धनगढी ।
नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटीले ‘जेनजी आन्दोलन’का क्रममा आगलागी तथा तोडफोड गरिएका पार्टी कार्यालय र नेता–कार्यकर्ताका भवनहरूको पुनर्निर्माण तथा व्यवस्थापन अभियान सुरु गरेको छ । सोमबार नेकपा (एमाले) केन्द्रीय सचिव तथा प्रदेश इञ्चार्ज लेखराज भट्टको भवन पुनर्निर्माण र सरसफाइका लागि पुगेका एमाले सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशीसहितको टोलीले एमालेले पुनर्निर्माण अभियान सुरु गरेको जनाएका छन् ।
‘उहाँ (लेखराज भट्ट) कुनै विवाद वा मुद्दामा पर्नु भएको थिएन । उहाँको घर पनि प्रतिशोधका रूपमा ध्वस्त पारिएको हो । एउटा घर बस्नै नमिल्ने छ, अर्को बचेको छ । त्यसलाई बस्नलायक बनाइरहेका छौँ,’ उनले भने, ‘पार्टीले स्वयंसेवाको रूपमा आह्वान गरेपछि देशव्यापी रूपमा नेता, कार्यकर्ता तथा जनसंगठनका सबै खट्न तयार छन् ।’
उनले पुनर्निर्माण गरेर मुलुकलाई उठाउन तयार रहेको बताएका थिए । सोमबार प्रदेश इञ्चार्जको घर पुनर्निर्माण गर्न नेता–कार्यकर्ताहरू त्यहाँ पुगेका थिए । पोलिटब्युरो सदस्य नारदमुनी राना र लिला भण्डारी, प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशी र सचिव रणबहादुर चन्द, जिल्ला अध्यक्ष यज्ञ ढुंगाना र सचिव ममताप्रसाद चौधरीसहितका नेता–कार्यकर्ताहरू कोही सरसफाइमा त कोही व्यवस्थापनमा जुटेका थिए ।
सांसद सन्तोष शर्मा थापा र दमन भण्डारी पनि पुनर्निर्माण कार्यमा संलग्न थिए । जिल्ला तथा नगरका पदाधिकारी, सदस्य र जनवर्गीय संगठनका नेता–कार्यकर्ताहरूले सोमबार बिहान तत्काल बस्नका लागि घर व्यवस्थापनका काममा लागेका थिए । गत असोज २४ गते दिउँसो करिब १ बजे ‘जेनजी आन्दोलन’कै क्रममा भट्टको घरमा आगजनी गरिएको थियो । आगजनी तथा तोडफोडबाट करिब १० करोड बराबरको क्षति भएको उनले बताएका छन् ।
आन्दोलन शान्तिपूर्ण हुनुपर्नेमा नेता–कार्यकर्ताहरू लक्षित भएको भन्दै, वर्तमान सरकार नै तोडफोडमा संलग्नलाई उन्मुक्ति दिन लागेकामा एमाले नेताहरूले विरोधसमेत जनाएका छन् । ‘जेनजीको नाममा तोडफोड, आगजनी र लुटपाट गरिएको छ । त्यसको छानबिन हुनुपर्छ,’ पोलिट ब्युरो सदस्य तथा कैलाली इञ्चार्ज नारदमुनी रानाले भने, ‘अहिले जेनजीको विषयमा सरकार पनि पूर्वाग्रही देखिएको छ । तोडफोडमा संलग्नलाई उन्मुक्ति दिन खोजिएको छ । त्यस्तो भए हामी इँटाको जवाफ ढुंगाबाट दिन तयार छौँ ।’
लेखराज भट्टका भाइ गोकर्ण भट्टले आगजनीबाट १० करोडको क्षति भएको भन्दै उक्त घटनाले नेता–कार्यकर्तालाई एक हुन सन्देश दिएको बताए । उनले आफ्नो घर जलाए पनि विचार कसैले जलाउन नसक्ने बताए । ‘हाम्रो घर खरानी भए पनि विचार र आस्था खरानी भएको छैन,’ उनले भने, ‘अझै बलियो भएर सक्रिय भई पार्टी निर्माणमा जुट्छौँ ।’








प्रतिक्रिया दिनुहोस्