सुदूरपश्चिममा महिला र बालबालिकामाथि हुने हिंसा घट्दो



शेरबहादुर ऐर । कैलाली ।

सुदूरपश्चिम प्रदेशमा महिला र बालबालिकामाथि हुने हिंसाका घटनाहरूमा आर्थिक वर्षअनुसार केही कमी देखिए पनि समस्या अझै गम्भीर रूपमा कायम रहेको छ । प्रदेश प्रहरी कार्यालयका तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०८२–०८३ को कात्तिक मसान्तसम्म नौ जिल्लामा ९३ वटा महिला र बालबालिकासम्बन्धी अपराध दर्ता भएका छन् । आव २०८१–०८२ चार सय दुई मुद्दा दर्ता भएका थिए भने आव २०८०–०८१ मा चार सय ३३ वटा महिला तथा बालबालिकासँग सम्बन्धित मुद्दा दर्ता भएका थिए ।

प्रदेश प्रहरीका अनुसार चालू आर्थिक वर्षमा कैलालीमा ४३, कञ्चनपुरमा १६, बझाङमा आठ, डडेलधुरामा आठ घटना दर्ता भएका छन् भने अछाममा छ, बैतडीमा पाँच, बाजुरामा दुई र दार्चुलामा एक घटना दर्ता भएको छ । प्रदेशमा चालू आर्थिक वर्षमा दर्ता भएका मुद्दाहरूमा जबरजस्ती करणी सर्वाधिक रहेको छ । जबरजस्ती करणीका ५४ मुद्दा, बहुविवाहका १३ मुद्दा, घरेलु हिंसाका कारण कर्तव्यज्यानका चार मुद्दा, मानव बेचबिखन÷ओसारपसारका चार मुद्दा, बाल यौन दुरुपयोगका चार मुद्दा रहेका छन् भने अप्राकृतिक मैथुन, अपहरण, अवैध गर्भपतन, बोक्सी आरोप, ज्येष्ठ नागरिक दुव्र्यवहार तथा बाल कसुरसम्बन्धी मुद्दा चालू आर्थिक वर्षमा दर्ता भएका छैनन् ।

सुदूरपश्चिम प्रदेशमा घरेलु हिंसासम्बन्धी उजुरी (निवेदन) तीन आर्थिक वर्षयता लगातार घट्दै आएको देखिन्छ । प्रदेश प्रहरीले दिएको तथ्यांकअनुसार प्रहरीमा आर्थिक वर्ष २०८०–०८१ मा एक हजार दुई सय १३, आर्थिक वर्ष २०८१–०८२ मा एक हजार एक सय ९४ र २०८२–०८३ (कार्तिक मसान्त) सम्ममा तीन सय ८० मुद्दा दर्ता भएका छन् । उच्च उजुरी दर भएका जिल्लाहरूमा कैलाली, कञ्चनपुर र बझाङ पर्दछन्।
कैलालीमा १३९, कञ्चनपुरमा एक सय १६, बझाङमा ४१ उजुरी परेका छन भने दार्चुलामा ३२ उजुरी परेका छन । तथ्यांकअनुसार कैलाली र कञ्चनपुरमा यौनजन्य अपराध, बहुविवाह र बाल यौन दुरुपयोग बढी रहेको छ ।

लैङ्गिक हिंसा बढ्नुका यी हुन् मुख्य कारण

विशेषज्ञहरूले सुदूरपश्चिममा लैङ्गिक हिंसाको बढ्दो आठ वटा कारण पहिचान गरेको छ । प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी गौतम मिश्रले घरेलु हिंसा, महिला तथा बालबालिकासँग सम्बन्धित अपराधमा निवारण नआउनु विभिन्न कारण रहेको बताए । यौन सन्तुष्टिको गलत दृष्टिकोण प्रमुख कारण देखिन्छ । उनले भने, ‘महिलामाथि दबाब, धम्की वा बल प्रयोग गरिने प्रवृत्ति देखिन्छ ।’

मानसिक असन्तुलन भएका व्यक्तिको दुव्र्यवहार, यौनप्यास मेटाउने उद्देश्यले जबरजस्ती करणी, मदिरा वा नशा सेवनपछि हिंसा, अनैतिक तथा बाहिरी सम्बन्ध, अविश्वास र वैवाहिक ईष्र्या लगायतका कारणहरू पनि देखिन्छ । उनले भने, ‘यस्ता सामाजिक र मानसिक कारणहरू समाधान नगरेसम्म महिलामाथि हुने हिंसा घट्ने सम्भावना न्यून छ ।’ प्रहरीले लैंगिक तथा घरेल हिंसामा कमी ल्याउन सुरक्षा, सचेतना र शिक्षा, उच्च जोखिमयुक्त जिल्लामा विशेष निगरानी र छानबिन आवश्यक कार्य गरिहेको उनको भनाइ छ ।

उनले भने, ‘महिलालाई कानुनी सचेतना प्रदान गर्न स्थानीय तहमा कार्यशाला सञ्चालन, हिंसाको शिकार महिलालाई तत्काल सुरक्षा र मानसिक सहयोग, प्रहरी प्रशासनमा विशेष तालिम र महिला प्रहरीको संलग्नता, बालबालिकालाई यौनशिक्षा र सुरक्षाको जानकारी दिन विद्यालय तथा सामुदायिक कार्यक्रम लगायतका गतिविधि गरिरहेका छौँ ।’

  • No tags available
प्रकाशित मिति : २०८२ मंसिर १० गते बुधबार