खजुरा (बाँके) ।
बाँकेको खजुरामा विभिन्न सूचकहरूको मूल्यांकनमा खजुरा प्राथमिक स्वास्थ्य केन्द्र प्रथम भएको छ । खजुरा गाउँपालिका वडा नम्बर ३ स्थित रहेको खजुरा प्राथमिक स्वास्थ्य केन्द्र आन्तरिक मूल्यांकनमा प्रथम भएको हो । खजुराका ८ वटा वडामा रहेका स्वास्थ्य केन्द्रहरूको आन्तरिक मूल्यांकन गाउँपालिकाले हरेक वर्ष गर्दै आइरहेको छ । यसरी मूल्यांकन गर्दा वडा नं ३ को प्राथमिक स्वास्थ्य केन्द्र पहिलो भएको स्वास्थ्य शाखा प्रमुख लक्ष्मी ओली केसीले जानकारी दिइन् ।
यस्तै वडा नम्बर ८ मा रहेको रनियापुर स्वास्थ्य चौकी दोस्रो र उढरापुर स्वास्थ्य चौकी तेस्रो स्थान प्राप्त गरे । आर्थिक वर्ष २०८१–०८२ मा सम्पादित स्वास्थ्य कार्यक्रमको पालिकास्तरीय वार्षिक समीक्षा गोष्ठिमा उक्त सम्मानका साथै पुरस्कृत गरिएको थियो । गोष्ठीमा खजुरामा रहेका ८ वटै स्वास्थ्य केन्द्रका प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो । खजुराको समग्र स्वास्थ्य सेवाका बारेमा चर्चा गर्दै खजुरा गाउँपालिका अध्यक्ष डम्बरबहादुर विक तुफानले सर्वसुलभ र तत्कालै स्वास्थ्य सेवा प्रदान गर्न सम्बन्धित शाखाहरू थप सक्रिय बन्न आवश्यक रहेको बताए ।
खजुरा स्वास्थ्य क्षेत्रमा उल्लेख्य प्रगति गर्दै आएको भन्दै कर्मचारीहरूको एकता र क्रियाशीलता देखाएमा प्रतिफल पनि राम्रो आउने उल्लेख गरे। संस्थागत कमीकमजोरीलाई मध्यनजर गरि कर्मचारीहरूले यसतर्फ गम्भीर भएर सेवा प्रदान गर्न अध्यक्ष विकले आग्रह गरे । खजुरा गाउँपालिका उपाध्यक्ष मञ्जु मल्लले खजुरामा स्वास्थ्य चौकीहरूमा प्राथमिक उपचारका सेवा सहजै प्रदान गरिने भएकाले ढुक्कसँग सेवा लिन आग्रह गरिन् ।
पालिकाले स्वास्थ्य क्षेत्रलाई थप क्रियाशील बनाउन सोही अनुसारको कार्यक्रमहरू पनि अघि बढाएकाले यसको सही उपयोग गर्नुपर्नेमा जोड दिइन् । स्वास्थ्य शाखाको आयोजनामा भएको वार्षिक समीक्षा कार्यक्रममा खजुराका स्वास्थ्य क्षेत्रको मुख्य समस्याका बारेमा शाखा प्रमुख केसीले प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । खजुराका विद्यालयहरूमा गरिएको परीक्षणका आधारमा कोशोरीहरूमा रक्तअल्पता ४२ प्रतिशत देखिएको छ । विद्यालयका किशोरीहरूलाई आइरन चक्की खुवाउन पहल नगरेका कारण समस्या रहिरहेको हो ।
पछिल्ला दिनमा नसर्ने प्राणघातक रोगहरू बढ्दै गइरहेको प्रतिवेदनमा उल्लेख छ । खजुरामा मात्रै एक वर्षभित्र १२४ जना कडा रोगका सिफारिस लिएका बिरामी रहेको शाखा प्रमुख केसीले जनाइन् । स्वास्थ्य क्षेत्रमा जनशक्तिको अभाव हुँदा आवश्यक सेवासमेत प्रदान गर्न मुश्किल पर्ने गरेको छ । संघ र प्रदेशबाट उपलव्ध गराउने औषधि सामग्रीहरू समय समयमा सटेज हुँदा बिरामीलाई खालीहात फर्काउन बाध्य हुनुपरेको उनले गुनासो गरिन् । कार्यक्रममा जनस्वास्थ्य कार्यालय बाँकेका प्रमुख, फोकल पर्सन नरेशबाबु श्रेष्ठ, खजुराका ८ वटै स्वास्थ्य चौकीका प्रमुख प्रतिनिधिहरू, पत्रकार लगायतको सहभागिता रहेको थियो ।









प्रतिक्रिया दिनुहोस्