सुदूरपश्चिम महोत्सवको १९औँ संस्करण हुँदै



धनगढी ।

१९औँ संस्करणको सुदूरपश्चिम महोत्सव मंसिर २२ गतेदेखि सञ्चालन हुने भएको छ । कैलाली उद्योग वाणिज्य संघको आयोजनामा धनगढी उपमहानगरपालिका– १ पशुपति टोलमा पुस २ गतेसम्म महोत्सव सञ्चालन हुने छ । आयोजकले आइतबार पत्रकार सम्मेलन गर्दै मूल आयोजक समिति र २३ वटा उपसमिति गठन गर्दै महोत्सवको तयारी थालिएको जानकारी दिएको छ ।

तीन करोडको लगानीमा आयोजना हुने महोत्सवमा १५ करोडको कारोबार हुने संघका अध्यक्ष पुष्करराज ओझाले बताए । ‘महोत्सवमा कृषि उत्पादन, जडिबुटी, हस्तकला, गार्मेन्ट, इलेक्ट्रोनिक, होटेललगायतका पाँच सय वटा स्टल रहनेछन्,’ ओझाले भने, ‘कृषितर्फ ४० तथा महिला उद्यमी, एकल महिला र स्थानीय परिकारका १५ गरी ५५ वटा स्टल निःशुल्क रहनेछन् ।’ महोत्सव अवधिभर सात लाख नागरिकले अवलोकन गर्ने अनुमान गरिएको अध्यक्ष ओझाले बताए ।

महोत्सवको अवलोकनका लागि विद्यार्थी र खेलाडीलाई ५० रूपैयाँ तथा सर्वसाधारणलाई एक सय रूपैयाँ टिकटदर तोकिएको छ । ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । महोत्सवमार्फत सुदूरपश्चिम प्रदेशको कृषि, पर्यटन, उद्योग र व्यापारको विकास तथा विस्तारका साथै कला संस्कृतिको प्रवद्र्धनका हुने अपेक्षा गरिएको अध्यक्ष ओझाले जानकारी दिए ।

प्रदेशको विकासका सम्भावनालाई उजागर गर्न पनि महोत्सवले भूमिका खेल्ने ओझाको भनाइ थियो । २०६३ सालमा २१ बुँदे मागपत्र बुझाएर कैलाली उद्योग वाणिज्य संघले महोत्सव सुरुवात गरेको थियो । त्यसयता भएका १८ संस्करणमा पनि पूरा नभएका माग सरकारी प्रतिनिधिलाई बुझाइएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ कात्तिक १७ गते सोमबार