डडेल्धुराकी युवती सरिता भट्ट भन्छिन्, ‘अरू चाडमा नभेटिएका आफन्त पनि माघेमा भेटिन्छन् । घरमा खुसी छाउँछ ।’ समयसँगै माघे सङ्क्रान्ति मनाउने शैलीमा परिवर्तन आएको छ । तरुल र सक्कलगंजसँगै अब फलफूल, मिठाइ र बजारिया परिकार पनि भित्रिन थालेका छन् । तर पनि मूल संस्कार अझै जोगिएको देखिन्छ । अछामका समाजशास्त्री कृष्ण बहादुर कुँवर भन्छन्, ‘पहाडी समुदायमा माघे अझै जीवनशैलीकै हिस्सा छ । बाहिरी प्रभाव आए पनि मूल परम्परा हराएको छैन ।’
शेरबहादुर ऐर । सुदूरपश्चिम ।
सुदूरपश्चिमका पहाडी जिल्लामा माघ १ गतेको बिहान अरू दिनभन्दा फरक हुन्छ । जाडोले कठ्याङ्ग्रिएको शरीर बोकेर पनि मानिसहरू सबेरै उठ्छन्, नजिकको धारा, खोल्सा वा नदीतर्फ लाग्छन् । पानी चिसो हुन्छ, तर मनमा आस्था र संस्कारको ताप हुन्छ । माघे सङ्क्रान्ति पहाडी समुदायका लागि केवल चाड होइन, प्रकृति, धर्म र जीवनशैलीसँग गहिरो रूपमा जोडिएको दिन हो । ज्योतिष शास्त्रअनुसार माघ १ गते सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्छ । यही कारण यस दिनलाई मकर सङ्क्रान्ति भनिन्छ ।
खगोलशास्त्रीय दृष्टिले हेर्दा यही समय सूर्यले दक्षिणी गोलार्धबाट उत्तरी गोलार्धतर्फ यात्रा सुरु गर्छ । धार्मिक मान्यताअनुसार पुस १५ पछि दिन लम्बिँदै जान्छ र रात छोटिँदै जान्छ । डोटीका ज्योतिषाचार्य लक्ष्मणदत्त उपाध्याय भन्छन्, ‘माघे सङ्क्रान्ति सूर्यको उत्तरायण यात्राको सुरुवात हो। यसलाई शुभ समय मानिन्छ, त्यसैले पहाडमा यस दिन स्नान, दान र पूजालाई विशेष महत्व दिइन्छ।’ पहाडी समुदायमा माघ १ गते बिहानै स्नान गर्ने चलन पुरानै हो । कठ्याङ्ग्रिने जाडोका बाबजुद पनि खोल्सा, नदी वा धारामा स्नान गरिन्छ । कतिपय ठाउँमा घरमै तातो पानी तताएर स्नान गर्ने चलन पनि बढेको छ, तर आस्थाको भाव भने उस्तै छ ।
अछामको मेल्लेख गाउँपालिका–४ का स्थानीय वृद्ध गंगाबहादुर साउँद भन्छन्, ‘चिसो पानीमा नुहाउनु स्वास्थ्यका लागि मात्र होइन, मन शुद्ध पार्ने काम पनि हो भन्ने विश्वास छ । नुहाएपछि दिन राम्रो जान्छ भन्ने हाम्रो सोच हो ।’ स्नानपछि पहाडी घरहरूमा सक्कलगंज खाने परम्परा छ । सक्कलगंज भनेको पवित्र भोजन हो, जसमा तरुल, सखरखण्ड, पिँडालु, बोडी, चना, तिलको लड्डु र घ्यू प्रयोग गरिन्छ । विशेषगरी तरुललाई माघे सङ्क्रान्तिको अनिवार्य परिकार मानिन्छ ।
डडेल्धुराको नवदुर्गा गाउँपालिकाकी कमला भट्ट भन्छिन्, ‘माघेमा तरुल नखाए चाडै मनाएजस्तो लाग्दैन । वनमा फलेको तरुल यही दिनका लागि जोगाएर राखिन्छ ।’ पहाडी जीवन कृषि चक्रसँग नजिक छ । माघे सङ्क्रान्ति पनि कृषि जीवनसँगै जोडिएको छ । बाली भित्र्याउने काम सकिएपछि केही राहतको समय यही हो । तरुल, सखरखण्ड जस्ता कन्दमूल बाली यसै मौसममा उपयोगमा आउँछन् । डोटीका कृषक हिक्मत सिंह ऐर भन्छन्, ‘माघे भनेको पुरानो काम सकिएको र नयाँ तयारी सुरु हुने समय हो । खेत पनि आराम गर्छ, मान्छेले पनि ।’
माघे सङ्क्रान्तिलाई दान–पुण्यको विशेष दिन मानिन्छ । पहाडी जिल्लामा गाईलाई घाँस, गरिबलाई अन्न वा लुगा दिने चलन छ । कतिपय ठाउँमा मठमन्दिरमा गई दीप बाल्ने, ब्राह्मणलाई दान दिने परम्परा अझै कायम छ । डोटीको एक मठका पुजारी नारायणदत्त जोशी भन्छन्, ‘माघेमा गरिएको दानले पुण्य बढ्छ भन्ने धार्मिक विश्वास छ । त्यसैले सकेसम्म दिन खोजिन्छ ।’
माघे सङ्क्रान्ति पहाडमा पारिवारिक जमघटको अवसर पनि हो । वैदेशिक रोजगारी वा सहर गएका सदस्य यही चाडमा गाउँ फर्कने प्रयास गर्छन् । एउटै चुल्होमा बसेर सक्कलगंज खाने चलनले पारिवारिक सम्बन्ध बलियो बनाउँछ । डडेल्धुराकी युवती सरिता भट्ट भन्छिन्, ‘अरू चाडमा नभेटिएका आफन्त पनि माघेमा भेटिन्छन् । घरमा खुसी छाउँछ ।’ समयसँगै माघे सङ्क्रान्ति मनाउने शैलीमा परिवर्तन आएको छ । तरुल र सक्कलगंजसँगै अब फलफूल, मिठाइ र बजारिया परिकार पनि भित्रिन थालेका छन् । तर पनि मूल संस्कार अझै जोगिएको देखिन्छ ।
अछामका समाजशास्त्री कृष्ण बहादुर कुँवर भन्छन्, ‘पहाडी समुदायमा माघे अझै जीवनशैलीकै हिस्सा छ । बाहिरी प्रभाव आए पनि मूल परम्परा हराएको छैन ।’ युवा पुस्ता सहरकेन्द्रित जीवनतर्फ आकर्षित हुँदै जाँदा परम्परागत अर्थ बुझाउने चुनौती बढेको छ । तर, परिवारभित्रैबाट संस्कार सिकाउने चलनले माघे सङ्क्रान्तिको निरन्तरता कायम राखेको छ । डोटीका एक शिक्षक हरिप्रसाद भट्ट भन्छन्, ‘विद्यालयमा भन्दा घरमै सिकाइन्छ माघेको महत्व । यही नै हाम्रो बलियो पक्ष हो ।’
सुदूरपश्चिमका पहाडी समुदायमा माघे सङ्क्रान्ति सूर्यको यात्रासँगै संस्कारको निरन्तरता हो । बिहानको स्नान, सक्कलगंज, तरुलका परिकार, दान–पुण्य र पारिवारिक जमघटले यो पर्वलाई जीवन्त बनाएको छ । बदलिँदो समय र जीवनशैलीका बीच पनि पहाडी समाजले माघे सङ्क्रान्तिलाई आफ्नो पहिचानका रूपमा जोगाइराखेको छ । प्रकृति र मानिसबीचको सम्बन्ध झल्काउने यो पर्व पहाडी संस्कृतिको मौन तर गहिरो अभिव्यक्ति बनेको छ ।
थारू समुदायको जीवन, स्मृति र माघीको कथा
माघ १ गतेको बिहान हो । पश्चिम तराईको एउटा थारू बस्तीमा घाम अझै राम्ररी नउदाउँदै घर–घरबाट धुवाँ उठ्न थालेको छ । आँगनमा आगो बालिएको छ, भान्सामा ढिक्री पाक्दैछ र खोलातिर नुहाउन जाने मानिसहरूको चहलपहल हुन्छ । ६५ वर्षीया बुदनी थारू भन्छिन्, ‘माघी नआएको वर्षजस्तै लाग्दैन । यो हाम्रो सास हो, हाम्रो जिन्दगी हो ।’
थारू समुदायका लागि माघी केवल एउटा पर्व होइन, यो उनीहरूको नयाँ वर्ष, इतिहास, पीडा र गौरवको साझा कथन हो । माघी आउँदा थारू बस्तीमा केवल रमाइलो मात्र होइन, सम्झना पनि आउँछ–श्रमको, शोषणको र अन्ततः मुक्तिको । माघीको दिन बिहान सबेरै खोलामा स्नान गर्नु थारू समुदायको पुरानो चलन हो । २२ वर्षीया सरस्वती थारू भन्छिन्, ‘हामीले यसलाई फेसनका लागि होइन, विश्वासका लागि गर्छौँ । नुहाउँदा शरीर मात्र होइन, मन पनि हलुका हुन्छ ।’ स्नानपछि घर फर्केर नयाँ लुगा लगाउने, देवता सम्झने र परिवारसँग बसेर खानु–यी सबैले माघीलाई आत्मीय बनाउँछ ।
बुदनी थारूले छोरी–बुहारी मिलेर ढिक्री बनाउँने बताइन् । उनी भन्छिन्, ‘ढिक्रीबिना माघी अधुरो हुन्छ । यो हाम्रो चिनारी हो ।’ ढिक्रीसँगै घोंगी, माछा र सुँगुरको मासु पकाइन्छ । घोंगी संकलन गर्न पुसबाटै केटाकेटीहरू खोलातिर जान्छन् । यी परिकार केवल पेट भर्ने साधन होइनन् । यी थारू समुदायको प्रकृतिसँगको सम्बन्ध, श्रम र सामूहिक जीवनशैलीको प्रतीक हुन् । माघि थारू समुदायमा रमाइलोको दिन मात्र होइन, गम्भीर निर्णयको दिन पनि हो । बस्तीको चौतारोमा सबै भेला हुन्छन् । आज नयाँ बडघर चयन हुन्छ । पुरानो बडघरले आफ्नो कामको हिसाब दिन्छन्, नयाँ जिम्मेवारी सुम्पिन्छन् ।
४८ वर्षका रामलाल थारू भन्छन्, ‘हामी माघीमा कुरा गर्छौँ, झगडा मिलाउँछौँ, नियम बनाउँछौँ । यही दिनले गाउँलाई चलाउँछ ।’ यो प्रक्रिया औपचारिक कागजभन्दा बढी आपसी विश्वासमा आधारित हुन्छ । सामूहिक छलफल र सहमतिमा निर्णय लिनु थारू समुदायको पुरानो लोकतान्त्रिक अभ्यास हो, जसले उनीहरूको सामाजिक एकतालाई बलियो बनाएको छ । ६० वर्षका शिवनाथ थारू माघी आउँदा भावुक हुन्छन् । उनी भन्छन्, ‘म कमैया थिएँ । माघी आउँदा साहुको घरमा नयाँ सम्झौता हुन्थ्यो–कति ऋण, कति काम । त्यो दिन डर लाग्थ्यो ।’ २०५७ साल माघ १ गते कमैया प्रथा अन्त्यको घोषणा भएपछि माघी शिवनाथका लागि नयाँ अर्थ बोकेर आयो । ‘त्यो दिन पहिलो पटक लाग्यो, म पनि मानिस हुँ,’ उनी भन्छन् ।
आज पनि थारू समुदायमा माघी स्वतन्त्रताको प्रतीक बनेको छ । मञ्चमा भाषण हुन्छ, गीत गाइन्छ, तर शिवनाथजस्ता धेरैका लागि माघी मौन सम्झनाको दिन पनि हो–जहाँ विगतको पीडा र वर्तमानको आशा सँगसँगै बस्छन् । दिउँसो बस्तीमा सखिया नाच सुरु हुन्छ । ढोल र मादलको तालमा युवतीहरू घुम्दै नाच्छन् । १९ वर्षीया रीता थारू भन्छिन्, ‘नाच्दा हामी खुसी मात्र होइन, हाम्रो कथा पनि सुनाउँछौँ ।’ गीतका शब्दमा प्रेम, श्रम, पीडा र सपनाहरू मिसिएका छन् । वृद्धहरू छेउमै बसेर हेर्छन्, कहिलेकाहीँ लयमा टाउको हल्लाउँछन् ।
यो पुस्ता–पुस्ताबीचको मौन संवाद हो–जहाँ शब्दभन्दा अनुभूति गहिरो हुन्छ । सबै थारू आज गाउँमा छैनन् । धेरै युवा रोजगारी र शिक्षाका लागि सहर गएका छन् । जोशीपुरदेखि धनगढीमा रोजगारीका लागि आएका २५ वर्षका दीपक थारू भन्छन्, ‘यहाँ माघी मनाउँदा रमाइलो त हुन्छ, तर गाउँको जस्तो आत्मा हुँदैन ।’
सहरमा माघी महोत्सव हुन्छ, स्टेज कार्यक्रम हुन्छ, तर सामूहिक निर्णय, चौतारोको छलफल र बस्तीको गन्ध कम महसुस हुन्छ । दीपक भन्छन्, ‘हामी संस्कृति देखाउँछौँ, तर बाँच्न अझै सिक्दैछौँ ।’ शिक्षित युवाहरू भने माघीलाई नयाँ ढंगले बुझ्न थालेका छन् । उनीहरू सामाजिक सञ्जालमा माघीको कथा लेख्छन्, फोटो र भिडिओमार्फत संस्कृति चिनाउँछन् । २८ वर्षीया मञ्जु थारू भन्छिन्, ‘हामीले माघीलाई नाचगानमा मात्र सीमित गर्न हुँदैन । यसको इतिहास र अर्थ पनि सिकाउनुपर्छ ।’
विद्यालयमा थारू भाषा र संस्कृति पढाइनुपर्ने माग पनि बढ्दै गएको छ । माघी नयाँ पुस्ताका लागि पहिचान खोज्ने अवसर बन्दै गएको छ । थारू समुदायमा माघी कुनै एक दिनको उत्सव होइन । यो उनीहरूको जीवनदर्शन हो–जहाँ प्रकृति, श्रम, पीडा र खुसी एउटै धागोमा गाँसिएका छन्। समय फेरिए पनि, स्थान फेरिए पनि, माघिको आत्मा अझै थारू समुदायको हृदयमा धड्किरहेको छ ।
थारू समुदाय भन्छन्– तीन दिन सार्वजनिक बिदा हुनुपर्छ
थारू समुदायको महान पर्व माघी केवल एउटा सांस्कृतिक उत्सव मात्र होइन, यो उनीहरूको नयाँ वर्ष, सामाजिक पुनर्संरचना, परम्परा र पहिचानसँग गहिरो रूपमा जोडिएको पर्व हो । हरेक वर्ष माघ १ गते मनाइने माघी थारू समुदायका लागि वर्षभरिको सबैभन्दा महत्वपूर्ण चाड हो । यही पर्वको अवसरमा थारू समुदायले लामो समयदेखि तीन दिन सार्वजनिक बिदा दिन माग गर्दै आइरहेको छ । तर, यस वर्ष सुदूरपश्चिम प्रदेश सरकारले माघीको अवसरमा पुस ३० गतेमात्र सार्वजनिक बिदा दिएपछि राज्यको समावेशी चरित्रमाथि प्रश्न उठेको छ ।
संघीय सरकारले माघ १ गते सार्वजनिक बिदा दिएको भए पनि सुदूरपश्चिम प्रदेश सरकारले पुस ३० गतेदेखि माघ ३ गतेसम्म सार्वजनिक बिदा दिनुपर्ने मागलाई बेवास्ता गरेको थरुहट–थरुवान अभियन्ता माधव थारूले बताएका छन् । उनका अनुसार माघी थारू समुदायको मात्र नभई सिंगो तराई–थरुहट क्षेत्रको सामाजिक–सांस्कृतिक जीवनसँग गाँसिएको पर्व हो । ‘तीन दिनको बिदा माग्नु विलासिता होइन, हाम्रो ऐतिहासिक, सांस्कृतिक र सामाजिक आवश्यकताको विषय हो,’ उनी भन्छन् ।
थारू संस्कृतिमा माघी एक दिनमा सीमित हुँदैन । माघीअघिका तयारी, माघ १ गतेको मुख्य दिन र त्यसपछिका सामूहिक भेटघाट तथा संस्कारहरू गरी कम्तीमा तीन दिन आवश्यक पर्ने थारू अगुवाहरू बताउँछन् । यही कारण तीन दिन सार्वजनिक बिदा दिनुपर्ने माग निरन्तर उठ्दै आएको हो । थारू समुदायको उल्लेख्य बसोबास रहेको प्रदेशमा सरकार स्वयंले यस्तो निर्णय लिन नसक्नु दुःखद भएको अभियन्ताहरूको भनाइ छ ।
माधव थारू भन्छन्, ‘संघीय सरकारले माघ १ गते बिदा दिएको छ, तर प्रदेश सरकारले थप दुई दिन बिदा दिन सक्थ्यो । हामीले पुस ३० देखि माघ ३ गतेसम्म बिदा माग गरेका थियौँ, तर प्रदेश सरकारले हाम्रो मागलाई गम्भीरतापूर्वक लिएन ।’ उनका अनुसार यसअघि थारू समुदायले मनाउँदै आएको अटवारी पर्वमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको थियो ।
‘अटवारीमा बिदा दिन सक्ने सरकारले थारूको नयाँ वर्ष र सबैभन्दा ठूलो पर्व माघीमा किन सकेन ? यसले प्रदेश सरकारले थारू समुदायलाई हेर्ने दृष्टिकोण कस्तो छ भन्ने प्रष्ट देखाउँछ,’ उनी थप्छन् । नेपालको संविधानले बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक राज्यको परिकल्पना गरेको छ । विभिन्न समुदायका मौलिक संस्कृति र पर्वलाई सम्मान गर्नु राज्यको दायित्व हो । तर, व्यवहारमा यस्तो समावेशी सोच कार्यान्वयन हुन नसकेको थारू अगुवाहरूको आरोप छ ।
थारू समुदायका बुद्धिजीवीहरू भन्छन्, ‘हामीले बारम्बार आफ्ना पर्वको मान्यता माग्दै आएका छौँ । तर, राज्यले कहिले नसुन्ने, कहिले बेवास्ता गर्ने प्रवृत्ति देखाइरहेको छ ।’ उनीहरूका अनुसार बिदाको सवाल केवल छुट्टीको विषय होइन, यो सम्मान, पहिचान र अधिकारसँग जोडिएको मुद्दा हो । माधव थारू भन्छन्, ‘हामी टकराव होइन, सम्मान चाहन्छौँ । राज्यले हाम्रो पर्वलाई हाम्रो दृष्टिले हेरोस् भन्ने हाम्रो माग हो ।’ उनका अनुसार प्रदेश सरकारले आफ्नो निर्णय पुनर्विचार गर्दै आगामी वर्षदेखि माघीमा तीन दिने बिदा सुनिश्चित गर्नुपर्छ ।
कैलालीका पालिकामा सार्वजनिक बिदा
थारू समुदायको सांस्कृतिक पर्व माघीको अवसरमा कैलाली जिल्लाका विभिन्न स्थानीय तहहरूले सार्वजनिक बिदा घोषणा गरेका छन् । माघी पर्व थारू समुदायको प्रमुख चाड भएकाले यस अवसरमा कर्मचारी र स्थानीय जनताले उत्सवपूर्वक पर्व मनाउन सकुन् भन्ने उद्देश्यले बिदा निर्णय गरिएको हो । धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका, भजनी नगरपालिका, जानकी गाउँपालिका, घोडाघोडी नगरपालिका, लम्कीचुहा नगरपालिका, कैलारी गाउँपालिका र टीकापुर नगरपालिकाले फरक–फरक मितिमा स्थानीय बिदा घोषणा गरेका छन्। यी निर्णय नगर कार्यपालिकाको बैठकमार्फत गरिएका हुन् ।
भजनी नगरपालिकाले माघी पर्वको अवसरमा माघ २ गते सार्वजनिक बिदा रहने निर्णय गरेको छ । नगर कार्यपालिकाको पुस २७ गतेको बैठकमा यो निर्णय अनुमोदित भएको हो । यस दिन नगर कार्यपालिकाको कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था र शैक्षिक संस्थाहरूमा बिदा हुनेछ । भजनी नगरपालिकाले बिदाको निर्णयसँगै सम्पूर्ण नगरवासीलाई माघी पर्वको मंगलमय शुभकामना व्यक्त गरेको छ । जानकी गाउँपालिकाले पनि थारू समुदायको मुख्य पर्व माघीको अवसरमा माघ २ गते बिदा दिने निर्णय गरेको छ ।
गाउँ कार्यपालिकाको पुस १५ गतेको बैठकमा यो निर्णय स्वीकृत भएको थियो । गाउँपालिकाका कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था तथा विद्यालयहरूमा बिदा हुनेछ । जानकी गाउँपालिकाले बिदासँगै पर्वको महत्वबारे नागरिकहरूलाई जानकारी गराउने उद्देश्य राखेको छ ।
घोडाघोडी नगरपालिकाले माघी पर्वको अवसरमा माघ २ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नगर कार्यपालिकाको पुस २९ गतेको बैठकको निर्णयअनुसार नगरपालिकाभित्रका सबै कार्यालय, संघ संस्था र शिक्षण संस्थाहरूमा बिदा हुनेछ ।
लम्कीचुहा नगरपालिकाले माघी पर्वको अवसरमा माघ २ गते बिदा रहने निर्णय गरेको छ । नगर कार्यपालिकाको पुस २७ गतेको बैठकमा अनुमोदित निर्णयअनुसार लम्कीचुहा नगरपालिका अन्तर्गतका सबै कार्यालय, संघ संस्था र शिक्षण संस्थाहरूमा बिदा हुनेछ । टीकापुर नगरपालिकाले पनि माघी पर्वको अवसरमा माघ २ गतेलाई सार्वजनिक बिदा घोषणा गरेको छ । नगर कार्यपालिकाको ५९औँ बैठक पुस २१ गते सम्पन्न भएको निर्णयअनुसार बिदा हुनेछ ।
कैलारी गाउँपालिकाले माघ २ र ४ गते स्थानीय बिदा दिने निर्णय गरेको छ । गाउँपालिकाको हिउँदे अधिवेशनको पहिलो बैठकबाट उक्त निर्णय गरिएको हो । थारू समुदायको माघ पर्व पुस महिनाको अन्तिम दिनदेखि जितिया मर्ना दिनबाट सुरु हुन्छ । यसै क्रममा सुदूरपश्चिम प्रदेश सरकारले माघ ३० गतेसम्म बिदा दिएको छ ।
गोदावरी नगरपालिकाले पनि माघ २ गते सार्वजनिक बिदा तोकेको छ भने धनगढी उपमहानगरपालिकाले पनि सोही दिन सार्वजनिक बिदा दिएको जनाएको छ । कैलारी गाउँपालिकामा माघ २ गते बिदा, ३ गते शनिबार, ४ गते गाउँपालिकाको बिदा र ५ गते सोनाम ल्होसारको बिदा परेकाले माघ ६ गतेदेखि कार्यालय खुल्ने जनाइएको छ ।









प्रतिक्रिया दिनुहोस्