‘बहुविषयगत अन्तर्राष्ट्रिय सम्मेलन–२०२६’ सम्पन्न



कर्णाली ।

मध्यपश्चिम विश्वविद्यालयमा ‘अन्तरविषयगत सहकार्यद्वारा कृत्रिम बुद्धिमत्ता र डिजिटल रूपान्तरणको युगमा दिगो भविष्य निर्माण’ भन्ने मूल नारासहित ‘बहुविषयगत अन्तर्राष्ट्रिय सम्मेलन–२०२६’ आइतबार सम्पन्न भएको छ ।

भारतको बिरला ग्लोबल युनिभर्सिटीसँगको सहकार्यमा मध्यपश्चिम विश्वविद्यालयद्वारा आयोजित ‘बहुविषयगत अन्तर्राष्ट्रिय सम्मेलन’ले ज्ञान तथा अनुभव आदानप्रदान, अनुसन्धानको स्तर वृद्धि तथा विश्वव्यापी शैक्षिक सहकार्य विस्तार, कृत्रिम बुद्धिमत्ता र डिजिटल रूपान्तरणमा जोड दिएको छ ।

सम्मेलनका क्रममा विषयगत सत्र, अनुसन्धानपत्र प्रस्तुति, प्यानल छलफल तथा अन्तरक्रियामार्फत डिजिटल रूपान्तरणका अवसर र चुनौतीलगायत विविध विषयबारे गहन छलफल भएको थियो । सम्मेलनले बहुविषयगत सहकार्य, ज्ञान आदानप्रदान र अनुसन्धानको स्तर अभिवृद्धि गर्दै शैक्षिक तथा प्राविधिक क्षेत्रमा नयाँ सम्भावना उजागर गरेको निष्कर्ष निकालिएको छ ।

समापन समारोहलाई सम्बोधन गर्दै उपकुलपति प्रा डा ध्रुवकुमार गौतमले सम्मेलनमा छलफल भएका कुरा कार्यान्वयन गर्न सरोकारवाला सबैलाई आग्रह गरे । उपकुलपति गौतमले सम्मेलन सफल तुल्याउन मन, वचन र कर्मले समर्पित हुने सम्पूर्णलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा यसैगरी सक्रियतापूर्वक समूह कार्य गर्ने विश्वास व्यक्त गरे ।समारोहमा रजिष्ट्रार प्रा डा शोभाखर कँडेलले अन्तर्राष्ट्रिय सम्मेलनले विश्वविद्यालयको उचाइ बढाएको बताए ।

उक्त अवसरमा सम्मेलनको समग्र प्रगति प्रतिवेदन सम्मेलन व्यवस्थापन समितिका संयोजक डा यदुप्रसाद ज्ञवालीले प्रस्तुत गर्नुभएको थियो भने प्रमुख वक्ताका रूपमा निम्त्याइएका बेलायतका प्रा डा जोनाथन रिक्स र साझेदार निकाय समाज जागरण केन्द्र (स्याक) नेपालका टीकाराम आचार्यले समापन मन्तव्यका क्रममा सम्मेलन ऐतिहासिक बनेको धारणा व्यक्त गरेका थिए ।

बिरला ग्लोबल विश्वविद्यालयका प्रतिनिधि डीन प्रा डा अर्चना चौधरी, जर्मनीबाट प्रमुख वक्ताका रूपमा निम्त्याइनुभएकी प्रा डा सुसान्ने र काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा डा अच्युतप्रसाद वाग्लेसहितका वक्ताहरूले आफ्ना धारणा राखेका थिए ।सम्मेलनमा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपतिसहित देशभरका उपकुलपतिहरू सम्मिलित ‘राउन्डटेबल’ छलफलमा विश्वविद्यालयका विद्यमान समस्या, चुनौती सम्भावना र अवसरबारे उच्चस्तरीय प्राज्ञिक मन्थन भएको थियो ।

त्यसैगरी, कृत्रिम बुद्धिमत्तता र विश्वव्यापी रुपान्तरणले हाम्रो जीवनशैली, अर्थतन्त्र, शासन प्रणाली र सामाजिक संरचनामा गहिरो प्रभाव पारेकाले यो अवस्थामा दिगो भविष्य निर्माणका लागि अन्तरविषयगत सहकार्य र बहसको अपरिहार्यता दर्शाइएको मध्यपश्चिम विश्वविद्यालयका सूचना अधिकारी शेरबहादुर केसीले जानकारी दिए । रासस

  • No tags available
प्रकाशित मिति : २०८३ वैशाख १४ गते सोमबार