बाँकेमा कर्णाली प्रदेशका सुर्खेत, जाजरकोट, दैलेख, सल्यान र रूकुम पश्चिमबाट सुन्तला भित्रिने गरेको छ । यस्तै, लुम्बिनी प्रदेशका रूकुम पूर्व, गुल्मी, प्युठान र अर्घाखाँची लगायतका जिल्लाहरूबाट सुन्तला बाँके भित्रिने गरेको व्यवसायीहरू बताउँछन् । गण्डकी प्रदेशको स्याङ्जाबाटसमेत सुन्तला बाँके पुग्ने गरेको छ । सुन्तला व्यवसायीहरूका अनुसार बजारमा तीन ग्रेडका सुन्तला पाइन्छन् । ‘ए’, ‘बी’ र ‘सी’ ग्रेडका सुन्तला पाइने गरेको उनीहरूको भनाइ छ ।
कोहलपुर (बाँके) ।
चिसो याम सुरु भएसँगै सुन्तलताको सिजन सुरु भएको छ । बाँकेसहितका जिल्लामा अहिले सुन्तलाको राम्रो कारोबार भइरहेको छ । बाँकेका मुख्य सहरहरू कोहलपुर र नेपालगन्जमा स्वदेशी उत्पादनले राम्रो बजार पाइरहेका छन् । बाँकेमा कर्णाली र लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरूबाट सुन्तला आउने गर्दछन् । यस्तै गण्डकी प्रदेशका केही जिल्लाहरूबाट समेत सुन्तला स्थलमार्गमार्फत बाँके भित्रिने गर्दछ ।
बाँकेमा कर्णाली प्रदेशका सुर्खेत, जाजरकोट, दैलेख, सल्यान र रूकुम पश्चिमबाट सुन्तला भित्रिने गरेको छ । यस्तै, लुम्बिनी प्रदेशका रूकुम पूर्व, गुल्मी, प्युठान र अर्घाखाँची लगायतका जिल्लाहरूबाट सुन्तला बाँके भित्रिने गरेको व्यवसायीहरू बताउँछन् । गण्डकी प्रदेशको स्याङ्जाबाटसमेत सुन्तला बाँके पुग्ने गरेको छ । सुन्तला व्यवसायीहरूका अनुसार बजारमा तीन ग्रेडका सुन्तला पाइन्छन् । ‘ए’, ‘बी’ र ‘सी’ ग्रेडका सुन्तला पाइने गरेको उनीहरूको भनाइ छ । सामान्य भाषामा भन्दा ठूलो, मध्यम र सानो आकारका सुन्तला फरक फरक मूल्यमा बिक्री वितरण भइरहेको छ ।
सुन्तला व्यवसायी मुनबहादुर विष्ट कात्तिक महिना र मंसिर महिनामा सुन्तलाको मूल्य धेरै आकासिएको बताउँछन् । उनका अनुसार कात्तिक महिनामा व्यवसायीहरूले किसानबाट ठूलो सुन्तला प्रतिकेजी ५० देखि ६०, मध्यम सुन्तला ४० देखि ५० र सानो सुन्तला प्रतिकेजी ३० देखि ३५ रूपैयाँमा खरिद गर्थे । बजारमा आएपछि ठूलो सुन्तला ७०, मध्यम सुन्तला ५५ देखि ६० र सानो सुन्तला ४० रूपैयाँसम्म बिक्री वितरण गरिरहेका थिए । मंसिर मसान्तसम्म आइपुग्दा माग बढ्दै जाँदा सुन्तलाको मूल्यसमेत बढ्दै गएको छ ।
उनी भन्छन्, ‘सुन्तलाको माग बढ्दो छ । त्यसैले मूल्यसमेत बढेको छ । यो क्रम पुस महिनाको अन्त्यसम्मै जान्छ,’ । अहिले ठूलो सुन्तला प्रतिकेजी न्युनतम १ सय रूपैयाँ देखि अधिकतम १ सय ५० रूपैयाँसम्म बिक्री भइरहेको छ । मध्यम सुन्तलाको मूल्य प्रतिकेजी १ सय रूपैयाँसम्म खरिद बिक्री भइरहेको छ । सानो सुन्तलाको प्रतिकेजी अधिकतम ७० रूपैयाँ मूल्य रहेको छ । व्यवसायीहरूले सुन्तला कृषि हाट बजार, ठेला, होलसेल र फुटकर रूपमौ बिक्री वितरण गरिरहेका छन् ।
अर्का व्यवसायी छविलाल डाँगी भन्छन्, ‘हामी किसानबाट खरिद गरेर ल्याउँछौँ । साना व्यवसायीहरूले खरिद गरेर लिनुहुन्छ । उहाँहरूले आफू अनुुकूल बिक्री वितरण गर्ने हो । त्यसैले मूल्यमा एकरुपता नभएको हो ।’ उनले आफूहरूले गाडीमा ल्याउँदा व्यक्तिगत खर्च हुने भएका कारण खरिदभन्दा केही प्रतिशत बढी मूल्यमा बेच्ने गरेको समेत बताए । उनका अनुसार खरिदभन्दा ५ देखि १० प्रतिशतसम्म बढाएर बिक्री भइरहेको छ । उनले अहिले बजारमा सुन्तलाको माग धेरै भएको समेत बताए ।
बाहिरी जिल्लाहरूबाट सुन्तला एकपटकमा प्रतिगाडी १८ देखि २० क्विन्टलसम्म ल्याउने गर्दछन् । त्यसरी विभिन्न जिल्लाहरूबाट गाडीमा सुन्तला ल्याएर कोहलपुरमा कारोबार गर्ने अनुमानित १५ देखि २० जना व्यवसायी छन् । अर्का व्यवसायी भानुभक्त भण्डारीका अनुसार सुन्तला व्यापार मौसमी हो । त्यसैले व्यवसायीले आफूलाई नाफा आउने गरेरै बिक्री वितरण गर्छन् ।
सुन्तलाको व्यापारले साना तथा ठूला व्यवसायीहरूलाई राम्रो आम्दानी हुने गरेको उनले बताए । उनले भने, ‘मैले पाँच वर्षदेखि सिजनमा सुन्तला बिक्री वितरण गर्ने गरेको छु । सधैँ अन्य जिल्लाहरूबाट किसानका घरमै पुगेर खरिद गर्र्छ । सोही अनुसार बिक्री वितरण गर्दै आएको छु । हरेक वर्ष राम्रै फाइदा हुन्छ ।’
खरबारी सुन्तला बगैँचामा परिणत
म्याग्दीको मङ्गला गाउँपालिका–३ भेडाबारी र भोर्लेनीका किसानले भिरालो पाखो खरबारीलाई सुन्तला बगँैचामा परिणत गरेका छन् । कोदो, मकैलगायत परम्परागत खाद्यबाली खेती हुने बारीलाई सुन्तला बगँैचामा रूपान्तरण गरिएको हो । सुन्तलाखेतीले पाखो र खरबारीको रूप मात्र नभएर किसानको जिवनस्तरमा समेत सुधार ल्याएको छ ।
अगुवा किसान ओम गिरीले विगतमा खाद्यबाली लगाउने र पशुका लागि खरघाँस पाइने खरबारी रहेको पाखोमा स्थापना गरेको सुन्तलाले उत्पादन दिन थालेपछि अवस्था फेरिएको बताए । ‘पाँच सय सुन्तलाका बोट भएको मेरो बगँैचाबाट यसपालि करिब रु ११ लाखको सुन्तला बिक्री भयो’, उनले भने, ‘पहिले एक पाथी कोदो फल्ने बारीको पाटामा लगाएको सुन्तलाबाट रु एक लाख आम्दानी भयो ।’
गिरीका अनुसार सुन्तलाले बजार पाउन थालेपछि पछिल्लो समय घरवरपरको पाखोमा खरबारीमा झाडी फाडेर पनि बगँैचा विस्तार गर्ने क्रम बढेको छ । भेडाबारीको ४६ रोपनी पाखोबारी सुन्तला बगँैचामा परिणत भएको छ । भेडाबारीका तीन घर गिरी दाजुभाइको बगँैचाबाट यसपालि रु २५ लाखको सुन्तला बिक्री हुने अनुमान गरिएको उनले बताए । विसं २०४६ मा स्व रुद्र गिरीले भेडाबारीमा सुन्तलाखेती भित्र्याएका थिए । हजुरबुबाले सुरुआत गरेको सुन्तलाखेतीलाई उनका तीन भाइ छोरा र नौ भाइ नातिहरूले पनि निरन्तरता दिएको प्रेम गिरीले बताए ।
‘अरु ठाउँमा बसाइँसराइका कारण गाउँका खेतबारी बाँझिएर झाडीमा परिणत भइरहेको अवस्थामा हामी पेसा, व्यवसायका लागि बजार झरेका छौँ । विदेशमा भए पनि सुन्तलाखेतीलाई निरन्तरतासँगै विस्तार पनि गरेका छौँ’, उनले भने, ‘नगदेबाली भएकाले बजारमा हुनेले फुर्सदको समयमा घरमा पुगेर श्रम गर्छौँ, विदेशमा भएका दाजु, भाइले मजदुर लगाएर बगँैचा व्यवस्थापन र हेरचाह गर्नुभएको छ ।’
समुद्री सतहदेखि करिब एक हजार मिटर उचाइमा पूर्व फर्किएको भिरालो पाखो भएको भेडाबारीको भूगोल, माटो र जमिन सुन्तलाखेतीका लागि उपयुक्त छ । सडक सुविधा विस्तारसँगै भेडाबारीको छिमेकी भोर्लेनी टोलका बासिन्दाले पनि सुन्तलाखेती विस्तार गरेका छन् । भोर्लेनीका किसानले स्थापना गरेको नयाँ बगँैचामा लगाएको सुन्तलाका बोटमा पनि फल लाग्न थालेको छ ।
विसं २०७३ मा भोर्लेनी र भेडाबारीलाई ‘सुन्तलाबारी’ घोषणा गरेर सुन्तलाखेती विस्तार अभियान चलाइएको प्रेमले बताएका छन् । सुन्तलाखेतीबाट विगतमा दैनिक गुजारा चलाउन पनि कठिन हुने आफूहरूको जीवनस्तरमा अहिले धेरै परिवर्तन आएको उनको अनुभव छ ।








प्रतिक्रिया दिनुहोस्