एकातिर मुडा बालेर जाग्राम बस्ने र फल्लाहर बाँड्ने चलन हराउँदै छ भने अर्कोतिर गाउँका अधिकांश युवाहरू रोजगारी र अध्ययनका लागि विदेश तथा जिल्ला बाहिर हुँदा पर्व नै खल्लो महसुस भएको संस्कृतविद् रमानन्द आचार्य बताउँछन् । ‘मुडा बाल्ने रातमा पनि जस्तो उमंग छैन् । घरघरमा फलफूल र सेलरोटी बाँड्ने चलन पनि हटिसकेको छ,’ उनले भने, ‘यो चलनले गाउँमा सामाजिक एकता र मेलमिलाप बढाउँथ्यो । फलफूल र सेलरोटी बाँड्ने चलनले छरछिमेकका बीचमा माया र सद्भाव कायम राख्थ्यो।’
नन्दराम जैशी । सुर्खेत ।
‘पुस महिनाको अन्तिम दिन गाउँका युवाहरू दिनभर जंगलबाट काठका मुडा ल्याउँथे । महिलाहरू घर तथा व्यक्तिगत सरसफाइमा व्यस्त रहन्थे,’ शिवलाल खत्रीले भने, ‘एक निश्चित सार्वजनिक स्थानमा राति ती मुडा बालेर युवाहरू जाग्राम बस्दै रमाइलो गर्थे । घरमा महिला, बालबालिका र वृद्धवृद्धाहरू सेलरोटी पकाउँदै जाग्राम बस्थे ।’ उनका अनुसार रातभर काठका मुडा बालेर जाग्राम बस्ने र अर्को दिन अर्थात् माघी पर्वका दिन फलफूल तथा सेलरोटी (फल्लाहर) घर–घर बाँड्ने परम्पराको निकै महत्व थियो ।
तर हाल मुडा बालेर जाग्राम बस्ने र फल्लाहर बाँड्ने चलन हराउँदै गएको छ । पुराना दिनहरू स्मरण गर्दै उनले त्यतिबेलाको त्यो आनन्द नै बेग्लै महसुस हुने गरेको बताए । जुम्लाको तातोपानी गाउँपालिका–४ का उनी हाल सुर्खेतको खजुरामा बस्दै आएका छन् । ‘पहिला मुडा बाल्ने रातमा गाउँका युवाहरूले कथा, चुट्किला सुनाउँदै गीत गाएर गफगाफ गर्थे । बालबालिकाले त्यो आगो वरिपरि खेल्थे,’ उनले थपे, ‘त्यो दृश्यले गाउँभरी रमाइलोको महसुस हुन्थ्यो । माघी केवल पर्व मात्र थिएन, गाउँको सांस्कृतिक पहिचान पनि थियो । तर अहिले परिस्थिति फरक छ ।’
एकातिर मुडा बालेर जाग्राम बस्ने र फल्लाहर बाँड्ने चलन हराउँदै छ भने अर्कोतिर गाउँका अधिकांश युवाहरू रोजगारी र अध्ययनका लागि विदेश तथा जिल्ला बाहिर हुँदा पर्व नै खल्लो महसुस भएको संस्कृतविद् रमानन्द आचार्य बताउँछन् । ‘मुडा बाल्ने रातमा पनि जस्तो उमंग छैन् । घरघरमा फलफूल र सेलरोटी बाँड्ने चलन पनि हटिसकेको छ,’ उनले भने, ‘यो चलनले गाउँमा सामाजिक एकता र मेलमिलाप बढाउँथ्यो । फलफूल र सेलरोटी बाँड्ने चलनले छरछिमेकका बीचमा माया र सद्भाव कायम राख्थ्यो ।’
यो पर्वले परम्परागत रूपमा युवा पुस्तालाई आफ्नो सांस्कृतिक पहिचान र ग्रामीण मूल्य सिकाउने काम गथ्र्यो । तर अहिले यो चलन कम हुँदै गएको छ । आधुनिक जीवनशैली, शहरीकरण, समयको अभाव र बाह्य संस्कृतिको प्रभावले परम्परागत अभ्यासलाई पछि धकेल्दै गएको संस्कृतविद् आचार्य बताउँछन् ।
‘यस कारण समुदायमा मेलमिलाप कम भएको महसुस हुन्छ भने सांस्कृतिक पहिचान हराउँदै गएको छ,’ उनले थपे, ‘गाउँले र स्थानीय सरकार मिलेर यो परम्परा संरक्षण गर्ने उपायहरू खोज्न जरुरी छ । विद्यालयमा परम्परागत खेल र सांस्कृतिक कार्यक्रममार्फत पनि नयाँ पुस्तालाई यो पर्व र प्रथासँग परिचित गराउन सकिन्छ ।’
गाउँका अधिकांश युवाहरू रोजगारी र अध्ययनका लागि विदेश जानुका कारण माघीको उत्सव खल्लो महसुस हुने गरेको जुम्लावासी बताउँछन्। गाउँका वृद्धवृद्धा, महिला र बालबालिकाले युवाहरूको अनुपस्थितिमा पर्व मनाउँदा पुरानो उमंग भेट्दैनन् भने पर्वको खुसियालीसँग मनोसामाजिक तथा भावनात्मक रूपमा पनि जोडिन मुस्किल पर्ने जानकारहरू बताउँछन् ।
‘चेली तिहार’का रूपमा मनाउने चलन
कलीकोटमा फरक शैलीमा माघी पर्व मनाउने गरिन्छ । परापूर्वकालदेखि कर्णालीको कालीकोटमा यो पर्वमा आफ्ना चेलीलाई कोसेली दिएर ‘चेली तिहार’का रूपमा मनाउँदै आइएको छ । माघीका अवसरमा छोरीचेलीहरूलाई हरियो पोकामा कोसेली दिएर ‘चेली तिहार’का रूपमा मनाउने चलन छ । परापूर्वकालदेखि चल्दै आएको ‘चेली तिहार’मा छोरीचेलीहरूलाई कोसेली दिने गरिन्छ । कोसेलीमा विभिन्न खाद्यान्नका परिकार हुन्छन् ।
तर पछिल्लो समय यो चलन विस्तारै हराउँदै गएको कर्णालीको संस्कृतिसम्बन्धी जानकार चन्द्रप्रसाद कोइरालाले बताए । उनका अनुसार घरमा ठूलाबडाको आशीर्वाद लिएर मनाइने माघीलाई कालीकोटमा सांस्कृतिक उत्सव, कृषि, पर्यटन तथा बजार प्रबद्र्धन, मेला, महोत्सव र माघी मिलन समारोहको आयोजना गरी पनि मनाउने चलन छ ।
‘धार्मिक मान्यताअनुसार माघ महिनालाई पवित्र महिनाका रूपमा लिने गरिएको छ । तर कर्णालीका अन्य ठाउँभन्दा कालीकोटमा फरक शैलीमा माघी मनाइन्छ,’ उनले भने, ‘छोरीचेलीलाई कोसेली दिने चलन निकै राम्रो पनि हो । यसले बिहे गरेर गएका छोरीचेलीसँगको सम्बन्ध थप बलियो र आत्मीयता कायम हुन्छ ।’ धार्मिक मान्यताअनुसार कर्णालीमा माघ महिनामा कपाल काट्न र खौरिन नहुने, बली दिन नहुने र यस अवसरमा कागको पूजा गर्ने चलन पनि रहेको उनले बताए ।
घरबाट टाढा टाढा रहेका दिदीबहिनीलाई हरियो पातमा कोसेली पु¥याउने चलनले चेलीलाई विशेष महत्व दिएको उनको भनाइ छ । त्यसैले यो पर्वलाई चेली तिहारका रूपमा मनाइने गरिएको उनले बताए । उनले थपे, ‘यो पर्वका अवसरमा विवाह गरिसकेका दिदीबहिनीका लागि कोसेली छुट्याउने र माघ महीनाभर नै माइतीपक्षले उनीहरूका लागि कोसेली पठाउने गरिन्छ ।’
कर्णालीमा बसोबास गर्ने थारू समुदायमा रौनक
थारू समुदायको प्रमुख सांस्कृतिक पर्व माघी सुर्खेतमा विविध कार्यक्रमका साथ उल्लासपूर्वक मनाइँदै छ । यो पर्वको अवसरमा थारू समुदायमा छुट्टै रौनक छाएको वीरेन्द्रनगर–२ का सुरेश थारूले बताए । उनका अनुसार यो पर्वलाई थारू समुदायले नयाँ वर्षको सुरुवातका रूपमा लिन्छन् । ‘माघी पर्वको अवसरमा थारू समुदायका मानिसहरू बिहानै नदी, खोला तथा जलाशयमा स्नान गरी घर फर्केर देवी–देवताको पूजा गर्ने चलन छ,’ उनले भने, ‘त्यसपछि आफन्तहरू भेला भई विशेष परिकारहरू ढिक्री, घोंगी, माछा, सुँगुरको मासु, चामलको रोटी तथा घरेलु मदिरा सेवन गर्ने चलन छ ।’
सुर्खेतका थारू बस्तीहरूमा माघीको अवसरमा परम्परागत थारू नृत्य, गीत, बाजागाजा तथा सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिएको छ । युवायुवतीहरूले अघिल्लो दिनदेखि परम्परागत पहिरनमा सजिएर नाचगान गर्दै पर्वको रौनक बढाएका छन् । माघी पर्वको विशेष महत्व सामाजिक र सांस्कृतिक एकताको प्रतीकका रूपमा रहेको छ । यस अवसरमा थारू समुदायमा पुराना कर्जा, ऋण चुक्ता गर्ने, नयाँ कामको योजना बनाउने तथा घरमुली (बरघर) चयन गर्ने परम्परा पनि रहिआएको छ । यसले समुदायभित्र न्याय, सहकार्य र अनुशासन कायम गर्न सहयोग पु¥याउने विश्वास गरिन्छ ।
थारू अगुवाहरूका अनुसार माघी पर्वले थारू समुदायको पहिचान, संस्कृति र परम्परालाई जोगाइराख्न महत्वपूर्ण भूमिका खेलेको छ । पछिल्लो समय स्थानीय तह तथा विभिन्न संघसंस्थाले पनि माघीलाई सांस्कृतिक पर्वका रूपमा प्रवद्र्धन गर्दै सार्वजनिक बिदा तथा कार्यक्रमहरू आयोजना गर्न थालेका छन् । माघी पर्वले आपसी सद्भाव, मेलमिलाप र सामाजिक एकता मजबुत बनाउँदै थारू समुदायको सांस्कृतिक धरोहरलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्न महत्वपूर्ण योगदान पु¥याइरहेको छ ।
तरुल किनबेच गर्नेको भीड

माघी पर्वको अवसरमा सुर्खेतका बजार क्षेत्रमा तरुल किनबेच गर्नेको भीड बढेको छ । माघीलाई विशेष रूपमा मनाउने समुदायहरूमा तरुललाई अनिवार्य परिकारका रूपमा प्रयोग गरिने भएकाले पछिल्ला दिनहरूमा यसको माग उल्लेख्य रूपमा बढेको हो । वीरेन्द्रनगर, बड्डीचौर, मेहलकुना लगायतका स्थानका बजारमा स्थानीय किसानहरूले उत्पादन गरेका विभिन्न जातका तरुल बिक्रीका लागि ल्याएका छन् । बिहानैदेखि बजारमा तरुल किन्न आउने ग्राहकको चहलपहल देख्न सकिन्छ भने विक्रेताहरू पनि व्यस्त देखिएका छन् ।
स्थानीय व्यापारीका अनुसार माघी पर्वका बेला तरुलको बिक्री अन्य समयको तुलनामा दोब्बरभन्दा बढी हुने गर्छ । माघी आएपछि तरुलको माग निकै बढेको व्यापारी निरुता रावलले बताइन् । त्यसैले किसानहरूले पनि यही समयलाई लक्षित गरेर तरुल बजारमा ल्याउने गरेका छन् ।
तरुल किन्ने उपभोक्ताहरूले परम्परा जोगाउन र परिवारसँग माघी मनाउन आवश्यक सामग्री किन्न बजार आएको बताएका छन् ।
माघी पर्व थारू समुदायसहित विभिन्न जातजातिले उत्साहका साथ मनाउने पर्व भएकाले सुर्खेतको बजारमा पर्वको रौनक बढ्दै गएको छ । समाजसेवी तथा जानकार व्यक्ति पीताम्बर ढकालका अनुसार माघी पर्वले सामाजिक सद्भाव, सांस्कृतिक पहिचान र आपसी मेलमिलापलाई बलियो बनाउँदै आएको छ । पछिल्ला वर्षहरूमा माघीलाई राष्ट्रिय पर्वका रूपमा मनाउन थालिएपछि यसको महत्व झनै बढेको उनले बताए ।









प्रतिक्रिया दिनुहोस्