सुर्खेतमा आज उच्चस्तरीय सुरक्षा बैठक बस्दै



वीरेन्द्रनगर ।

कर्णाली प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरमा बुधबार अर्थात् आज उच्चस्तरीय सुरक्षा व्यवस्थापन समितिको बैठक बस्दैछ । यसका लागि संघीय सरकारका गृहमन्त्री ओमप्रकाश अर्याल १३ सदस्यीय उच्चस्तरीय टोलीसहित कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगर आइपुगेका छन् ।
उनी कर्णाली प्रदेशस्तरीय उच्चस्तरीय सुरक्षा व्यवस्थापन समितिको बैठकमा सहभागी हुन मंगलबार मध्याह्न बुद्ध एयरको विमानमार्फत सुर्खेत आएका हुन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त सूचना अधिकारी दीपेन्द्र मगराठीका अनुसार गृहमन्त्री अर्याल महत्वपूर्ण सुरक्षा बैठकमा सहभागी हुन सुर्खेत आएका हुन् । बैठकमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाका उच्च अधिकारीहरूको पनि सहभागिता रहने छ । मंगलबार सुर्खेत अवतरणलगत्तै गृहमन्त्री अर्यालले राष्ट्रिय गौरवको आयोजना भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको अनुगमन गरेर वीरेन्द्रनगर फर्केका थिए ।

भेरी–बबई आयोजनाको प्रगति, हालको अवस्था र भविष्यका चुनौतीबारे उनले सम्बन्धित अधिकारीसँग जानकारी लिएको जनाइएको छ । सो अनुगमनपछि मंगलबार उनले अन्य औपचारिक भेटघाट वा कार्यक्रम नगरेको प्रहरी स्रोतले जनाएको छ । बुधबार वीरेन्द्रनगरस्थित शुभ होटलमा आयोजना हुने उच्चस्तरीय सुरक्षा व्यवस्थापन समितिको बैठकमा गृहमन्त्री अर्यालसँगै नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की, सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) राजु अर्याल र नेपाली सेनाका रथी गणेशकुमार श्रेष्ठको समेत सहभागिता रहने छ ।

बैठकमा कर्णाली प्रदेशका दशवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ), जिल्ला प्रहरी प्रमुखहरू, सशस्त्र प्रहरी र नेपाली सेनाका जिल्ला तथा प्रदेशस्तरीय कमाण्डरहरू सहभागी हुनेछन् । बैठकमा कर्णाली प्रदेशभित्र देखिएका समग्र सुरक्षा चुनौती, सीमा सुरक्षाको अवस्था, शान्ति सुव्यवस्था कायम गर्ने रणनीति, अपराध नियन्त्रण, विपद् व्यवस्थापन तथा विकास आयोजनाहरूको सुरक्षा प्रबन्धका विषयमा विस्तृत समीक्षा र छलफल हुने जनाइएको छ ।

विशेषगरी दुर्गम भौगोलिक अवस्था, खुला सीमा, विकास आयोजनामा देखिने सुरक्षा जोखिम, तथा सम्भावित आपराधिक गतिविधिबाट प्रदेशलाई सुरक्षित राख्ने विषय बैठकको मुख्य एजेन्डा रहने बताइएको छ । साथै संघ, प्रदेश र स्थानीय तहबीच सुरक्षा समन्वयलाई अझ प्रभावकारी बनाउने उपायबारे पनि छलफल हुने अपेक्षा गरिएको छ ।

प्रहरी स्रोतका अनुसार गृहमन्त्री अर्याल बुधबारको सुरक्षा बैठक सम्पन्न गरेपछि काठमाडौँ फर्किने कार्यक्रम रहेको छ । गृहमन्त्रीको यस भ्रमणलाई कर्णाली प्रदेशको सुरक्षा व्यवस्थापनलाई थप सुदृढ बनाउने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ पुस ९ गते बुधबार