वीरेन्द्र जैसी । नेपालगन्ज ।
वैदिक ज्योतिषशास्त्रअनुसार माघ १ गतेबाट सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्छ । अर्थात् अब पृथ्वीको उत्तरी गोलार्ध सूर्यको नजिक सर्दै जान्छ । यसको अर्थ नेपाल रहेको उत्तरी गोलार्धमा अब विस्तारै न्यानो बढ्दै जानेछ । चिसो मौसमबाट तातो मौसमतिर लाग्ने भनेर ज्योतिषशास्त्रले मानेको यही माघ १ गतेलाई देशभर माघेसंक्रान्ति पर्वका रूपमा मनाइन्छ । प्रायः चाडबाडहरू कुनै वैदिक वा पौराणिक घटनाको शास्त्रीय व्याख्यामा आधारित हुने गरेकोमा माघे संक्रान्ति भने पृथ्वीको घुमाइले ल्याउने मौसम परिवर्तनको समयलाई आधार मानेर मनाइने मूलतः सांस्कृतिक चाड मानिन्छ ।
हिन्दु धार्मिक मान्यताअनुसार माघ १ गते मात्रै नभई पूरै माघ महिनानै पवित्र महिना हो । सांस्कृतिक विविधतापूर्ण नेपालका थारू, मगर र किराँत समुदायले नयाँ वर्षको रूपमा पनि यस दिनलाई मनाउँछन् । मौसम परिवर्तनको समयलाई उत्सवको रूपमा मनाइने यस पर्वको विभिन्न समुदायअनुसार मनाउने विधिपरम्परा पनि भिन्नाभिन्नै छन् । त्यसैले यस पर्वका नामहरू पनि एकै छैनन् । कसैले यस पर्वलाई माघे सङ्क्रान्ति भन्छन् भने कसैले तिलुवा सङ्क्रान्ति, मकर सङ्क्रान्ति, माघी वा माघ पर्व भने कसैले खिचडी भनेर चिन्छन् ।
आ–आफ्नै विशेषता र सांस्कृतिक महत्वका साथ माघ महिनालाई उत्सवको रूपमा मनाउने यो पर्व मनाउने तरिकहरू मूलतः जाडो मौसम र त्यस अनुकूलको आहारविहारमा आधारित छन् । हिन्दु धार्मिक मान्यताअनुसार माघ महिनालाई दान–पुण्य, धर्म–कर्म र त्यागको महिना मानिन्छ । माघ नक्षत्रको नाममा यस महिनाको नाम माघ रहेको हो।
माघ महिनामा मानिसले कम्तीमा एकपटक कुनै पवित्र नदीमा स्नान गरेमा, पूजा–अर्चना र स्नान ध्यान गरेमा पुण्य लाभ मिल्ने विश्वास रहिआएको छ । माघ महिनामै कृष्ण पक्षमा मौनी औँसी, वसन्त पञ्चमी, माघ शुक्ल पक्षको अचला सप्तमी व्रत, माघी पूर्णिमा जस्ता दिनहरूलाई पनि पर्वको रूपमा मनाउने गरिन्छ । यस हिसाबले माघ महिनाको सुरुवातको दिन माघ १ गते देशभर आज पवित्र चाडको रूपमा मनाइँदै छ ।
मिष्ठान्न खाने पर्व
माघे संक्रान्तिको सन्दर्भमा एउटा चर्चित उखान छ, ‘पुसको पाक्य, माघको खाक्य’ । अर्थात् पुसमा पकाएर माघमा खाने । परम्परागत चलनअनुसार पुसको अन्तिम दिन राति तयार गरिएका घिउ, तिल, चाकु, लड्डु, सेलरोटी, तरुल, कन्दमुल लगायतका परिकारहरू माघ महिना खाने प्रचलन माघे संक्रान्तिको मूल सांस्कृतिक क्रियाकलाप हो । नेपालको सबैजसो समुदायले माघे संक्रान्तिलाई धार्मिक रूपले पवित्र महिना सुरु भएको मान्यताले प्रेरित भएर मनाउने गर्दछन् । साथै यस पर्वमा घिउ, तिल, चाकु र मिष्ठान्न खाएर रमाउने परम्परा छ ।
यस्ता परिकारले शरीरलाई न्यानो प्रदान गर्दछन् । माघे संक्रान्तिको दिन बिहान सबेरै स्नान गरेर रुद्री या सत्यनारायण भगवानको पूजा लगाउने पनि गरिन्छ । प्रायः सबै समुदायमा चेलीबेटीलाई मिष्ठान्न परिकारसहितको उपहार र दक्षिणा दिने चलन रहिआएको छ । माघ महिनाभरि नै नदी तटमा गएर स्नान गर्ने गरिन्छ, जसलाई मकर स्नान भनिन्छ । महाभारतमा भीष्म पितामहले माघे संक्रान्तिकै दिन मृत्युको इच्छा जाहेर गरेर बिदा भएको कुरा महाभारतमा उल्लेख छ ।
मगर समुदायको प्रमुख पर्व
माघे संक्रान्तिलाई मगर समुदायले पनि आफ्नो राष्ट्रिय पर्व र प्रमुख पर्वका रूपमा मनाउँछन् । मगर समुदायले पनि नयाँ वर्षको सुरुवातका रूपमा मनाउने यस चाडलाई चेलीबेटी पुज्ने र पितृपूजा गर्ने पर्वका रूपमा मनाउने मौलिक पक्ष रहेको छ । क्षेत्रअनुसार मगरहरूको संस्कार, संस्कृति र जीवनशैली केही फरक भए पनि माघे संक्रान्ति पर्व मनाउने सम्बन्धमा त्यति भिन्नता छैन । पितृ र चेलीबेटी पुज्ने परम्परा सबै क्षेत्रका मगर समुदायमा साझा रूपमा रहेको छ ।
मगर समुदायले पुस मसान्तको बेलुकी घरघरमा सेलरोटी, बारा, सखरखण्ड, तरुल पकाएर माघमा खाने गरिन्छ । माघ १ गते घर लिपपोत गरी सबेरै खोला, पधेँरोमा गएर स्नान गरी पवित्र भएर पितृलाई ‘डिँ डाके’ अर्थात् पानी चढाइन्छ । पितृलाई पानी चढाइसकेपछि दाजुभाइहरूले भने खाली पेटमै दिदीबहिनी पुज्ने गर्छन् । थालमा चामलसहित तरुल, पुरी, मिठाइ आदि खानेकुरा र दक्षिणा राखेर दिदीबहीनीलाई उपहार दिने चलन छ । यसलाई मगर भाषामा निस्रो भनिन्छ ।
यस्तो निस्रो गाउँघरका दिदीबहिनीका लागि पनि बाँड्ने चलन छ । यही निस्रो लिएर दिदीबहिनीहरू भोलिपल्ट वनभोज जाने पनि गर्छन् । डिँ डाके र निस्रो सकिएपछि खाली पेटमा सक्खरखण्ड, तरुल, खिचडी खाने गरिन्छ भने दिउँसो सुँगुर, कुखुराको मासु खाँदै नाचगान गर्ने चलन छ। मगर समुदायमा गाउँभरिका पुरुषहरू भेला भएर तारो हान्ने चलन पनि छ । जसले काठको फल्याकमा अँगारले बनाएको गोलो चिह्नमा निसाना लगाउँछ, त्यसलाई तितेपाती लगाई सम्मान साथ काँधमा बोकेर गाउँ घुमाउने र खानेकुरा खुवाउने प्रचलन रहेको छ ।
मधेशी समुदायको खिचडी पर्व
माघे संक्रान्ति मनाउने शास्त्रीय मान्यता एकै भए पनि मधेशी समुदायले माघे संक्रान्तिमा खिचडी खाएर मनाउने गर्दछन् । जाडो मौसममा शरीरलाई न्यानो बनाउने परिकार खिचडी खाएर मनाउने यस पर्वलाई मधेशी समुदायले सामूहिक रूपमा खिचडी खाने कार्यक्रम आयोजना गर्ने गरेका छन् । नेपालगन्ज र बाँकेका विभिन्न स्थानमा पनि खिचडी खाने सामूहिक कार्यक्रम आयोजना गरिँदै छन् । विरगञ्जलगायतका सहरमा खिचडी खाने दिनलाई महोत्सवकै रूपमा मनाइने कार्यक्रम तय गरिएको छ ।
अवधि संस्कृतिका जानकार विष्णुलाल कुम्हालका अनुसार खिचडी सबैभन्दा प्राचीन अन्नमध्ये एक हो । बिरामी हुँदा पनि सजिलैसँग पचाउने भोजनका रूपमा रहेको उक्त भोजन स्वस्थकर मानिने प्रचलन रहेको कुम्हालले बताए । उनले जाडोको महिनामा खाइएका कडा खानाहरू कम गर्ने दिनको सुरुवातका रूपमा खिचडी खाने गरिएको पनि बताए । अर्काेतिर धार्मिक मान्यताअनुसार मासको दाल, चामल, घिउ र नुन मिसाएर बनाइएको ‘खिचडी’ले विभिन्न ग्रहहरूको सन्तुलनको प्रतिनिधित्व गर्ने मान्यता छ ।
चामलले चन्द्रमा, मासको दालले शनि, घिउले सूर्य, बेसार बृहस्पति र नुन शुक्र ग्रहको प्रतीक मानिने धार्मिक मान्यता छ । त्यसैले खिचडी खानुलाई स्वास्थ्य र आध्यात्मिक सन्तुलनका लागि शुभ मानिने उनले बताए । वैज्ञानिक रूपले पनि खिचडी खानु स्वास्थ्यबद्र्धक मानिन्छ । तातो खिचडीले शरीरलाई ऊर्जा दिने हुनाले यसको वैज्ञानिक महत्व पनि उत्तिकै छ ।
मधेशी समुदायमा पनि माघे संक्रान्तिका दिन बिहानै नजिकैको नदी, पोखरी वा जलाशयमा गएर नुहाउने चलन पनि छ । खाना खानुअघि चामल, दाल, नुन र तिलको सिदा छुट्याएर ब्राह्मण वा गरिबलाई दान दिने परम्परा पनि छ । माघ संक्रान्ति मधेशमा छोरी–चेली र आफन्तहरूलाई बोलाएर स्वागत गर्ने प्रचलन पनि छ ।
नेवार समुदायको ‘घ्यःचाकु संल्हु’
यस दिन घिउ चाकु खाइने भएकाले यसैको नामबाट नेवारी समुदायमा यस दिनलाई घ्यःचाकु संल्हु अर्थात् घिउ र चाकु संक्रान्ति नाम दिइएको छ । माघे संक्रान्तिमा चाकुमा तिल मिसाएर लड्डु बनाएर खाने तथा दान दिने प्रचलन पनि रहेको छ । माघे संक्रान्तिका दिन नेवार समुदायले बिहान सबेरै नित्य पूजा गरेपछि विभिन्न देवदेवीलाई घिउ, चाकु, साकसला र काँचो तरुल राखेर चढाउने गर्छन् । त्यस्तै, पितृलाई पनि घिउ र चाकु चढाउने गरिन्छ ।
देवदेवीको पूजापछि आफूभन्दा ठूला मान्यजनबाट ज्वानो राखेर तताइएको तोरीको तेल टाउकामा लगाइदिने प्रचलन पनि रहेको छ । जाडो समयमा तोरीको तेल टाउकामा लगाएर घिउ, चाकु, चिउरा, तरुल जस्ता पोसिलो वस्तु खाँदा शरीर तातो भई ऊर्जा पैदा हुने जनविश्वास छ । विवाहित चेलीबेटी यस दिन माइती बोलाई घीउचाकु खुवाउने प्रचलन छ भने दान गर्ने परम्परा पनि रहिआएको छ । नेवार समुदायले यसदिन तिलमाधव देवताको पूजाअर्चना पनि गर्ने गर्छन् ।
किराँतको पनि नयाँ वर्षको चाड
थारू र मगर समुदायजस्तै किराँत समुदायले पनि माघे संक्रान्तिलाई किराँत नयाँ वर्ष सुरु भएको दिनका रूपमा मनाउँछन् । पूर्वमा ताप्लेजुङसँगै पाँचथर, तेह्रथुम, इलाम, धनकुटा र संखुवासभामा बसोबास गर्ने लिम्बू समुदायले किराँती राजा यलम्बरको शासन सत्ताको इतिहाससँग जोडिएकोले किराँत नयाँ वर्षका रूपमा माघे संक्रान्तिलाई मनाउँछन् । माघ १ बाट उच्च पहाडमा पाइने दुर्लभ प्रजातीको सेतो चाँप फुल्ने भएकाले मकर संक्रान्तिलाई ककफेवा तङनाम नाम पनि दिइएको छ । माघे संक्रान्तिको दिन लिम्बूहरू परम्परागत भेषभूषामा सजिएर धान नाच र च्याबु्रङ नाच्ने परम्परा रहेको छ ।
सुदूरपश्चिमको ‘चेली तिहार’
सुदूरपश्चिम प्रदेशमा पहाडी समुदायले माघे संक्रान्तिलाई विशेष गरी ‘चेली तिहार’का रूपमा मनाउने गर्छन् । माघे संक्रान्तिका दिन विवाह भएर गएकी छोरी, दिदीबहिनी अर्थात् चेलीलाई माइतीमा बोलाउने र आउन नसकेमा चेलीको घरमै गएर मिष्ठान्न उपहार दिने चलन छ । चेली माइतीघर आएर केही दिन बस्ने, आफन्तसँग भेटघाट गर्ने र पारिवारिक सुख–दुःख साटासाट गर्ने परम्परा पनि रहँदै आएको छ । सुदूरपश्चिममा माघे संक्रान्तिका अवसरमा घिउ–चाकु, तिलको लड्डु, सेलरोटी, तरुल, सखरखण्डजस्ता परिकार पनि पकाइन्छ । यीनै परिकार चेलीलाई दिने कोसेलीका रूपमा पनि पठाइन्छन् ।
बहुआयामिक महत्वको माघ स्नान
हिन्दू धार्मिक मान्यताअनुसार माघे संक्रान्तिका दिन गरिने माघ स्नानको आफ्नै महत्व रहेको छ । विशेषगरी माघ शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म गरिने माघ स्नानलाई आत्मशुद्धि, पुण्य प्राप्ति र मोक्षमार्गतर्फ उन्मुख गराउने धार्मिक कर्मका रूपमा लिइन्छ । माघ संक्रान्तिमा नदी, तीर्थ वा पवित्र जलाशयमा स्नान गर्दा मन, वचन र कर्मबाट गरिएका पाप नष्ट हुन्छन् । विशेषगरी गंगा, यमुना, सरस्वतीजस्ता पवित्र नदीमा स्नान गर्नुलाई सर्वोत्तम मानिन्छ । नेपालमा देवघाट, त्रिवेणी, कोशी, कालीगण्डकी, रिडी, बागमतीलगायत स्थानहरूमा माघ स्नानका लागि भक्तजनको ठूलो घुइँचो लाग्ने गर्छ । शास्त्रमा माघ स्नानलाई हजारौँ दान र यज्ञभन्दा श्रेष्ठ बताइएको पाइन्छ ।
पौराणिक कथनअनुसार देवता र दानवबीच भएको समुद्र मन्थनपछि प्राप्त अमृतका थोपा माघ महिनामा तीर्थस्थलहरूमा झरेको विश्वास छ । यही कारण माघ महिनामा तीर्थ स्नानको विशेष महत्व रहँदै आएको मान्यता छ । साथै, भगवान विष्णु र सूर्यदेवको आराधनासँग पनि माघ स्नान जोडिएको छ । स्नानपछि विष्णु पूजन, सूर्यलाई अघ्र्य दिने, तिल, घिउ, चामल, नुन, गुड आदिको दान गर्नुलाई अत्यन्त पुण्यदायी मानिन्छ । धेरैजसो साधु–सन्त र भक्तजन माघभर व्रत बस्ने, मौन साधना गर्ने र दान–पुण्यमा लाग्ने गर्छन् ।
थारू समुदायको सबैभन्दा ठूलो चाड र नयाँ वर्ष
माघे संक्रान्ति थारू समुदायले मनाउने सबैभन्दा ठूलो चाड हो । थारू समुदायले माघे संक्रान्तिलाई माघ पर्वको रूपमा पुस अन्तिम दिनदेखि माघ २ गतेसम्म धुमधामपूर्वक मनाउने गर्छन् । थारू समुदायले मनाउने यस पर्वमा नाचगानदेखि वर्षभरीको निर्णय लिने परम्परागत सामाजिक प्रणालीको अभ्यास गर्ने कामसमेत गरिन्छ ।
पुस महिनाबाटै परिकारहरूको जोहो गर्न सुरु गरिने यस पर्वमा थारू समुदायले माघको पहिलो दिन मासुका लागि बंगुर काट्ने र ढिक्री, घोंगी लगायतका मौलिक परिकारहरू तयार गर्ने गर्छन् । यस दिन सामूहिक रूपमा बंगुर काटेर मासु खाने चलन पनि छ । माघ १ गते बिहानै नदी, तलाउ, खोलामा नुहाएर आफूभन्दा ठूलालाई ढोग्ने र सानालाई आशीर्वाद दिने सांस्कृतिक परम्परा छ ।
माघ २ गते भने गच्छेअनुसारको दान दक्षिणा र मिष्ठान्न चेलीबेटीहरूलाई पु¥याउन जाने चलन छ, जसलाई निसराउ भनिन्छ । माघ पर्वमा थारू समुदायले ढिक्री, माछा, मासु, घोङी, थारू आलुको अचार, खँरियाजस्ता परिकारहरू पकाएर खाने गर्दछन् । थारू संस्कृतिविद् तथा अध्येता शत्रुघन चौधरीका अनुसार माघ पर्व रिसराग, आपसी वैमनस्यता, झैझगडा सबै बिर्सेर एक आपसमा आत्मियता दर्शाउने पर्व हो । पुस महिनाको अन्त्यतिरबाटै मादलको धुन र घर फर्किनेहरूको चहलपहलले माघ पर्वको रौनक सुरु हुने गरेको छ ।
चिसो मौसममा धुनी बालेर आगो ताप्दै नाचगान गरी जाग्राम बस्ने, भजनकीर्तन गर्ने गरिन्छ । माघ महिनामा थारू समुदायले मघौटा, ढमार, ढुमरु गीत नाचगान गर्दैै रमाउने गर्दछन् ।
थारू समुदायको नेता चुन्ने महिना सुरु
माघ १ गतेबाट थारू संवत् पनि सुरु हुन्छ । यस वर्षबाट थारू संवत् २६५० पुगेको थारू संस्कृतिका अध्येता र इतिहासकारहरूको मत छ । नेपालको तराई क्षेत्रमा बसोबास गर्ने आदिवासी समुदायको रूपमा रहेको थारू समुदायले वर्षभरी महत्व राख्ने ठूला निर्णयहरू माघ महिनामै लिने गर्छन् । बडघर वा भलमन्सा चुन्ने परम्परा थारू समाजको सबैभन्दा महत्वपूर्ण सामाजिक–सांस्कृतिक अभ्यासमध्ये एक हो ।
माघीको पर्व सकिएपश्चात् थारू समुदायका घर–घरबाट सदस्यहरू एकत्रित भएर ‘खोज्नी–बोज्नी भेलामा’ बडघर, सहायक, गुरुवा, केसौका र चिरक्याँ जस्ता प्रमुख पदहरूमा समुदायकै व्यक्तिहरूलाई चयन गर्छन् । यसरी सामूहिक स्वीकृतिमा चुनिएको व्यक्तिलाई सामाजिक नेतृत्वको जिम्मेवारी दिने गरिन्छ । बडघर वा भलमन्सा त्यो व्यक्ति हो जसलाई गाउँको सामाजिक, धार्मिक तथा सांस्कृतिक पक्षका कामको नेतृत्व गर्छ ।
बडघरले गाउँभित्रको एकता, सद्भाव र परम्परागत नियम–कानुनको पालना गर्ने गराउने कामको अगुवाइ गर्छ । बडघरले समुदायका ठूला चाडपर्व, पूजा–अर्चना, विवाह, मृत्युसंस्कार र अन्य सामाजिक कार्यक्रम आयोजनाको अगुवाइ पनि गर्छन् । यसका साथै, उनीहरूले समूहभित्रको स–साना विवाद समाधान गर्न, सामाजिक नियमसंहिता लागू गर्न र समुदायलाई एकीकृत राख्न पनि भूमिका निर्वाह गर्छन् ।









प्रतिक्रिया दिनुहोस्