शेरबहादुर ऐर । कैलाली ।
धनगढी उपमहानगरपालिका वडा नम्बर १८ मा लगाइएको तालाबन्दी दुई साताभन्दा बढी समय बित्दासमेत खुल्न सकेको छैन । विवादित वडाध्यक्ष भुवन रिजालले स्थानीयहरूसँग छलफल गर्न नसक्दा कात्तिक २ गतेदेखि भएको तालाबन्दी खुल्न नसकेको हो । स्थानीयहरूले वडाध्यक्ष रिजालले केही व्यक्तिहरूसँग रकम लिएर ठगी गरेको पाइएपछि उनको कार्यकक्षमा तालाबन्दी गरेका थिए ।
कात्तिक १३ गतेसम्म सो कार्यकक्षमा लगाइएको तालाबन्दी खुल्न नसकेको स्थानीय कृष्ण विकले बताए । उनले भने, ‘मैले वडाध्यक्ष रिजाललाई दिएको रकम फिर्ता मागेको छु तर, अहिलेसम्म फिर्ता दिएका छैनन् । फोन सम्पर्क पनि भएको छैन ।’ सोही ठाउँका पीडित कृष्ण विकले दुई साताअघि धनगढीमा पत्रकार सम्मेलन गर्दै वडाध्यक्ष रिजालले आफूबाट जग्गाधनी पुर्जा नापजाँच गराइदिने नाममा पैसा लिएको बताएका थिए। ‘जग्गा नाममा गराइदिने भनेर वडाध्यक्ष रिजालले पैसा लिएको हो । मेरो जग्गाको निस्सा पनि आएको थियो ।
वडामा नाम पनि आएको थियो । फाइल पनि आएको थियो । पछि फाइल रोकियो । वडाध्यक्षले माथि विवाद भएर फाइल रोकिएको हो, खर्च लाग्छ भन्नुभयो । अनि पैँसा दिएको हुँ ।’ उनले भने, ‘पहिला तीन लाख मागेको हो । पछि दुई लाखमा कुरा मिल्यो । त्यसपछि मैलै असार २३ गते नगदै दुई लाख दिएको हुँ ।’ रिजालले उनलाई मात्र नभई १८ नम्बरको नुक्लीपुरमा वर्षौँदेखि जमिन उपभोग गर्दै आइरहेका स्थानीयको नाममा जग्गा सिफारिस नगरि कुनै एक व्यक्तिको नाममा जग्गा दर्ताका लागि सिफारिस गरेको पाइएको थियो ।
वडाध्यक्ष रिजालले प्रलोभनमा परि टोल विकास समिति बैठकमा निर्णय नभएको विषयलाई आधार बनाउँदै गोदावरी नगरपालिका वडा नम्बर ५ बस्ने प्रद्युम्नराज पाण्डेसमेत ७ नम्बर फाँटवारीमा नाममा जग्गा दर्ता सिफारिसका लागि भूमिसुधार तथा मालपोत कार्यालयमा पठाएको पाइएको हो ।
यही असोज २३ गतेको सो सिफारिसमा भनिएको छ– ‘जिल्ला कैलाली गोदावरी नगरपालिका वडा नं. ५ बस्ने वारेश पदमबहादुर चन्द (प्रद्युम्नराज पाण्डे लगायतका वारेश)ले यस धनगढी उपमहानगरपालिका वडा नम्बर १८ को सिट नम्बर १०९६ को कित्ता नम्बर क्रमशः १, २३ र १२ मा पर्ने सम्पूर्ण जग्गाहरू विक्रम संवत् १९९३ सालमा स्व. जनकराज पाण्डेले लालमोहरबाट प्राप्त विक्रम संवत् २०१९ सालमा काठमाडौँ दोस्रोे मालबाट रैकर प्रमाणित गराई विक्रम संवत् २०२१ सालमा जनकराज पाण्डेको नाति गोविन्दराज पाण्डेको छोरा प्रद्युम्नराज पाण्डेको नाममा ७ नम्बर फाँटवारी कायम भएको लगत साविक लगतलगायत कागजातका आधारमा सो धनगढी उपमनपा वडा नं. १८ भूपू सैनिक क्षेत्रको जग्गा छुट दर्ताको लागि श्री भूमिसुधार तथा मालपोत कार्यालय कैलालीलाई सिफारिस गरीपाउँ भनी यस वडा कार्यालयमा मिति २०८२–०५–०९ गते दिएको निवेदनबमोजिम यस कार्यालयबाट जग्गा दर्ताका लागि सिफारिस गरिएको छ ।’
सोही वडाकी लालीदेवी सार्कीले वर्षौँदेखि भोगचलन गर्दै आएको जग्गालाई वडाध्यक्ष रिजालले अर्कै व्यक्तिले उपभोग गर्दै आएको भन्दै सिफारिस गरेको पाइएको थियो । वडाध्यक्ष रिजालले गत असार ३२ गते सार्कीको जग्गामा सोही वडामा बस्ने जमुनादेवी ओझाले उपभोग गर्दै आइरहेको भन्दै सिफारिस गरेका थिए । वडाध्यक्ष रिजालद्वारा जारी सिफारिसपत्रमा भनिएको छ, ‘साविक फूलवारी ४ स्थित नक्सा नम्बर ४ ‘ठ’अन्र्तगत कित्ता नम्बर ६३ को जग्गा फिल्डबुकमा श्री जमुनादेवी ओझा नाम उल्लेख भएको र उक्त जग्गाको निवेदक ओझाले मिति २०५२ सालदेखि भोगचलन गर्दै आइरहेको सिफारिस साथ अनुरोध गरिन्छ ।’
स्थानीयका अनुसार जमुनादेवीले २०६६ सालतिर सार्की बिरामी हुँदा दुई कट्ठा जग्गा खरिद गरेका थिए । तर, वडाध्यक्ष रिजालले दुई कट्ठाको ठाउँमा सार्कीले उपभोग गर्दै आइरहेको सम्पूर्ण जग्गा ओझाको नाममा सिफारिस गरेको जनाइएको छ ।









प्रतिक्रिया दिनुहोस्