सुर्खेत ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको समय तालिका तोकिएको छ । तर कर्णाली प्रदेशका ३८ प्रतिशत मतदानस्थल अतिशंवेदनशील रहेको पाइएको छ । कर्णालीमा कूल ९६१ वटा मतदानस्थल रहेका छन् । जसमा ३६३ वटा अतिसंवेदनशील, ४२९ वटा संवेदनशील र १६९ वटा सामान्य रहेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कणाली प्रदेश कार्यालयले तयार पारेको जिल्लाको पूर्वअवस्था विश्लेषणले ३८ प्रतिशत मतदानस्थल अति जोखिमयुक्त रहेको देखाएको छ ।
तर ४५ प्रतिशत संवेदनशील रहेको इन्सेक कर्णाली प्रदेश कार्यालयका संयोजक नारायण सुवेदीले जानकारी दिए । उनका अनुसार कठिन भूगोल, राजनीतिक अस्थिरता, जेनजी आन्दोलनपछिको असन्तुष्टि, अपर्याप्त सुरक्षा तथा चिसो मौसमका कारण कर्णालीमा शान्तिपूर्ण निर्वाचनका लागि विशेष सुरक्षा तयारी आवश्यक रहेको प्रतिवेदनले औँल्याएको छ ।
संयोजक सुवेदीले राजनीतिक परिवेश, सुरक्षा चुनौती, प्रशासनिक तयारी र मतदाताको अवस्थाका आधारमा प्रतिवेदन तयार भएको हो । प्रतिवेदनअनुसार प्रदेशभरका झण्डै ८३ प्रतिशत मतदानस्थल सामान्यभन्दा बढी जोखिमयुक्त रहेका छन् । सुर्खेतमा दुई प्रतिनिधिसभा क्षेत्रमा १३८ वटा मतदानस्थल रहेका छन् । तीमध्ये २० अतिसंवेदनशील, ८५ संवेदनशील र ३४ सामान्य छन् । २०७९ को तथ्याङ्कअनुसार यहाँ दुई लाख ४४ हजार ७१४ मतदाता छन् ।
जेनजी युवाहरूको आन्दोलन, राजनीतिक ¥यालीमा झडपको सम्भावना र भारत रोजगारी जाने युवाको कारण मतदानमा सहभागिता घट्न सक्ने प्रतिवेदनमा उल्लेख गरिएको छ । सुर्खेतमा उच्च राजनीतिक प्रतिस्पर्धा र भीड व्यवस्थापन चुनौती रहेको औँल्याइएको छ । दैलेखमा दुई निर्वाचन क्षेत्र छन् । १३९ मतदानस्थलमध्ये ४६ अतिसंवेदनशील, ६८ संवेदनशील र २५ सामान्य छन् । स्थानीय राजनीतिक द्वन्द्व, मतदान केन्द्रसम्म पुग्ने कठिनाइ, मतदाता शिक्षाको अभाव र स्थानीय नेतृत्वको प्रभाव चुनावमा चुनौतीका रूपमा देखिएका छन् ।
त्यहाँ भूगोल र राजनीतिक प्रभावको जोखिम रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । कालीकोटमा एक प्रतिनिधिसभा निर्वाचन केन्द्र छ । यहाँ १०३ मतदानस्थल छन् । जसमध्ये ७४ अतिसंवेदनशील, २८ संवेदनशील र दुई सामान्य मतदानस्थल छन् । द्वन्द्वकालीन प्रभाव र भौगोलिक कठिनाइका कारण मतदान सामग्री ढुवानी र सुरक्षामा समस्या देखिएको छ । जुम्लामा ८३ मतदानस्थलमध्ये ६३ अतिसंवेदनशील, २४ संवेदनशील र २१ सामान्य छन् । जेनजी आन्दोलनपछि फरार १० कैदीबन्दी सुरक्षा चुनौतीका रूपमा छन् ।
हिमपात, चिसो र संचार अवरोधले निर्वाचनमा जोखिम बढाएको उल्लेख छ । मुगुमा ६४ मतदानस्थलमध्ये ३० अतिसंवेदनशील, २० संवेदनशील र १६ सामान्य छन् । हिउँदे सिजन, बसाइँसराइ, रोजगारीका लागि भारत गएका युवाले निर्वाचनमा सहभागी हुन नसक्ने, संचार र यातायात अभाव प्रमुख समस्या देखिएका छन् । हुम्लामा ६० मतदानस्थलमध्ये २७ अतिसंवेदनशील, २१ संवेदनशील र १० सामान्य छन् ।
चीन सीमासँग जोडिएका मतदानस्थलका कारण विशेष सुरक्षा योजना आवश्यक देखिएको छ । सामग्री ढुवानीका लागि हेलिकोप्टर प्रयोग गर्नुपर्ने अवस्था छ । डोल्पामा ६६ मतदानस्थलमध्ये २३ अतिसंवेदनशील, २६ संवेदनशील र १७ सामान्य छन् । हिउँदको चिसो, यातायात समस्या र बस्ती विखण्डित भएकाले मतदान केन्द्रसम्म मतदाता पुग्न कठिनाइ हुने प्रतिवेदनले उल्लेख गरेको छ ।
रुकुमपश्चिममा ७६ मतदानस्थलमा २१ अतिसंवेदनशील, ४३ संवेदनशील र १२ सामान्य छन् । पूर्व माओवादी समूहभित्रको प्रतिस्पर्धा, जनार्दन शर्मा पक्षका कारण सम्भावित झडप र जेनजी आन्दोलनमा फरार १६ कैदी सुरक्षाको मुख्य चुनौती छन् । जाजरकोटमा ८५ मतदानस्थलमध्ये १६ अतिसंवेदनशील, ५७ संवेदनशील र १५ सामान्य छन् । भूकम्पपछिको पुनर्निर्माणका कारण मतदातामा निर्वाचनप्रति रुचि न्यून देखिएको छ । भूगोल र पहुँच समस्याले पनि व्यवस्थापनमा चुनौती थपिएको छ ।
सल्यानमा ११७ मतदानस्थलमध्ये ४३ अतिसंवेदनशील, ५७ संवेदनशील र १७ सामान्य छन् । जेष्ठ नागरिक, अपांगता भएका व्यक्तिको पहुँच समस्या र मतदाता शिक्षाको कमजोरी मुख्य चुनौतीका रूपमा देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । कर्णालीमा १२ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेका छन् । सुर्खेत र दैलेखमा दुई वटा र अन्य जिल्लामा एकएक वटा निर्वाचन क्षेत्र रहेका छन् ।
कर्णालीका अधिकांश मतदानस्थल जोखिमयुक्त देखिएकाले सुरक्षा संयोजन, प्रशासनिक तयारी, सामग्री ढुवानी, मतदाता शिक्षा र राजनीतिक दलबीच सहकार्य अपरिहार्य रहेको प्रतिवेदनको निष्कर्ष रहेको छ । हिउँद, बसाइँसराइ, जेनजी आन्दोलनपछिको असन्तुष्टि, अवैध हतियार, राजनीतिक प्रतिस्पर्धा तथा सञ्चार अवरोध निर्वाचनका प्रमुख चुनौती हुन् ।
प्रदेश निर्वाचन आयोगका निर्वाचन अधिकारी लालबहादुर गुरुङका अनुसार आगामी निर्वाचनलाई लक्षित गर्दै कर्णालीमा करिब २६ हजार नयाँ मतदाता थपिएका छन् । मंसिर ५ गतेसम्म सञ्चालित मतदाता नामावली संकलन अभियानअन्तर्गत कर्णाली प्रदेशभर २६ हजार ३ ३५ जना नयाँ मतदाता थपिएको उनले बताए । यसअघि कर्णाली प्रदेशमा १० लाख ६ हजार ८३४ जना मतदाता रहेका थिए । नयाँ थपिएका २६ हजार ३३५ जनासहित अब प्रदेशमा कूल मतदाताको संख्या १० लाख ३३ हजार ४६९ पुगेको छ ।








प्रतिक्रिया दिनुहोस्