22 March 2023  |   बुधबार, चैत्र ८, २०७९

संगठन सुदृढिकरणमा ध्यान दिनुपर्छः सहमहामन्त्री राठौर

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, फाल्गुन ५, २०७९  

नेपालगन्ज (बाँके),  नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले नेपाली कांग्रेसका नेता कार्यकर्ताले संगठन सुदृढिकरणमा ध्यान दिनु पर्ने बताएका छन् । नेपाली कांग्रेस बाँकेको खजुरा गाउँपालिकास्तरीय वार्षिक सम्मेलनको बिहीबार उद्घाटन गर्दै सहमहामन्त्री राठौरले कांग्रेसको विचार र सिद्धान्त तल्लो तहसम्म पु¥याउनु पर्ने बताएका हुन् ।


उनले कांग्रेसको नीति र सिद्धान्त सही भए पनि तद्अनुरुप व्यवहार हुन नसकेको कुरा उठिरहेकोतर्फ कांग्रेसका सबै तह र तप्काका नेता कार्यकर्ता गम्भीर हुनु पर्ने बताए । ‘राजनीति जनताको हित र भलाईका लागि गरिनु पर्ने भए पनि पछिल्लो समयमा स्वार्थ प्रेरित हुँदै गएको छ,’ उनले भने, ‘जनसेवा र हितका पक्षमा राजनीति गर्नु पर्छ ।’ सहमहामन्त्री राठौरले स्थापित दलहरुसँग जनता टाढिएका कारण स्वतन्त्रका नाममा विचारविहीनहरुले राजनीतिमा हस्तक्षेप गर्न थालेको जनाए ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य आशा विक, प्रदेशसभा सदस्य बादशाह कुर्मी, नेपाली कांग्रेस बाँकेका सभापति नारायण गौडेलले कांग्रेस अरु दलभन्दा फरक छ र जनताका पक्षमा निरन्तर काम गर्दै आएको छ भन्ने कुरा जनतासमक्ष पु¥याउनु नेता कार्यकर्ताको काम भएको बताए ।

कार्यक्रममा संगठन सुदृढिकरणमा योगदान गरेको भन्दै नेपाली कांग्रेस बाँकेका पूर्व सभापति कृष्णमान श्रेष्ठसहित सातजना नेताहरुलाई सम्मान गरिएको छ । हरिप्रसाद ढुंगाना, रामबहादुर थापा, धनबहादुर आचार्य, नवराज थापा, खलिल खाँ र रामबहादुर गुरुङलाई सम्मान गरिएको नेपाली कांग्रेसले जनाएको छ । कार्यक्रम खजुरा पालिका सभापति रमेश सिँजालीको सभापतित्वमा सम्पन्न भएको छ ।

प्रकाशित मितिः शुक्रबार, फाल्गुन ५, २०७९     8:43:43 AM  |