जाजरकोट र रूकुम पश्चिमका भूकम्पपीडितहरू धमाधम आफ्नो घर आफैँ बनाउन कस्सिएका छन् । कतिपयले स्थायी घर निर्माण गरिसकेका छन् भने कतिपय घर बनाउँदैछन् । तर भूकम्पले दिएको चेतावनीलाई बेवास्ता गर्दै उनीहरूले नै भूकम्पप्रतिरोधी घर बनाएका छैनन् । भूकम्पले घर भत्किएपछि अस्थायी टहरामा बस्न बाध्य भएका जाजरकोट नलगाड–२ का नारायण शर्माले व्यक्तिगत खर्चमा अहिले स्थायी घर बनाएका छन् । तर उनको घर पनि भूकम्पप्रतिरोधी छैन ।
वीरेन्द्र जैसी । नेपालगन्ज ।
नेपाल भूकम्पीय जोखिमको उच्च खतरा रहेको देश हो । भौगर्भिक रूपमा नेपाल भारतीय प्लेट र युरेसियन प्लेट (एशियाली प्लेट)को बीचको भूगर्भमाथि अवस्थित छ । ती दुवै प्लेटहरू विस्तारै एकअर्कामा ठोक्किइरहेका छन् । त्यही टकरावले संसारको सबैभन्दा अग्लो पर्वत श्रृंखला हिमालय बनाएको हो । तर यो टकराव अझै रोकिएको छैन, जसले भूगर्भमा ठूलो तनाव जम्मा गरिरहेको छ ।
त्यही तनाव अचानक फुट्दा ऊर्जा उत्पन्न हुन्छ र भूकम्प जान्छ । यी दुईवटा प्लेटको टकराव हिमालयन थ्रस्ट नामक भूमिगत दरारमा भइरहेको छ । जुन दरार नेपालको दक्षिणी भाग (तराई)देखि उत्तरी भाग (तिब्बत)सम्म फैलिएको छ । पछिल्ला वर्षहरूमा भएका केही अध्ययनहरूले नेपालमा भूकम्पको जोखिमलाई वैज्ञानिक रूपमा मूल्यांकन गरेका छन् । ती अध्ययनले नेपाल सधैँ ठूलो भूकम्पको जोखिममै रहेको देखाउँछ ।
जिओइन्भाइरोमेन्टल डिजास्टरमा २०२५ मा प्रकाशित कविन लामिछानेलगायत पाँचजना अध्येयताले गरेको अध्ययनले नेपालको मध्य र पश्चिमी भागमा ठूला भूकम्पहरू जाने उच्च सम्भावना रहेको देखाएको छ । भूकम्पको जोखिम मापन गर्ने तरिकाहरूको समीक्षा गरिएको उक्त अध्ययनले नेपालको मध्य र पश्चिमी क्षेत्रमा भूमिगत दरारहरू लामो समयदेखि नचलेर स्थिर अवस्थामा रहेका देखाएको छ ।
काठमाडौँजस्ता ठूला सहरहरूमा भूकम्पको झट्का धेरै बलियो हुन सक्ने र त्यसले भवनहरू ढलाउने खतरा बढाउने उक्त अध्ययनमा उल्लेख छ । यस्तै सन् २०२१ मा अप्लाइड कम्प्युटिङ एण्ड जिओसाइन्सेस जर्नलमा प्रकाशित सुमन्त पसारीलगायत तीनजनाले गरेको अध्ययनले नेपालमा भूकम्पीय जोखिमको वर्तमान अवस्था मापन गर्न ‘अर्थक्वेक नाउकास्टिङ्ग’ नामक विधि प्रयोग गरेको थियो । उक्त अध्ययनले सन् १९७० देखि २०२० सम्मको भूकम्पीय तथ्यांकहरूबाट देशका २४ वटा प्रमुख सहरहरूमा भूकम्पको जोखिम ‘अर्थक्वेक पोटेन्सियल स्कोर’ (ईपीएस)मा मापन गरेको छ ।
जसले नेपालका बढी जनघनत्व भएका सहरहरूमा ५९ देखि ९९ प्रतिशतसम्म ईपीएस रहेको देखाएको छ । ९० प्रतिशतभन्दा बढी ईपीएस रहेका सहरमध्ये उक्त अध्ययनले सुर्खेतको वीरेन्द्रनगर ९९ प्रतिशत, नेपालगन्ज र तिलोत्तमा ९७ प्रतिशत, बुटवल ९६ प्रतिशत, काठमाडौँ, ललितपुर, जनकपुर ९५ प्रतिशत जोखिममा रहेको देखाएको छ । यसैगरी, कञ्चनपुर, धनगढी ९४ प्रतिशत जोखिममा रहेको छ भने ९० प्रतिशत बढी जोखिममा रहेका अन्य सहरहरूमा वीरगन्ज, भरतपुर, दमक, धरान, हेटौँडा, इटहरी, पोखरा, बारालगायत रहेका छन् ।
यसैगरी अमेरिकाका विभिन्न विश्वविद्यालयको सहकार्यमा ६ वर्ष लगाएर गरिएको एक अर्काे अध्ययनले पश्चिम नेपालको एक सय ५० माइल लामो दरार प्रणालीमा पछिल्लो १०,००० वर्षमा तीनवटा ठूला सतह–फुट्ने भूकम्प गएको देखाएको छ । यसबाहेक १४ वटासम्म ठूला भूकम्पहरूको गएको उक्त अध्ययनले देखाएको छ । यसैगरी जिओसाइन्सेस नामक जर्नलमा २०२३ मा प्रकाशित अर्काे एक अध्ययन प्रतिवेदनमा नेपालको उत्तरी र उत्तरपूर्वी क्षेत्रहरूमा जोखिम उच्च रहेको देखाइएको छ ।
उक्त अध्ययनले काठमाडौँ, दीपायलजस्ता सहरहरूमा ठूलो भूकम्पले धेरै विपत्ति निम्त्याउनसक्ने खतरा रहेको देखाएको छ । भूकम्पको जोखिम उच्च रहँदा २०७२ सालको गोरखा भूकम्पपछि नेपालमा भूकम्पप्रतिको पूर्वतयारी र क्षति न्यूनीकरणमा केही सुधार भएको एक अर्काे अध्ययनले देखाएको छ । सन् २०२४ मा प्रकाशित उक्त अध्ययन प्रतिवेदनले गोरखा भूकम्पपछि केही नीतिगत तथा कार्यगत सुधारका कामहरू भएको उल्लेख गरेको छ ।
भूकम्पीय सुरक्षासम्बन्धी कामहरूको जिम्मेवारी संघीय, प्रादेशिक र स्थानीय सरकारमा बाँडिएको उक्त प्रतिवेदनमा उल्लेख छ । यद्यपि अझै पनि समन्वयको कमी, स्रोतसाधनको अभाव र सामाजिक असमानता चुनौतीका रूपमा रहेको उक्त प्रतिवेदनमा उल्लेख छ । यसैगरी नीतिगत व्यवस्था र कार्यान्वयनको वास्तविकता भने मेल नखाइरहेको उक्त प्रतिवेदनले औँल्याएको छ । उक्त प्रतिवेदनले विपद्को जोखिममा रहेका समुदायहरूलाई सचेत बनाउने, विपद् प्रतिकार्यमा सहज बनाउने क्रियाकलापहरूलाई प्रोत्साहन गर्ने तथा नेपालको अवस्था अनुसारका प्रविधिहरूको प्रसारलाई बढावा दिनुपर्ने सुझाव पनि दिएको छ ।
नेपालमा गएका ठूला भूकम्पहरू
नेपालमा चौधौँ शताब्दीदेखिका भूकम्पहरूको बारेमा दस्ताबेजहरूमा उल्लेख गरिएको पाइन्छ । विसं १३१० मा गएको भूकम्पले काठमाडौँका थुप्रै देवालय र घर भत्काएको र त्यही भूकम्पमा परी राजा अभय मल्लको समेत ज्यान गएको इतिहास छ । त्यसैगरी विसं १३१६ मा पनि भूकम्पले भवन भत्काउनुका साथै महामारी ल्याएको, १४६४ मा गएको भूकम्पले मत्स्येन्द्रनाथको मन्दिरका साथै अन्य थुप्रै मठमन्दिर भत्किएको इतिहास छ । त्यसपछिका १८६६ को भूकम्पले पशुपतिनाथबाहेक धेरैै मन्दिरलाई भत्काएको थियो ।
१८९० मा गएको महाभूकम्पले दुई वटामध्ये एउटा धरहरा भत्कायो भने थुप्रै दरबार, मठमन्दिर भत्किएको र १८ हजार घरमा क्षति पुगेको अनुमान गरिएको छ । भूकम्पको तीव्रता नै थाहा भएको १९९० साल माघ २ गतेको ८ दशमलव ३ रेक्टर स्केलको भूकम्प आठ हजार चार सय ३२ जनाको ज्यान गएको थियो ।
त्यही भूकम्पको सम्झनामा हरेक वर्ष माघ २ गते भूकम्पीय सुरक्षा दिवस मनाउने गरिन्छ । उक्त भूकम्पमा १८ हजार सात सय १३ जना घाइते भएका र उपत्यकामा १२ हजार, पहाडमा २४ हजार सात सय ५२ र तराईमा तीन हजार सात सय ५४ घर पूर्ण क्षति भएका थिए । त्यसपछि २०३७ साउन १४ गते ६ दशमलव ५ रेक्टर स्केलको भूकम्पले एक सय ७८ जनाको ज्यान लिएको थियो भने ४० हजारभन्दा बढी घरलाई क्षति पु¥याएको थियो ।
यसैगरी २०४५ भदौ ५ गते उदयपुर केन्द्र बनाएर ६ दशमल २ रेक्टर स्केलको भूकम्प जाँदा सात सय २१ जनाको मृत्यु भयो भने ६ हजार दुई सय १३ जना घाइते भएका थिए । त्यसबेला १४ हजार २६४ घर पूर्ण क्षति भए भने ३३ हजार दुई ५२ घर चिरा परेर प्रयोग गर्न नमिल्ने अवस्था आएको थियो । २०६८ असोज १ गते ताप्लेजुङ र भारतको सिक्किम केन्द्रबिन्दु बनाएको ६.८ रेक्टर स्केलको भूकम्पले नेपालमा ६ जनाको मृत्यु हुनुका साथै साढे ६ हजार घर पूर्ण क्षति भएका थिए ।
नेपालको इतिहासकै सबैभन्दा विनाशकारी भूकम्पको रूपमा २०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु बनाएर भूकम्प गयो । ७ दशमलव ६ रेक्टर स्केलको उक्त भूकम्पका कारण आठ हजार नौ सय ७० जनाको मृत्यु हुनुका साथै २२ हजार तीन सय दुई जना घाइते भएका थिए । उक्त भूकम्पपश्चात् पनि दोलखा केन्द्रबिन्दु भएर ६ दशमलव २ रेक्टर स्केलको र वैशाख २९ गते दोलखा केन्द्रबिन्दु भएर ६ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको थियो । उक्त वर्ष गएका भूकम्पले आठ लाख ६६ हजार दुई सय ७ निजी घर पूर्ण क्षति भए भने ४७ हजार २७ घरमा आंशिक क्षति पुगेको थियो ।
२०८० साल कात्तिक १६ गते बझाङ केन्द्रबिन्दु बनाएर गएको ६ दशमलव ३ रेक्टर स्केलको भूकम्पका कारण एक जनाको ज्यान गयो भने एक सय ३५ घर क्षतिग्रस्त भएका थिए । त्यसको अर्काे दिन कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु भएर गएको ६ दशमलव ४ म्याग्नेच्युडको भूकम्पबाट एक सय ५३ जनाले ज्यान गुमाएका थिए ।








प्रतिक्रिया दिनुहोस्