क्याप क्यानभेरल÷ रासस-एपी
चिकित्सकीय हेरचाह आवश्यक परेपछि नासाले इतिहासमै पहिलोपटक मेडिकल निकासी प्रक्रिया अपनाउँदै चार अन्तरिक्ष यात्रीलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनबाट पृथ्वी फर्काउने निर्णय गरेको छ । बुधबार एक जना बिरामी अन्तरिक्ष यात्रीसहित तीन जना चालक दलका सदस्यले आइएसएसबाट प्रस्थान गरेका हुन् ।अमेरिका, रुस र जापानका चारै जना अन्तरिक्ष यात्री स्पेसएक्सको क्याप्सुलमार्फत बिहीबार बिहान सान डिएगो नजिकै प्रशान्त महासागरमा सुरक्षित स्प्ल्यासडाउन गर्ने लक्ष्यमा छन् । यस निर्णयका कारण उनीहरूको मिसन एक महिनाभन्दा बढी छोटिएको नासाले जनाएको छ ।
नासाकी अन्तरिक्ष यात्री जेना कार्डम्यानले फिर्ती यात्राअघि भनिन्,‘हाम्रो प्रस्थान समय अप्रत्याशित भए पनि यो चालक दल परिवारझैँ एक–अर्काको हेरचाह गर्दै एकताबद्ध भएको देख्नु प्रेरणादायी रह्यो ।’
अधिकारीहरूले चिकित्सकीय गोपनीयताको कारण बिरामी अन्तरिक्ष यात्रीको पहिचान र स्वास्थ्य अवस्थाबारे विवरण सार्वजनिक नगरेको बताए । उनका अनुसार, विस्तृत चिकित्सकीय मूल्याङ्कन पृथ्वीमै गर्न उपयुक्त हुने भएकाले यो निर्णय लिइएको हो ।
गत अगस्टमा प्रक्षेपण गरिएका कार्डम्यान, फिन्के, जापानका किमिया युई र रुसका ओलेग प्लाटोनोभ फेब्रुअरीको अन्त्यसम्म स्टेशनमा बस्ने योजना थियो । तर जनवरी ७ मा नासाले आकस्मिक रूपमा स्पेसवाक रद्द गर्दै चालक दल चाँडै फर्कने घोषणा गरेको थियो । स्वास्थ्य समस्या कुनै आपतकालीन नभएको र स्टेशन सञ्चालनसँग सम्बन्धित पनि नरहेको नासाले स्पष्ट पारेको छ ।
प्रकाशित मिति : २०८२ माघ १ गते बिहीबार









प्रतिक्रिया दिनुहोस्