
नन्दराम जैशी । सुर्खेत ।
सुर्खेतको भेरीगंगा नगरपालिकास्थित रामघाटमा अन्तर्राष्ट्रिय मापदण्डको विमानस्थल बन्ने भएको छ । रामघाट विमानस्थलको वातावरणीय प्रभाव मूल्यांकन (ईआइए) प्रतिवेदन सार्वजनिक गर्दै अन्तर्राष्ट्रिय मापदण्डको विमानस्थल बनाउने पक्का गरिएको हो । कर्णाली प्रदेश राजधानी सुर्खेतको वैकल्पिक विमानस्थलका रूपमा निर्माण गर्न लागिएको यस विमानस्थलको ईआइए प्रतिवेदन सार्वजनिक गर्दै अन्तर्राष्ट्रिय मापदण्डको विमानस्थल बनाउने पक्का गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका इन्जिनियरिङ निर्देशक हरिप्रसाद अधिकारीका अनुसार अघि सारिएको यो विमानस्थल आयोजनाको सार्वजनिक सुनुवाइ कार्यक्रमका अवसरमा ईआइए प्रतिवेदन सार्वजनिक गरिएको हो ।
भेरीगंगा नगरपालिका–१२ छिन्चुमा आयोजित उक्त कार्यक्रममा सहभागी स्थानीयवासी, सरोकारवाला निकाय र जनप्रतिनिधिहरूले विमानस्थल निर्माणलाई ऐतिहासिक अवसरका रूपमा लिएका छन् । विमानस्थल निर्माणलाई तत्काल कार्यान्वयनमा लैजान उनीहरूले माग गरेका छन् । प्रतिवेदनअनुसार भेरीगंगा नगरपालिका–९, १० र ११ मा पर्ने गरी २१८.२६ हेक्टर क्षेत्रफलमा विमानस्थल निर्माण गरिनेछ । यसमा १३१.४६ हेक्टर सामुदायिक वन र ८६.८० हेक्टर राष्ट्रिय वन क्षेत्र पर्छ । विमानस्थल समुद्री सतहबाट करिब ६२८ मिटर उचाइमा रहनेछ । धावनमार्ग २,७९० मिटर लम्बाइ र ४५ मिटर चौडाइको हुनेछ ।
ए–३२० र बी–७३७ जस्ता १५० सिटसम्मका जहाज सहजै अवतरण र उडान गर्न सक्नेगरी विमानस्थल डिजाइन गरिएको प्राधिकरणले जनाएको छ । पूर्व–पश्चिम धावनमार्गसहित अन्तर्राष्ट्रिय मापदण्डअनुसार विमानस्थल निर्माण हुने उल्लेख छ । यससँगै ट्याक्सीवे, ह्याङ्गर, कन्ट्रोल टावर, इन्धन भण्डारण, कार्गो भवन, प्रहरी चौकी, पार्किङ स्थल र सुरक्षा चौकीलगायतका संरचना पनि बन्नेछन् । एप्रोनमा एकैपटक १७ विमान अट्ने क्षमता रहनेछ भने २४ हजार ३ सय ७५ वर्गमिटरमा टर्मिनल भवन निर्माण गरिनेछ । विमानस्थल सञ्चालनमा आएपछि दैनिक ११ उडान हुने र करिब ३७४ यात्रुलाई ओसारपसार गर्न सकिने अनुमान छ ।
प्रतिवेदनअनुसार विमानस्थलले सुर्खेत मात्र नभई सम्पूर्ण कर्णाली र सुदूरपश्चिम प्रदेशका दुर्गम जिल्लालाई राष्ट्रिय राजधानीसँग जोड्नेछ । यसले व्यापार, पर्यटन र कृषि उत्पादनको बजार विस्तारमा ठूलो टेवा पुग्ने अपेक्षा गरिएको छ । विमानस्थल निर्माणका क्रममा करिब ३५० जनालाई प्रत्यक्ष रोजगारी दिने अनुमान गरिएको छ । यसमा ५० दक्ष, १०० अर्धदक्ष र २०० अदक्ष कामदार सामेल हुनेछन् । यस्तै स्थानीय फलफूल, तरकारी, दूध र मासु उत्पादनको खपत बढ्नेछ भने होटल तथा पर्यटन व्यवसायमा वृद्धिसँगै स्थानीय अर्थतन्त्रमा ठूलो फाइदा पुग्ने अपेक्षा गरिएको छ ।
असर र समाधानका उपाय
विमानस्थल निर्माणका क्रममा करिब ४४ हजार ६०५ रूख काट्नुपर्नेछ । यसले वन्यजन्तुको वासस्थानमा असर गर्ने पक्का छ । स्थानीय पाइपलाइन र सिँचाइ कुलो प्रभावित हुनुका साथै धुलो र ध्वनि प्रदूषण बढाउने तथा फोहोर व्यवस्थापन जस्ता चुनौती बन्ने प्रतिवेदनमा उल्लेख छ। विशेषगरी मदानीचौर क्षेत्रमा राति ध्वनि प्रदूषण सामान्यभन्दा बढी हुने अनुमान गरिएको छ । त्यस्तै एक हजार २०० मिटर पाइपलाइन र एक हजार १६७ मिटर सिँचाइ कुलो प्रभावित हुने देखाइएको छ । प्रभावित क्षेत्रमा १५ प्रजाति स्तनधारी, ६२ प्रजाति चराचुरुङ्गी, १२ प्रजाति सरिसृप र चार प्रजाति उभयचर पाइन्छन् ।
यीमध्ये १५ प्रजाति सिआइटिइ सूचीमा र तीन प्रजाति आइयूसी रातो सूचीमा परेका छन् ।प्राधिकरणले नकारात्मक असर न्यून गर्न विभिन्न योजना अघि सारेको छ । एक रूख काट्दा १० रूख रोप्ने गरी चार लाख ४६ हजार भन्दा बढी बिरुवा रोपण गर्ने र कम्तीमा पाँच वर्षसम्म संरक्षण गर्ने योजना बनाइएको छ । धुलो नियन्त्रणका लागि सडकमा नियमित पानी छर्कने, निर्माण सामग्री टारपलिनले छोपेर ढुवानी गर्ने, कामदारलाई हेलमेट, मास्क, पञ्जा र बुट जस्ता सुरक्षा सामग्री उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने प्रतिवेदन उल्लेख छ । पाइपलाइन र कुलो प्रभावित हुनेलाई क्षतिपूर्ति दिने, स्थानीयलाई रोजगारीमा प्राथमिकता दिने र तालिममार्फत सीप विकास गर्ने उपाय पनि उल्लेख छन् ।
सार्वजनिक सुनुवाइ पनि गरियो
सार्वजनिक सुनुवाइ कार्यक्रममा बोल्दै भेरीगंगा नगरप्रमुख यज्ञप्रसाद ढकालले विमानस्थल निर्माणकार्य कर्णाली प्रदेशकै गौरवको आयोजना रहेको बताए । ‘विमानस्थल निर्माणमा सरकारले अब ढिलाइ गर्नु हुँदैन । यो विमानस्थल प्रदेशकै जीवनरेखा बन्नेछ,’ उनले भने, ‘यसमा स्थानीय सरकारबाट हुने सबै सहयोग गर्न तयार छौँ ।’ नगर उपप्रमुख धनसरा बोहराले वातावरणीय प्रभाव न्यून पार्न वैज्ञानिक उपाय अवलम्बन गर्नुपर्नेमा जोड दिइन् ।
स्थानीयलाई रोजगारीमा प्राथमिकता दिनुका साथै महिला र विपन्न समुदायलाई विशेष अवसर दिनुपर्ने उनको भनाइ छ । नेपाली काँग्रेस भेरीगंगा नगर सभापति रामबहादुर सिंहले दलगत स्वार्थभन्दा माथि उठेर यो आयोजना अघि बढाउनुपर्ने धारणा राखे । राजनीतिक प्रतिबद्धता बलियो भए मात्रै विमानस्थल छिट्टै बन्न सक्ने उनको भनाइ छ । स्थानीयवासी धनबहादुर विकले विपन्न परिवारका सदस्यलाई काममा प्राथमिकता दिन आग्रह गरे । गरिब परिवारका लागि रोजगारी नै ठूलो राहत हुने उनले बताए । यति ठूलो विमानस्थल बन्ने कुरामा स्थानीयहरू एक भएर सहयोग गर्नुपर्ने उनको भनाइ छ ।
सुर्खेत भेरीगंगा रामघाट विमानस्थल केवल कर्णाली प्रदेशकै नभई सिंगो पश्चिम नेपालको आवश्यक पूर्वाधारको रूपमा देखिएको सरोकारवालाहरूको भनाइ छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनमा समावेश सबै व्यवस्थापन योजना कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ । स्थानीयवासीको सहकार्य र सरकारको समयमै पहल भएमा विमानस्थल कर्णाली प्रदेशको गौरवमयी पूर्वाधार बन्ने अपेक्षा गरिएको छ ।








प्रतिक्रिया दिनुहोस्