तत्कालीन अध्यक्षसहित ६ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर



बझाङ : विशेष अदालतले बझाङको खप्तडछान्ना गाउँपालिकाका तत्कालीन अध्यक्ष, वडाध्यक्ष र कर्मचारीसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । सिम्लका घट्ट सिँचाइ कुलो निर्माणमा नक्कली कागजात तयार पारी भ्रष्टाचार गरेको अभियोगमा उनीहरूलाई कैद र जरिवानाको सजाय सुनाइएको हो ।न्यायाधीश तेजनारायण सिंह र रामबहादुर थापाबीच राय बाझिएपछि आइतबार विशेष अदालतका न्यायाधीश डिल्लीरत्न श्रेष्ठको इजलासमा पेश भएको थियो । तेजनारायण सिंहले ६ जनालाई दोषी ठहर गर्ने रायमा न्यायाधीश श्रेष्ठले समर्थन गरेसँगै खप्तडछान्ना गाउँपालिकाका तत्कालीन अध्यक्ष वर्कबहादुर रोकाया, वडा नं. ४ का वडा अध्यक्ष भिमबहादुर रोकाया, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत दीपककुमार रावल, इन्जिनियर सुरेन्द्रबहादुर खाती, असिस्टेन्ट सबइन्जिनियर जनक थापा मगर र उपभोक्ता समितिका अध्यक्ष शमशेर रोकाया दोषी ठहर भएका हुन् ।


अदालतले दोषी ठहरिएका ६ जनालाई नै जनही ६ महिना कैद र २५ हजार रूपैयाँ जरिवाना गर्ने फैसला गरेको छ । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिमको कसुरमा गाउँपालिका अध्यक्षसहित ५ जनालाई र सोही ऐनको दफा २२ बमोजिम मतियारको रूपमा उपभोक्ता समितिका अध्यक्ष शमशेर रोकायालाई समान सजाय सुनाइएको हो ।प्रतिवादीहरूले बहसका क्रममा ‘भुलवश’ कागजात तयार भएको र पछि सच्याइएकाले भ्रष्टाचारको नियत नभएको दाबी गरेका थिए । तर, विशेष अदालतले ‘विभिन्न तहगत प्रक्रियाबाट योजना नै नभएको ठाउँमा सम्झौता गर्ने, अनुगमन प्रतिवेदन बनाउने र चेक काट्नेसम्मको कार्य हुनुलाई भुलवश मान्न नसकिने’ ठहर गरेको छ ।

फैसलामा भनिएको छ, ‘बहुव्यक्तिहरूको संलग्नतामा तहगत रूपले भएको कार्यलाई भुलवश भएको भन्न मिल्ने अवस्था देखिएन ।’ यस मुद्दामा अर्का एक प्रतिवादी मदनराज जोशीले भने सफाइ पाएका छन् ।बझाङको खप्तडडछान्ना गाउँपालिका वडा नं. ४ स्थित सिम्लका घट्ट सिँचाइ कुलो निर्माणको काम आर्थिक वर्ष २०७६–०७७ मै सम्पन्न भइसकेको थियो । तर, सोही कामलाई आव २०७७–०७८ को नयाँ योजना भनी नक्कली उपभोक्ता समिति गठन, लागत अनुमान, सम्झौता, र कार्य सम्पन्न प्रतिवेदन समेतका झुटा कागजात तयार पारिएको थियो ।ती झुटा कागजातका आधारमा १४ लाख ८ हजार ८१७ रूपैयाँ भुक्तानीका लागि चेकसमेत जारी गरिएको थियो । यद्यपि, भुक्तानी हुनुअगावै अनियमितताको कुरा बाहिर आएपछि बैंकलाई पत्राचार गरी उक्त चेक रद्द गरिएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८२ पुस २२ गते मंगलबार