सुदूरपश्चिम ।
नेपाली काँग्रेसको विशेष महाधिवेशनलाई लिएर पार्टीभित्र देखिएको विवादका बीच सुदूरपश्चिम प्रदेशका काँग्रेस सांसदहरू तत्काल कित्ताकाट गरेर पार्टीबाट अलग हुने मनस्थितिमा नरहेको स्पष्ट भएको छ । विशेष महाधिवेशनको विपक्षमा उभिएका यी सांसदहरू अहिले ‘हेर र पर्ख’को रणनीतिमा छन् । सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेसँग सहकार्य गर्दै प्रदेश सरकार सञ्चालन गरिरहेको काँग्रेसका अधिकांश सांसद शेरबहादुर देउवा पक्षधर भए पनि उनीहरू अहिलेको अवस्थामा पार्टी विभाजनतर्फ जान चाहँदैनन् ।
विशेष महाधिवेशनको विरोध गर्दै कित्ताकाटको बाटो रोजेमा प्रदेश सरकार नै संकटमा पर्न सक्ने अवस्थालाई ध्यानमा राख्दै काँग्रेस सांसदहरूले संयमित भूमिका अपनाएका छन् । निर्वाचन आयोगले विशेष महाधिवेशनलाई वैधता दिएपछि नयाँ निर्वाचित कार्यसमितिले औपचारिक रूपमा काम सुरु गरिसकेको छ । यस्तो अवस्थामा विशेष महाधिवेशन अस्वीकार गर्ने सांसदहरूले अब के कदम चाल्छन् र त्यसको प्रदेश सरकारमा कस्तो प्रभाव पर्छ भन्ने विषयमा राजनीतिक वृत्तमा चासो बढेको छ ।
काँग्रेस संसदीय दलका प्रमुख सचेतक विक्रमसिंह धामीले पार्टीभित्र उत्पन्न पछिल्लो परिस्थितिलाई आफूहरूले गम्भीरतापूर्वक नियालिरहेको बताएका छन् । उनका अनुसार अहिले हतारमा कुनै निर्णय लिनु उपयुक्त हुँदैन । ‘हामी शेरबहादुर देउवाको नेतृत्वप्रति अडिग छौँ,’ धामीले भने, ‘तर निर्वाचन आयोगले एक प्रकारको फैसला गरेको छ । यो फैसला अन्तिम हो भन्ने छैन, अझै कानुनी प्रक्रियाका अन्य चरण बाँकी हुन सक्छन् । केन्द्रबाट पार्टीले के निर्णय गर्छ, त्यसलाई पनि ध्यानमा राख्नुपर्ने हुन्छ । अहिले नै कित्ताकाट गरेर अलग भइहाल्नुपर्ने आवश्यकता हामीले देखेका छैनौँ ।’
सुदूरपश्चिम प्रदेशमा काँग्रेसका प्रदेश सांसदहरूमध्ये एकजनाबाहेक सबैजना विशेष महाधिवेशनको प्रक्रियाको विरोधमा रहेका छन् । यद्यपि, विरोधकै नाममा पार्टी विभाजन गर्ने वा प्रदेश सरकार ढाल्ने दिशामा उनीहरू अघि बढ्न चाहँदैनन् । वर्तमान राजनीतिक सन्तुलन, सरकारको स्थायित्व र केन्द्रको निर्देशनलाई प्राथमिकतामा राख्दै उनीहरू संयमित ढंगले अगाडि बढ्ने संकेत देखिएको छ ।
सुदूरपश्चिम प्रदेशसभामा काँग्रेसका कूल १८ जना सांसद छन् । तीमध्ये १६ जना शेरबहादुर देउवा पक्षधर मानिन्छन् । एकजना सांसद शेखर कोइराला समूहका हुन् भने एकजना मात्र विशेष महाधिवेशनको खुला समर्थनमा उभिएका छन् । विधायन तथा प्रदेश मामिला समितिका सभापतिसमेत रहेका सांसद दिवानसिंह बिष्ट शेखर कोइराला पक्षधर हुन् । त्यस्तै, सांसद जुना दानी विशेष महाधिवेशनको समर्थनमा खुलेर बोलेकी एकमात्र प्रदेश सांसद हुन् ।
मुख्यमन्त्री कमलबहादुर शाहसहित देउवा निकट १६ जना सांसद हाल सरकार सञ्चालन र पार्टी संगठन दुवैलाई सन्तुलनमा राख्ने प्रयासमा छन्। उनीहरूको बुझाइमा अहिलेको अवस्थामा पार्टीभित्रको विवादलाई थप चर्काउनेभन्दा पनि केन्द्रको राजनीतिक दिशा, सम्भावित कानुनी मोड र समग्र पार्टी एकतामाथि पर्ने प्रभावलाई मूल्यांकन गर्नु आवश्यक छ ।
विशेष महाधिवेशनलाई लिएर केन्द्रमा देखिएको विवादको असर प्रदेशसम्म पुगे पनि सुदूरपश्चिमका काँग्रेस सांसदहरू तत्काल कुनै कठोर निर्णयमा पुगिहाल्ने अवस्थामा छैनन् । उनीहरू सरकारको निरन्तरता, पार्टीको दीर्घकालीन हित र आगामी राजनीतिक परिदृश्यलाई मध्यनजर गर्दै प्रतीक्षारत रणनीतिमा छन् । यसले सुदूरपश्चिम प्रदेशमा काँग्रेसभित्र तत्काल ठूलो राजनीतिक उथलपुथल नआउने संकेत दिएको छ, यद्यपि केन्द्रको निर्णय र आगामी घटनाक्रमले परिस्थिति कुन दिशामा मोडिन्छ भन्ने कुरा अझै खुल्न बाँकी नै छ ।









प्रतिक्रिया दिनुहोस्