११ हजार ८०४ बचतकर्ताको करिब ४३ करोडभन्दा बढी बचत अपचलनपछि ६ वर्षयता बन्द रहेको नेपालगन्जस्थित सहकारी वित्तीय विकास संस्था लिमिटेडको तदर्थ समिति गठन भई सहकारीको साधारणसभा आयोजना गर्ने तयारीमा छ । एक हजार पाँच सय २६ जना जाहेरीकर्ता रही अदालतमा दायर मुद्दामा अदालतले दिएको तदर्थ समिति गठनको निर्णय कार्यान्वयन गराउन दुई वर्ष लाग्यो । त्यो आदेश कार्यान्वयन गराउन पनि अनशन बस्नुपर्ने स्थिति आएको थियो । अब तदर्थ समितिले सहकारीको साधारणसभा बोलाई नयाँ सञ्चालक समिति गठन गरेपछि मात्रै बचतकर्ताहरूले बचत फिर्ता पाउने अवस्था सिर्जना हुनेछ । यसै सन्दर्भमा तदर्थ समितिले साधारणसभाका लागि गरिरहेको तयारीका विषयमा तदर्थ समितिका उपसंयोजक हेमन्त कर्माचार्यसँग गरिएको संवादको सम्पादित अंशः
हेमन्त कर्माचार्य, उपसंयोजक तदर्थ समिति सहकारी वित्तीय विकास संस्था लिमिटेड
० सहकारी वित्तीय विकास संस्था लिमिटेडको तदर्थ समितिले अहिले के गरिरहेको छ ?
अहिले तदर्थ समितिलाई दिइएको जिम्मेवारी भनेको सहकारीको साधारणसभाको आयोजना गरेर नयाँ कार्यसमिति गठन गर्ने हो । हामीले तीन महिनाभित्र साधारणसभा सम्पन्न गरिसक्नुपर्नेछ । त्यसका लागि मिति तोकेर तयारी अघि बढाउने विषयमा छलफल भइरहेको छ ।
० तदर्थ समितिलाई अहिले चुनौती के–के छन् ?
यसमा मुख्य चुनौती भनेको साधारणसभा र सञ्चालक समिति निर्माण गर्ने प्रक्रियामै चुनौती हुनसक्ने देखिन्छ । संस्थाको कोषमा पनि खाली नै रहेको देखिन्छ । अर्काे चुनौती सहकारीको सञ्चालक समितिमा बस्न योग्य सेयर सदस्यहरूको पहिचान नै हुने पनि देखिन्छ । केहीलाई १० हजार रूपैयाँँ लिएको तर खाली मौखिक रूपमा तपाईँहरू सेयर सदस्य हुनुहुन्छ मात्रै भनेको स्थिति पनि देखिएको छ । सेयर प्रमाणपत्र नदिएको अवस्था पनि रहेछ । कतिपय फर्जी बचतकर्ता र सेयर सदस्य बनाएको स्थिति पनि देखिन्छ । यस्तो अवस्थामा मतदाता र उम्मेदवारहरूको पहिचान गर्दा नै चुनौतीहरू आउन सक्छन् ।
० बचतकर्ताको हातमा बचत फिर्ता नआएसम्म पीडितले न्याय पाएको अनुभूति हुने अवस्था देखिन्न । बचतकर्ताले आफ्नो फिर्ता आउने अवस्था आउला ?
मलाई त के लाग्छ भने पहिला त बचतकर्ताको वर्गीकरण गर्नुपर्छ होला । यो अब निर्वाचित हुने कार्यसमितिको जिम्मेवारीमा पर्ने कुरा हो । तत्काल फिर्ता गर्नुपर्ने र केही समय कुर्न सक्ने बचतकर्ताहरू छुट्याएर हातमुख जोड्नै समस्यामा रहेका र तत्काल बचत फिर्ता गर्नुपर्ने अवस्थाका बचतकर्ताहरूलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ । संस्थाको कोषमा मौज्दात सायदै होला जस्तो मलाई लाग्छ । त्यसकारण ऋणीहरूबाट ऋण फिर्ता गराएर सहकारीको सम्पत्ति छ भने त्यसलाई बेचबिखन र लिलाम गरेर पनि केही रकम सञ्चित हुनसक्छ भने त्यो एउटा आधार हुन्छ । यसका लागि राम्रै कार्ययोजना बनाएर जानुपर्छ । सञ्चालक समिति गठन भइसकेको अवस्थामा चुनौतीहरू अझै बढी छ । यो तदर्थ समितिले आफ्नो जिम्मेवारी पूरा गर्न सजिलै छ, तर निर्वाचित भएर आउने समितिसँग अझै ठूला चुनौतीहरू छन् । अपलचन मुद्दाका प्रतिवादीहरू जसले ऋण तिरेका छैनन्, उनीहरूसँग पनि बिगो फिर्ता गर्ने सम्बन्धमा छलफल गरेर फिर्ता गराउनतिर पनि पहल गर्न सकिने सम्भावना रहन्छ ।
० कतिपय प्रतिवादीहरू राजनीतिक दलको आडमा छन् पनि भनिन्छ । पीडितहरूलाई न्याय दिने सम्बन्धमा राजनीतिक दल र सरोकारवालाहरूको कस्तो सहयोग आवश्यक छ ?
यसमा सहकारीको समस्या लम्बिनुमा पनि राजनीति संलग्नता पनि एक कारण पक्कै हो । राजनीतिक दलहरूको भूमिका बचतकर्तारुलाई न्याय दिलाउन काममा सहयोगीको रूपमा रहनुपर्छ । कतिपय प्रतिवादीहरू राजनीति दलहरूसँग आबद्ध रहेको देखिन्छ । त्यस्ता व्यक्तिहरूलाई तिमीहरूले खाएको रकम फिर्ता गर भनेर राजनीति नेतृत्वले पनि भन्नुपर्छ । राजनीतिक प्रभावको दुरुपयोग गर्नसक्ने अवसर दिनुहुन्न । राजनीति दलहरूले यत्ति भूमिका खेलिदिए भने पनि धेरै हदसम्म पीडितलाई न्याय दिन सघाउ पुग्छ भन्ने मलाई लाग्छ ।
० सहकारीको समस्या समाधान जिम्मेवार सरकारी निकायहरू निष्क्रिय रहनुका कारण समस्या झन् लम्बियो भन्ने आरोप पनि छ । उनीहरूलाई झकझक्याउन अनशन नै बस्नुप¥यो । अब ती निकायहरूको कस्तो भूमिका अपेक्षा गरिएको छ ?
मैले पहिलेदेखि नै भन्दै आएको छु, सहकारीसम्बन्धी निकाय मात्रै होइन, जिल्ला जिल्लामा सहकारी संघहरू छन्, उनीहरू पनि यस्ता समस्या समाधानका लागि सहयोगी बन्नुपर्छ । समग्र सहकारीको छवी बिग्रन नदिन उनीहरू पनि अग्रसर हुनुपर्छ । जेजस्तो भयो अब त्यसलाई दोहोरिन नदिन उनीहरूको त ठूलो भूमिका छ । अरु निकायले पनि यसलाई कसरी निकास दिने भन्ने विषयमा सघाउनुपर्छ । यो समस्याले राम्रो निकास पाएमा सहकारीप्रति सर्वसाधारणको दृष्टिकोणमा सुधार आउँछ । यतिखेर सहकारीप्रतिको दृष्टकोण सुधार्न उदाहरणीय काम गर्ने अवसर पनि छ । आउँदो सञ्चालक समितिलाई अगाडिको रोडम्याप तयार गरिदिन सम्बद्ध सबै निकायको ठूलो भूमिका रहनेछ । उनीहरूले यो समस्या समाधानका लागि हातेमालो गर्नैपर्नेछ ।









प्रतिक्रिया दिनुहोस्