कवितामा जेनजी पुस्ताको आगमन



बाँकेमा साहित्य समृद्ध भए पनि ‘कवि’ भनेर परिचित गराउने प्रक्रिया अझै कमजोर रहेको उल्लेख गर्दै—खजुरा प्रज्ञा प्रतिष्ठान उपकुलपति इन्द्र भण्डारी नयाँ पुस्ताका लागि प्रशिक्षण अनिवार्य आवश्यक रहेको बताउँछन् । दार्शनिक कवि रूसोदेखि विश्व साहित्यका परिवर्तनकारी लेखकहरूबारे सम्झाउँदै किरण आचार्य साहित्यलाई प्रभावकारी शक्ति मान्दै ‘साहित्यलाई गम्भीर रूपमा लिनैपर्छ’ भन्छिन् ।

निशु जोशी । नेपालगन्ज ।

दैलेख घर भएकी सर्मिला विष्ट बाँकेको खजुरा बस्छिन् । ज्ञानोदय माविमा कक्षा १२ मा पढ्ने उनले भर्खर मात्र कविता लेख्न सिकेकी हुन् । उनी देश, शिक्षा लगायतका विविध विषयमा कविता लेख्छिन् । कक्षा ११ मा पढ्ने क्रममा नेपाली विषयकी शिक्षिका इन्दिरा गौतमले कविताका विषयमा जानकारी दिएपछि उनले लेख्न थालिन् । विष्टको मुख्य विषय नेपाली भएका कारण पनि उनले कविताबारे थप जानकारी पाइन् ।

उनलाई कविता लेख्नका लागि परिवारबाट पनि प्रेरणा मिलेको छ । उनका अंकल र अंटीले गजल, कविता लेख्छन् । घरको माहोलले उनलाई लेख्न थप हौस्याएको छ । उनी अहिले बाँकेमा हुने साहित्यक कार्यक्रममा वर्षौँदेखि लेखिरहेका साहित्यकारको माझमा कविता सुनाउन थालेकी छिन् । नयाँ ठाँउमा गएर साहित्यकारहरूको माझमा कविता सुनाउँदा खुसी लागेको उनी बताउँछिन् ।

उनले लेखेको कविताले महेन्द्र पुस्तकालयले आयोजना गरेको कविता प्रतियोगितामा दोश्रो स्थान पाउन सफल भएको थियो । त्यसले आफूलाई थप प्रोत्साहन गरेको उनको भनाइ छ । जेनजी पुस्ताको सहभागिताले बाँकेको साहित्यमा नयाँ ऊर्जा थपिएको छ । जिल्लामा नेपाली, उर्दु, हिन्दी, थारु लगायतका बहुभाषामा साहित्य सिर्जना भएका छन् । नयाँ पुस्ताको आगमन नभएपछि अग्रजहरू चिन्तित थिए । केहि समययता नेपालगन्जमा आयोजना हुने साहित्यिक कार्यक्रममा जेनजी पुस्ताको सक्रिय सहभागिता हुन थालेको छ ।

विष्टजस्तै बाँके खजुराकी १४ वर्षिया समृद्धि प्याकुरेलले पनि नेपालगन्जमा आयोजना गरिएको बाँकेका कवि र कविता कार्यक्रममा आफ्नो कविता सुनाइन् । स्कुलभन्दा बाहिर गएर उनले कविता सुनाएको यो पहिलो पटक हो । ८ कक्षामा पढ्ने उनी बुबा बोधराज प्याकुरेलले कविता लेख्ने भएकाले उहाँबाट प्रेरित भएर कविता लेखिरहेकी छन् । तर उनीसँग कविता लेख्नेबारे विशेष ज्ञान छैन । कविताबारे थप जानकारी पाए अझै लेख्ने इच्छा रहेको उनी बताउँछिन् ।

उनकोजस्तै भनाइ छ ज्ञानोदय माविमा ८ कक्षामा अध्ययनरत १३ वर्षिया क्रिस्टल खड्काको पनि । खड्का ४ कक्षाबाट साथीहरूसँग मिलेर कविता लेख्न थालेकी हुन् । स्कुलमा मात्र कविता सुनाउँदै आएकी उनले पहिलो पटक नेपालगन्जको साहित्यिक कार्यक्रममा कविता सुनाउँदा डर र खुसी अनुभव गरेको बताइन् । उनलाई पनि कविता सुनाउनका लागि यस्ता अवसर र कविता लेख्न थप ज्ञानको आवश्यक्ता छ ।

बाँकेमा साहित्य समृद्ध भए पनि ‘कवि’ भनेर परिचित गराउने प्रक्रिया अझै कमजोर रहेको उल्लेख गर्दै—खजुरा प्रज्ञा प्रतिष्ठान उपकुलपति इन्द्र भण्डारी नयाँ पुस्ताका लागि प्रशिक्षण अनिवार्य आवश्यक रहेको बताउँछन् । दार्शनिक कवि रूसोदेखि विश्व साहित्यका परिवर्तनकारी लेखकहरूबारे सम्झाउँदै किरण आचार्य साहित्यलाई प्रभावकारी शक्ति मान्दै ‘साहित्यलाई गम्भीर रूपमा लिनैपर्छ’ भन्छिन् ।

साहित्यमा नयाँ पुस्ताको अभाव खड्किरहेको बताउने प्रज्ञा प्रतिष्ठानका पूर्वसदस्यसचिव वरिष्ठ साहित्यकार सनत रेग्मी विभिन्न साहित्यिक कार्यक्रममा जेनजी पुस्ताको सक्रिय सहभागिताले उत्साहित भएको बताउँछन् । पुस्तकालयले यिनका लागि निरन्तर कार्यक्रम गर्नुपर्ने उनको सुझाव छ । बाँकेमा बहुभाषिक साहित्यिक माहोल विस्तारिँदै जाँदा जेनजी पुस्ताको सक्रिय सहभागिता साहित्यमा नयाँ ऊर्जा बनेर देखिएको छ

  • No tags available
प्रकाशित मिति : २०८२ मंसिर २२ गते सोमबार