाट उम्मेदवारी दिने निर्णय उम्मेदवारी दर्ताको अघिल्लो दिन गरे । उनी पार्टी प्रवेश गरिएको भनिए पनि राई स्वयं भने पार्टी प्रवेश नभई हाललाई सूर्य चिन्ह लिएर चुनाव लड्न लागेको मात्रै बताइरहेका छन् ।
पार्टीमा काम गरिरहेका नेताहरूलाई टिकेट नदिएर पार्टी अध्यक्ष केपी शर्मा ओलीले विचार र सिद्धान्त नमिल्ने पार्टीका राईलाई चुनावको टिकट दिएको भन्दै एमाले पंक्तिभित्र तीव्र असन्तुष्टि छ । एमालेका निवर्तमान प्रतिनिधिसभा सदस्य दीपा शर्माले पनि फेसबुमा स्टाटस लेख्दै बाँके क्षेत्र नम्बर २ निर्वाचन लड्न योग्य उम्मेदवार पार्टीभित्र रहेको भन्दै राईको उम्मेदवारीप्रति असन्तुष्ट रहेको आशय व्यक्त गरेकी छन् ।
यसैगरी, एमाले जिल्ला कमिटीबाट सिफारिसमा परेका कृष्णप्रसाद श्रेष्ठले पनि असन्तुष्टि व्यक्त गरेको सामाजिक सञ्जालमा भिडिओ प्रकाशित छ । मंगलबार उम्मेदवारी दिन जानुअघि एमाले पार्टी कार्यालयमा भएको परिचयात्मक कार्यक्रममा पनि एमालेका नेता कार्यकर्ताहरूको न्यून उपस्थिति थियो । यद्यपि उक्त कार्यक्रममा श्रेष्ठ र शर्मा दुवै उपस्थित थिए ।
उम्मेदवारी दर्ता गर्न निर्वाचन अधिकारीको कार्यालयमा श्रेष्ठ राईसँगै पुगे । पार्टी कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै राईले पार्टीभित्र असन्तुष्टि रहेको आफूले थाहा पाएको बताए । तर, उनले एमालेबाट उम्मेदवार हुनु कुनै असहज अवस्था नभएको जिकिर गरे । उनले एमाले अध्यक्ष ओलीसँग आफ्नो सम्बन्ध पहिलेदेखि नै सुमधुर रहेको दाबी गरे । आफू ओलीकै प्रधानमन्त्रीत्वमा विकासमन्त्री रहेको र मन्त्री रहँदा बाँकेमा भएका विकास निर्माणका योजनाहरू ओलीको सहयोगले नै सफल भएको उनले बताए ।
तर, उनी एमाले प्रवेश गरेका हुन् या चुनाव जिन्ह मात्रै सूर्य चिन्हको सहारा लिएका हुन् उनले स्पष्ट पारेका छैनन् । किनकी राईलाई यतिखेर मतदातामाझ परिचित चुनाव चिन्हको अभाव थियो । उनको पार्टी जसपा दुई चिरा हुँदा उनले यसअघि चुनाव जितेको चिन्ह छाता भने फुटपछि उनी आबद्ध पार्टीको भागमा परेको थिएन । पार्टीको ठूलो पंक्ति पनि राईतिर नभई उपेन्द्र यादवकै नेतृत्वमा रहेपछि उनलाई यतिखेर कार्यकर्ता र चुनाव चिन्ह दुवैको संकट थियो । त्यही भएर राईले परिचित चुनाव चिन्ह सूर्यको सहारा लिएको चर्चा भइरहेको छ ।
उपप्रमुख छाडेर संसद्को उम्मेदवार बने राई

नेपालगन्ज उपमहानगरपालिकाको उपप्रमुख पदबाट राजीनामा दिएर सांसद बन्ने भन्दै उम्मेदवारी दिएका छन्, जसपा नेपालका कमरुद्धिन राईले । २०७४ मा इश्तियाक राईले चुनाव जितेको चुनाव चिन्ह छातासहित मैदानमा आएका राईले आफ्नो चुनावी भाषणको निशानामा इश्तियाकलाई नै राखिरहेका छन् । उनले उम्मेदवारी दर्तापछि पनि दुईवटा पक्षमा राईको आलोचना गरे । पहिलो, राईले मधेशका मुद्दाहरूलाई छोडेर विचार र सिद्धान्त नमिल्ने दलमा गएको ।
दोस्रो, भ्रष्टाचार गरेको । कमरुद्धिन इश्तियाकको विजयी यात्रामा एक सारथी पनि मानिन्छन् । उनले इश्तियाकको नाम नलिएर ‘यसअघि निर्वाचित’ले भ्रष्टाचार गरेको आरोप लगाए । उनले मधेशका मुद्दाहरू उठाउन आफूले उम्मेदवारी दिएको बताए । तर नेपालगन्ज उपमहानगरमा हुँदा राईले उल्लेखनीय काम गर्न नसकेको भन्दै आलोचना हुने गरेको छ । साथै, उनी आबद्ध दल टुक्रिएकोले संगठनको मत पनि छिन्नभिन्न भएको अवस्था छ । यी दुवै कारणले उत्पन्न चुनौतीका बीच राई मैदानमा आएका छन् ।
युवा उम्मेदवारका साथ नेकपा
बाँके क्षेत्र नम्बर २ बाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले व्यावसायिक पृष्ठभूमि भएका युवा दिपेन्द्र बिष्टलाई उम्मेदवार बनाएको छ ।
खेलकुद परिषद् र पार्टीका आन्तरिक संगठनहरूमा सक्रिय भूमिका निभाएका बिष्टलाई जेनजी आन्दोलनको भावनाअनुसार उम्मेदवार बनाइएको दाबी पार्टीले गरेको छ । नेकपाको संगठन पनि कमजोर रहेको यस क्षेत्रमा बिष्टलाई आफ्नो राजनीतिक भूमिकालाई स्पष्ट गर्ने र कमजोर संगठनमाथि बसेर मत तान्ने चुनौती छ ।
रास्वपाको दोस्रो परीक्षण
बाँके निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीको दोस्रो परीक्षण हुँदैछ । यसअघिको निर्वाचन २०७९ मा रास्वपाका उम्मेदवार विनोद अग्रहरीले एक हजार तीन सय ३३ मत मात्रै पाएका थिए । यसपटक रास्वपाले युवा उम्मेदवार व्यावसायिक र सामाज सेवा क्षेत्रमा सक्रिय विवेककुमार श्रेष्ठलाई उम्मेदवार बनाएको छ ।
छोटो राजनीतिक सक्रियता भएका विवेक रास्वपालाई नेपालगन्जमा स्थापित गराउने युवामध्ये एक हुन् । उनी रास्वपाको यसअघि नगर सभापति समेत थिए । अब उनले संसदीय राजनीतिको यात्रामा पाइला राखेका छन् । रास्वपाले अंगालेको सुशासन र विकासको मार्गमा आफू एक पात्र भएर आएको विवेकले उम्मेदवारी दर्ता गर्ने क्रममा सञ्चारकर्मीसमक्ष बताएका थिए ।
यद्यपि अघिल्लो निर्वाचनमा पाएको मत बढाउने अति प्रभावकारी रणनीति बनाउनुपर्ने चुनौती उनका सामु छ । यसबाहेक विभिन्न राजनीति दलहरू जसपाबाट सरस्वतीप्रसाद वर्मा, मजदुर किसान पार्टीबाट प्रकाश शाह, श्रम संस्कृति पार्टीबाट रामचरण चौधरी, राष्ट्रिय जनमोर्चाबाट जगदिश ढकाल, नेकपा माओवादीबाट महेन्द्रप्रसाद चन्द, नेपाल जनता पार्टीबाट विजयकुमार गुप्ता, उज्यालो नेपाल पार्टीबाट शैलेन्द्रकुमार कर्णले पनि उम्मेदवारी दिएका छन् ।
यसैगरी, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट आजिद अलि शेष, राष्ट्रिय मुक्ति मोर्चा नेपालबाट बाबुप्रकाश घिमिरे, राष्ट्रिय एकता दलबाट सिताराम यादव, जनमत पार्टीबाट मोहम्मद आजाद राई र राष्ट्रिय जनमत पार्टीबाट इरफान अहमद शेषको पनि उम्मेदवारी परेको छ । यस्तै गोपालप्रसाद गिरी र मनोजकुमार चौधरी गरी दुई जनाले स्वतन्त्र उम्मेदवारी पनि दिएका छन् ।
विरासत बोकेका कोइरालालाई लिएर आयो काँग्रेस 
यता विघटित संसद्को सबैभन्दा ठूलो दल नेपाली काँग्रेसले यस क्षेत्रबाट सुधांशु कोइरालालाई उम्मेदवार बनाएको छ । पार्टीबाहिरको निर्वाचनमा पहिलोपटक अनुभव लिन लागेका कोइराला हाल पार्टीको बाँके जिल्ला सचिव हुन् । कोइराला सुशील कोइरालाका भतिजा र काँग्रेस बाँकेका पूर्वसभापतिद्वय किरण कोइराला र अरुण कोइरालाका छोरा हुन् ।
सुशील कोइराला यस क्षेत्रबाट २०४७ यताको प्रत्यक्ष संसदीय निर्वाचन इतिहासमा तीनपटक निर्वाचित भएका थिए । सुशीलको निधनपछि भने यस क्षेत्रमा काँग्रेसको स्थिति खराब हुँदै गयो । २०७४ मा भएको निर्वाचनमा काँग्रेस कहिले राप्रपाका उम्मेदवार ओमप्रकाश आजादलाई समर्थन गरेर आफ्नो उम्मेदवार नै उठाएन ।
२०७९ को निर्वाचनमा उम्मेदवार बनाइएका सुनिलनरसिंह राणाले निर्वाचन जित्न सकेनन् । यसपटक राजनीतिक विरासत भएका युवा नेता कोइरालालाई उम्मेदवार बनाइएसँगै काँग्रेसले फेरि आफ्नो विरासत फर्काउने मौका आएको चर्चा भइरहेको छ । यद्यपि संसदीय निर्वाचनमा कम अनुभव भएका र पार्टीमा चलिरहेको आन्तरिक किचलोको व्यवस्थापन गर्दै अन्तर्घात गर्ने काँग्रेसी प्रवृत्तिलाई बदल्नु कोइरालाका लागि संकटको स्थिति हुनसक्ने देखिन्छ ।









प्रतिक्रिया दिनुहोस्