वीरेन्द्रनगर ।
कर्णाली प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयले लेखा समूहका विभिन्न तहका ५७ जना कर्मचारीको सरुवा, पदस्थापन र कामकाजमा खटाएको छ । भदौ १६ गतेको मन्त्रीस्तरीय निर्णयानुसार भन्दै प्रदेशभित्रका विभिन्न कार्यालयहरूमा कार्यरत लेखा कर्मचारीहरूको सरुवा तथा पदस्थापन गरिएको हो । सार्वजनिक गरिएको विवरणअनुसार, प्रमुख लेखा अधिकृतदेखि लेखा सहायकसम्मका कर्मचारीहरूलाई प्रदेशका विभिन्न मन्त्रालय, निर्देशनालय, आयोग, अस्पताल, प्रयोगशाला तथा जिल्लास्थित कार्यालयहरूमा पठाइएको छ । मुख्य चार जना प्रमुख लेखा अधिकृतहरूको सरुवा र कामकाज गराइएको छ ।
जसमा यमुना श्रेष्ठलाई शिक्षा विकास निर्देशनालयबाट पूर्वाधार विकास निर्देशनालयमा सरुवा गरिएको छ भने बखतबहादुर शाहीलाई पूर्वाधार विकास निर्देशनालयबाट उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयमा कामकाज तोकिएको छ । यस्तै मिलनकुमार शर्मालाई प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रबाट शिक्षा विकास निर्देशनालयमा सरुवा गरिएको मन्त्रालयले जनाएको छ । यता धनप्रसाद शर्मालाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा सरुवा गरिएको छ ।
यस्तै प्रदेशभित्र करिब ४० जना लेखा अधिकृतहरूको सरुवा र पदस्थापन गरिएको छ । उनीहरूलाई प्रदेश लेखा नियन्त्रक कार्यालय, जनस्वास्थ्य प्रयोगशाला, आयुर्वेद अस्पताल, जनस्वास्थ्य सेवा कार्यालय, लोकसेवा आयोग, कृषि प्रयोगशाला, डिभिजन वन कार्यालय, खानेपानी सिँचाइ तथा ऊर्जा विकास निर्देशनालय र पूर्वाधार विकास निर्देशनालय लगायतका निकायमा सरुवा गरिएको हो ।
केही लेखा कर्मचारीलाई प्रदेशभित्रकै कार्यालयमा थप जिम्मेवारीसहितको कामकाजमा खटाइएको पनि विवरणमा उल्लेख छ । यसैगरी आठ जना वरिष्ठ लेखा सहायक र चार जना लेखा सहायकहरूको पनि सरुवा, पदस्थापन र कामकाज गराइएको छ । उनीहरूलाई विभिन्न डिभिजन वन कार्यालय, सामाजिक विकास कार्यालय, प्रदेश लेखा इकाई कार्यालय, जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय लगायतका कार्यालयहरूमा पठाइएको छ । प्रदेश सरकार मातहतका विभिन्न कार्यालयहरूमा लेखा प्रशासनलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।








प्रतिक्रिया दिनुहोस्