शेरबहादुर ऐर । कैलाली ।
२०८० साल असोजमा बझाङको दुर्गाथली गाउँपालिका–२ मा अचानक जमिन हल्लियो । केही सेकेन्डमै त्रास फैलियो । करिब ६ दशमलव ३ म्याग्निच्युडको शक्तिशाली भूकम्पले स्थानीय महालिंग आधारभूत विद्यालयको भवन भत्कायो । विद्यालय बन्द रहेको समय भएकाले मानवीय क्षति भएन तर त्यसपछिका दिनहरू सहज रहेनन् । भूकम्पपछि पटक–पटक आएका स–साना पराकम्पले बालबालिका, अभिभावक र शिक्षकलाई दिनौँसम्म त्रसित बनाइरह्यो ।
‘पहिलो धक्काले नै भवन चिराचिरा भयो,’ विद्यालयका एक शिक्षक भन्छन्, ‘त्यसपछि आउने पराकम्पले बच्चाहरू स्कुल आउन डराए ।’ यो घटना केवल एउटा विद्यालयको कथा होइन । यो सुदूरपश्चिमका हजारौँ कच्चा संरचना र त्यहाँ आश्रित नागरिकको साझा यथार्थ हो । राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रको तथ्यांकअनुसार सन् २०२२ देखि २०२६ सम्म सुदूरपश्चिम प्रदेशमा सयभन्दा बढी पटक भूकम्पीय झट्का महसुस गरिएको छ । यी कम्पनहरू केवल जमिनको हलचल होइनन्, राज्यको तयारी र नीति क्षमतामाथिको कठोर चेतावनी पनि हुन् ।
भूकम्पीय गतिविधि विशेषगरी सन् २०२३ देखि २०२४ सम्म असामान्य रूपमा बढेको देखिन्छ । उक्त एक वर्षमै ७७ पटक भूकम्प गएको तथ्यांक छ । तीमध्ये सबैभन्दा बढी बझाङमा ४१ पटक भूकम्प गएको थियो । त्यसपछि बाजुरामा १४, अछाममा १२, डोटीमा चार, बैतडीमा तीन, डडेल्धुरामा दुई र दार्चुलामा एकपटक भूकम्प गएको अभिलेख छ । एकै जिल्लामा यति धेरै कम्पन हुनु भूगर्भीय दृष्टिले गम्भीर संकेत मानिन्छ ।
अघिल्ला र पछिल्ला वर्ष पनि शान्त देखिँदैनन् । सन् २०२२ देखि २०२३ सम्ममा १४ पटक भूकम्प गएको थियो भने त्यसपछि पनि कम्पन रोकिएको छैन । सन् २०२४ देखि २०२५ सम्म बाजुरा र अछाममा भूकम्पीय झट्का महसुस गरियो । सन् २०२५ देखि २०२६ सम्ममा अछाम, बाजुरा र बैतडीमा एक–एक पटक भूकम्प गएको तथ्यांक छ । विज्ञहरूका अनुसार यस्तो उतारचढावलाई जोखिम कम भएको संकेत मान्न मिल्दैन ।
भूकम्पको त्रास अझै सेलाउन नपाउँदै २०८१ साल पुसमा फेरि बझाङको धमेना केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गयो । परिमाण सानो भए पनि यसको प्रभाव गहिरो रह्यो । ‘ठूलो भूकम्पपछि सानो झट्का आउँदा पनि मुटु ढुकढुक हुन्छ,’ स्थानीय कपिल अयडी भन्छन्, ‘घरभित्र बस्न डर लाग्छ ।’ भूगर्भविद्हरूका अनुसार सुदूरपश्चिम क्षेत्र भारतीय र युरेशियन प्लेटको ठोक्किने सक्रिय क्षेत्र नजिक पर्दछ ।
हिमालयन फल्ट प्रणालीका कारण यहाँ बारम्बार भूकम्प जानु स्वाभाविक भए पनि त्यसको प्रभाव मानव बसोबासमा अत्यन्तै गम्भीर बनेको छ । यसको कारण भूगोल मात्र होइन, कमजोर संरचना र अपर्याप्त तयारी पनि हो । सुदूरपश्चिमका पहाडी जिल्लामा अझै पनि ढुंगा–माटोका कच्ची घर, भिरालो जमिनमा अव्यवस्थित बस्ती, साँघुरा सडक र सीमित उद्धार पहुँच व्यापक छन् । यस्तो अवस्थामा सानो भूकम्पले पनि ठूलो क्षति निम्त्याउन सक्छ । विद्यालय, स्वास्थ्य चौकी र सरकारी कार्यालयजस्ता सार्वजनिक संरचना पनि जोखिममै छन् ।
बारम्बारका भूकम्पीय झट्काले भौतिक क्षतिसँगै मानसिक असर पनि बढाएको छ । स्थानीय स्वास्थ्यकर्मीहरूका अनुसार अनिद्रा, डर र चिन्ताको समस्या बढ्दो छ । तर ग्रामीण क्षेत्रमा मानसिक स्वास्थ्य सेवाको पहुँच निकै सीमित छ । ‘भूकम्पले घर मात्र होइन, मानिसको मन पनि हल्लाइदिन्छ,’ स्वास्थ्यकर्मी अनिता जोशी भन्छिन्, ‘तर यसको उपचारतर्फ ध्यान पुगेको छैन ।’
विपद् व्यवस्थापनका विज्ञहरू भन्छन्, ‘नेपालमा अझै पनि भूकम्पलाई लिएर राज्यको दृष्टिकोण प्रतिक्रियाकेन्द्रित छ । भूकम्प गएपछि राहत र पुनर्निर्माणका कुरा हुन्छन्, तर भूकम्पअघि गर्ने तयारी कमजोर छ । भवन संहिता ग्रामीण क्षेत्रमा प्रभावकारी रूपमा लागू भएको छैन । स्थानीय तहसँग न त पर्याप्त स्रोत छन्, न त तालिम प्राप्त जनशक्ति ।’
बझाङमा छ दशमलव तीन म्याग्नेच्युड र कर्णालीको जाजरकोटमा भूकम्पले ठूलो क्षति भएपछि कैलालीको धनगढीस्थित विभिन्न होटल, पार्टी प्यालेस, मन्त्रालयको सभाहलमा विभिन्न संघ–संस्था, स्थानीय सरकार, प्रदेश र संघीय सरकारको सहकार्यमा विभिन्न अन्तक्र्रिया, छलफल भए। तर, भूकम्प प्रभावित क्षेत्र लयमा फर्किएपछि अहिले भूकम्पसम्बन्धी त्यस्ता छलफल भएका छैनन् ।
समाजसेवा गर्दै आइरहेका समाजसेवी प्रेम चन्द भन्छन्, ‘विपद् आइसकेपछि राहत, खोज, उद्दार तथा पुर्ननिर्माणका बहस, छलफल हुन्छन् । सरकार पनि चर्चा कमाउन तुरुन्तै राहत रकम घोषणा गर्छ । ठुल–ठुला विपद् आएपछि होटल, सभाहलमा संघ–संस्था र सरकारको रकम खर्च हुन्छ । तर, त्यसको पूर्वतयारीमा जुटेको कहिले देखिँदैन । विपद् बाजा बजाएर त आउँदैन तर, एक घटनाले सिकाएको अभ्यासलाई दोहोरिन नदिन सरकारले नीति बनाई तयारी थाल्ने काम गर्दैन ।’
भूगर्भविद्हरूको विश्लेषणअनुसार सुदूरपश्चिम प्रदेश भूकम्पको उच्च जोखिममा रहेको जनाइएको छ । विशेषतः महाभारत क्षेत्र, चुरे क्षेत्र यसको जोखिममा रहेको केही अध्ययनले देखाएको उनीहरूको भनाइ छ ।









प्रतिक्रिया दिनुहोस्