वीरेन्द्रनगर ।
कर्णाली प्रदेशस्तरीय युवा मानवअधिकार रक्षकहरूले सुर्खेतमा सम्मेलन गरेका छन् । सम्मेलनको उद्घाटन गर्दै कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले दिगो विकास लक्ष्य हासिल गर्न मानवअधिकार रक्षकहरूको भूमिका अपरिहार्य रहेको बताए । नवअधिकार रक्षकहरूले राज्यको आँखाका रूपमा काम गरिरहेको उल्लेख गर्दै उनीहरूको सक्रियता र प्रतिबद्धताबिना सामाजिक न्याय र दिगो विकासका लक्ष्य पूरा नहुने बताए ।
प्रदेश सरकार मानवअधिकार रक्षकहरूको सुरक्षा, सशक्तीकरण र सहभागितालाई प्राथमिकतामा राख्दै अघि बढेको उनको भनाइ छ । प्रदेश मामिला समिति सभापति कल्याणी खड्काले मानवअधिकार रक्षकहरूलाई आत्मबलपूर्वक अघि बढ्न आग्रह गरिन् । मानवअधिकारको संरक्षण र प्रवद्र्धनका लागि युवाहरूको सामूहिक आवाज सशक्त बन्न जरुरी रहेको उनको भनाइ छ । स्थानीयदेखि प्रदेश र राष्ट्रिय तहसम्म उनीहरूको पहलले नै न्यायपूर्ण समाजको निर्माण सम्भव हुने खड्काले बताइन् ।
सम्मेलनमा दिगो विकास लक्ष्यको कार्यान्वयनमा युवा मानवअधिकार रक्षकहरूको भूमिका, राज्यको दायित्व, सुरक्षा, शारीरिक अखण्डता, कल्याण, शान्ति र संस्थागत पक्षसम्बन्धी लुभराज न्यौपानेले प्रस्तुतीकरण गरेका थिए । सम्मेलनमा प्रदेशका १० वटै जिल्लाका जिल्लास्तरीय युवा मानवअधिकार रक्षक सञ्जालका प्रतिनिधिहरू, पत्रकार र सरोकारवालाहरूको सहभागिता छ । ग्रामीणमुखी युवा अभियान नेपाल र युवा मानवअधिकार रक्षक सञ्जालको संयुक्त आयोजनामा एइआइएनको सहयोग तथा राष्ट्रिय मानवअधिकार आयोग कर्णाली प्रदेशको समन्वयमा सम्मेलन गरिएको हो ।
यसै क्रममा रोयम नेपालले अन्य जिल्लास्तरीय सञ्जालहरूसँग सहकार्य गरी कर्णालीका १० जिल्लामा १० वटा एकदिने कार्यशाला सञ्चालन गर्ने र दुई वर्षमा दुईपटक प्रादेशिक कार्यशाला समेत आयोजना गर्ने योजना प्रस्तुत गरेको छ । हरेक कार्यशालामा विविध पृष्ठभूमिमा २० देखि ३० जना युवा मानवअधिकार रक्षकहरूको सहभागिता रहनेछ ।









प्रतिक्रिया दिनुहोस्