‘कन्नवा ताल’लाई पर्यटकीय केन्द्रका रूपमा विकास गरिदैँ



शुभाकर विश्वकर्मा । कोहलपुर (बाँके) ।

जिल्लाको बैजनाथ गाउँपालिकाले कन्नवा ताल ‐सुतैया ताल)लाई पर्यटकीय हबका रूपमा विकास गर्ने योजना अघि सारेको छ । गाउँपालिकाकै पर्यटकीय गन्तव्य बन्ने सम्भावना बोकेको कन्नवा ताललाई पर्यटकीय केन्द्रका रूपमा विकास गरिने भएको हो । सोहीअनुसार गाउँपालिकाले विस्तृत परियोजना प्रतिवेदन ‐डीपीआर) तयार गरिएको छ । बाँके जिल्लाकै आन्तरिक पर्यटनको प्रमुख गन्तव्य बनाउने उद्देश्यसहित डीपीआर तयार गरिएको छ ।

डीपीआरअनुसार कन्नवा ताललाई पर्यटकीय हबको रूपमा विकास गर्नको लागि ४५ करोड लागत लाग्ने अनुमान गरिएको छ । पहिलो चरणमा डीपीआर निर्माण सम्पन्न गरेको गाउँपालिकाले स्थानीय सरकारको तर्फबाट आधारभूत संरचना निर्माणको काम सुरु गरिसकेको छ । बैजनाथ गाउँपालिका वडा नम्बर ३ ले ताललाई पर्यटकीय हब बनाउन भूमिका खेल्दै आएको छ । कोहलपुरको चौराहाबाट ६ किलोमिटर दूरीमा उत्तरतर्फ कोहलपुर–सुर्खेत सडकखण्डअन्तर्गत रत्न राजमार्गसँगै जोडिएको ताललाई पर्यटनको गन्तव्य बनाउने प्रचुर सम्भावना रहेको गाउँपालिकाले जनाएको छ ।

ताल बाँके राष्ट्रिय निकुञ्जसँगै जोडिएको छ । यो ताल प्राकृतिकरूपमा रमणीय र मनमोहक छ । ‘देउराली जनआश्रित मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह’मा पर्ने यो ताललाई पर्यटकीय हब बनाउने स्थानीय सरकारको योजना रहेको छ । डीपीआरअनुसार तालको क्षेत्र ८ हेक्टर क्षेत्रफलमा फैलिएको छ । जहाँ दुई वटा विशाल ताल रहेका छन् । बीचमा टापु रहेको छ । त्यहाँ सुविधासम्पन्न मन्दिर निर्माण गर्ने योजना रहेको छ । टापुसहित तीन वटा स्थानमा पिकनिक क्षेत्र निर्माण गर्ने डीपीआरमा उल्लेख गरिएको छ ।

टापुमा जानको लागि बोर्ड र गोरेटो बाटो निर्माण गरिनेछ । यसैगरी पार्किङस्थल निर्माण गरिनेछ । तलाउका तटबन्धन विस्तार गर्ने योजना रहेको छ । जनावरको लागि पानी खाने खाल्डाहरू निर्माण गरिनेछ । सामुदायिक होमस्टे निर्माणगरी रोजगारी सिर्जना गर्नेसम्मका योजना रहेका छन् । चालू आर्थिक वर्षमा मात्रै संघ, प्रदेश र स्थानीय सरकारबाट ६० लाखभन्दा बढी बजेट विनियोजन भएको छ । कन्नवा तालमा पूर्वाधार निर्माणका लागि संघीय सरकारबाट २५ लाख रूपैयाँ विनियोजन भएको बैजनाथ गाउँपालिका वडा नम्बर ३ का वडाअध्यक्ष निखिल बैगारले बताए ।

उनका अनुसार लुम्बिनी प्रदेश सरकारअन्तर्गत कन्नवा ताल निर्माणको लागि २० लाख रूपैयाँ विनियोजन गरिएको छ । गाउँपालिकाले समेत पूर्वाधार मर्मत शीर्षकमा १० लाख बजेट विनियोजन गरेको वडाअध्यक्ष बैगारले बताए । वडाले गोरेटो बाटो निर्माणका लागि बजेट विनियोजन गरेको छ । ‘कन्नवा ताललाई पर्यटकीय हब बनाउने हाम्रो उद्देश्य रहेको छ । सोहीअनुसार डीपीआर तयार भइसकेको छ । डीपीआरअनुसार नै संरचना निर्माण गर्ने योजना रहेको छ । सोहीअनुसार यो वर्ष केही योजना समावेश छन्,’ उनले भने ।

तर जेनजी आन्दोलनपछिको विषम परिस्थितिका कारण योजना कार्यान्वयन हुनेमा आशंका छ । अहिलेसम्म योजना कार्यान्वयन हुन नसकेको र गाउँपालिकाले योजना कार्यान्वयनको पहल गरिरहेको बताए । पालिकाको बजेट भने हिउँदे अधिवेशनपछि ब्रेक डाउन गरेर कार्यान्वयनमा लैजाने तयारी गाउँपालिकाको योजना रहेको छ । तालसँगै यहाँका स्थानीयलाई रोजगारसँग जोडेर होमस्टे, बोटिङ जस्ता पूर्वाधार सञ्चालन गरेर आन्तरिक पर्यटन प्रवद्र्धनका कार्यक्रम ल्याउन सकिने उनको भनाइ छ ।

गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीले विस्तृत परियोजना प्रतिवेदनअनुसार निर्माण गरेर ताललाई पर्यटनसँग जोड्ने कामको सुरुवात गरिएको बताए । उनका अनुसार गाउँपालिकाले कन्नवा ताललाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा निर्माण गर्ने योजना अघि सारेको छ । अध्यक्ष शाही भन्छन्, ‘तालको डीपीआर तयार भइसकेको छ । स्थानीय सरकारसँग सीमित बजेट हुन्छ । त्यसैले संघ र प्रदेशसँग योजना माग गरिरहेका छौँ । पर्यटकीय क्षेत्रका रूपमा यसलाई विकास गछौँ ।’

यस्ता छन्, गाउँपालिकाका पर्यटन नीति 

बैजनाथ गाउँपालिकाले आर्थिक वर्ष २०८२–०८३ विभिन्न १५ वटा पर्यटन प्रवद्र्धन, धार्मिक, साँस्कृतिक नीति अवलम्बन गरेको छ । थारू संस्कृति संरक्षण तथा संग्रहालयको व्यवस्थापन, वडा नम्बर ३ स्थित कनवा ताल सिमसार क्षेत्र, गाभर भ्याली लायन्स पार्क, मानसरोवर बोटानिकल पार्कलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने नीति लिएको छ ।

सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग गरी पर्यटन प्रवद्र्धन गर्ने, पर्यटन स्थलसम्म पुग्न आवश्यक सडक सञ्जाल विस्तार, बिजुली, खानेपानी तथा शौचालय, सूचना बोर्डको व्यवस्था, वार्षिकरूपमा जात्रा कार्यहरू सञ्चालन गर्ने जनाइएको छ । मठमन्दिर, गुम्बा, चैत्य, मस्जिद र गिर्जाघर लगायतका पुरातात्विक स्थलहरूको अभिलेखन गरी स्थानीय सम्पन्न क्षेत्र घोषणा गर्ने, स्थानीय कलाकार प्रोत्साहन कार्यक्रम आयोजना गर्ने, बैजनाथ थारूको शालिक निर्माण गर्ने, बैजनाथ पर्यटन गुरुयोजना निर्माण गर्ने उल्लेख गरिएको छ ।

बैजनाथ– ५ छमनियामा रहेको थारू संग्राहालयको पूर्वाधार निर्माणका लागि संघ र प्रदेश कार्यालयसँग समन्वय गर्ने, पौराणिक बाजा, कला, संस्कृतिको प्रवद्र्धन र सम्बद्र्धन गरिने उल्लेख गरिएको छ । पर्यटन विकास कोष सञ्चालन, पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनका लागि निजी क्षेत्रसँग साझेदारी कार्यक्रम सञ्चालन गर्ने नीति लिइएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ मंसिर ८ गते सोमबार