गेटा विश्वविद्यालय सभाको बैठक तत्काल बोलाउन माग



कैलाली ।

दुवै सदनबाट पारित भएर असार ४ गते राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको सहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन २०८२ लागु भएको ५१ दिन पुगेको छ । राष्ट्रपतिले प्रमाणीकरण गरेको एकतिसौँ दिनदेखि स्वतः लागु हुने व्यवस्थाअनुसार साउन २ गतेदेखि ऐन कार्यान्वयनमा आएको थियो । ऐन कार्यान्वयनमा आएको ९० दिनभित्र सभाबाट उपकुलपति, रजिस्ट्रार नियुक्तिका लागि सिफारिस समिति गठन गरिसक्नु पर्ने प्रावधान भएपनि हालसम्म सभाको पहिलो बैठकसमेत बस्न सकेको छैन । शिक्षामन्त्री अध्यक्ष रहने सभामा ८ जना पदेन सदस्य, १५ जना मनोनीत सदस्य गरी बढीमा २४ जनाको सभा रहने व्यवस्था रहेको छ ।

सभाको बैठक बसेपछि कार्यकारी प्रमुख रहने उपकुलपति र रजिष्ट्रार नियुक्ति प्रक्रिया अगाडि बढ्ने भएकाले सभाले उपकुलपति र रजिस्ट्रार नियुक्तिका लागि सिफारिस समिति गठन गर्ने प्रावधान छ । सिफारिस समिति ऐन प्रारम्भ भएको ९० दिनभित्र गठन गरिसक्नु पर्ने व्यवस्था छ भने सिफारिस समितिले साठी दिन भित्र उपकुलपति, रजिस्ट्रार नियुक्तिको लागि सिफारिस गर्नुपर्ने प्रावधान छ । सिफारिस समितिले सिफारिस गरेका व्यक्तिबाट सभाले तीस दिनभित्र नियुक्त गर्नुपर्ने प्रावधान पनि ऐनमै उल्लेख छ ।

यसरी सभाको बैठक बसेपछि पनि उपकुलपति र रजिस्ट्रार नियुक्तिका लागि लामो प्रक्रिया भएको अवस्थामा विश्वविद्यालय सभाको पहिलो बैठक बस्नमै ढिलाइ हुँदा उपकुलपति र रजिस्ट्रार नियुक्ति लगायत अन्य प्रक्रियामा पनि ढिलाइ हुने भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन कार्यान्वयनको अवस्थाका विषयमा धनगढीमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा बोल्दै सुदूरपश्चिम विश्वविद्यालयका पूर्वरजिस्ट्रार यज्ञराज पाठकले सभाको बैठक नबसी कुनैपनि प्रक्रिया अगाडि नबढ्ने भएकाले सभाको बैठक तत्काल बसाउनुपर्ने बताए ।

सेती अस्पतालका पूर्वमेसु डा.गणेश सिंहले अहिलेका लागि बसैभन्दा मुख्य कुरा सभाको बैठक बस्नु रहेको बताए । उनले विश्वविद्यालयको सभाको बैठक बसे मात्रै अन्य कुरा अघि बढ्ने भएकाले त्यसका लागि दबाब दिन आवश्यक रहेको बताए । सेती अस्पतालकै पूर्वमेसु शेरबहादुर कुँवरले शिक्षामन्त्री, स्वास्थ्यमन्त्री, सचिवहरू रहेको सभाको बैठक गेटामा गर्ने हुन् कि काठमाडौँमा भन्ने अन्योल रहेको बताए । इन्सेक सुदूरपश्चिमका अध्यक्ष खडकराज जोशीले ऐनमा तत्काल गर्नुपर्ने कामका लागि नागरिक समाजका तर्फबाट दबाब सिर्जना गर्नुपर्ने बताए ।

कैलाली बहुमुखी क्याम्पसका पूर्वप्रमुख सुरेन्द्र चन्दले गेटामा फुल फेजको अस्पताल सञ्चालन गरेर शिक्षण कार्यक्रम सञ्चालन गरिनुपर्ने बताए।कैलाली उद्योग वाणिज्य संघका उपाध्यक्ष पुष्करराज ओझाले लामो समय बितिसक्दा पनि गेटामा विश्वविद्यालय सञ्चालनमा नआउनु दुःखद भएको बताए । उनले विश्वविद्यालय कसरी छिटो सञ्चालनका लागि यस क्षेत्रका जनताले दबाब दिनुपर्ने बताए । नाटा सुदूरपश्चिमका संस्थापक अध्यक्ष मायाप्रकाश भट्टले फास्ट ट्र्याकमा गएर विश्वविद्यालयको स्थापना गरिनुपर्ने बताए ।

साहित्यकार पदमराज जोशीले २०५४ सालदेखिको मेडिकल कलेज चलाउने भनेर झुक्काउने काम भएकाले अहिले पनि ऐन आयो भनेर हामीले चुप लागेर बसेमा पुनः पुरानै अवस्था दोहोरिन सक्ने बताए । अधिवक्ता गम्भीरसिंह ऐरले ऐन गौरभको कुरा भए पनि यो कार्यान्वयन नहुँदासम्म ऐनको कुनै काम नभएको बताए । नागरिक अगुवा प्रमोद पाठकले विश्वविद्यालयको सभा नबसी म्याद सकिन नदिन यस क्षेत्रका जनप्रतिनिधिले प्रधानमन्त्रीलाई भेटेर कुरा राख्नुपर्ने बताए । उनले सरकारबाट भएन भनेर भोलिका दिनमा गेटाको संरचनालाई भाडामा पनि दिने चलखेल हुन सक्ने बताए ।

प्राध्यापक वीरबहादुर कडायतले अहिलेसम्म सरकारले जनताका लागि भनेर कुनै पनि आफैँ गरेको नदेखिएकाले गेटामा विश्वविद्यालयका लागि पनि जनताको दबाबबिना कुनै काम अघि बढ्ने सम्भावना नरहेको बताए । प्याब्सनका उपाध्यक्ष जगवीर थापाले नेपालमा आन्दोलन नगरी संघर्ष नगरी कुनै पनि कुरा प्राप्त नहुने अवस्था रहेकाले त्यसका लागि जनदबाब दिन आवश्यक रहेको बताए ।

काँग्रेस नेता पदमराज जोशीले संघर्ष समितिले मात्रै आवाज उठाएर नहुने भएकाले यस क्षेत्रबाट जनताले जिताएका जनप्रतिनिधिले आवाज उठाउनुपर्ने बताए । नेकपाका नेता मिसन सिले संघर्षबिना कुनै पनि उपलब्धि हासिल गर्न नसकिएकाले अहिले पनि सोही अवस्था रहेकाले यस क्षेत्रका जनताले जागरूक हुनुपर्ने बताए । सहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय संघर्ष समितिका संयोजक लोकराज पाण्डेले अब ऐन कार्यान्वयनको पाटो पहिलो कुरा भएको बताए । उनले ऐन कार्यान्वयन भए अन्य कुरा स्वतः अघि बढ्ने बताए ।

  • No tags available
प्रकाशित मिति : २०८२ भदौ २३ गते सोमबार