बाँसगढीमा ‘ग्रीन स्कुल कार्यक्रम’



ग्रीन स्कुल कार्यक्रम पहिलो चरणमा बाँसगढीका दुई वटा विद्यालयमा लागु गरिएको छ । क्रमशः नगरपालिकाका सबै विद्यालयमा कार्यक्रम लागु गर्ने योजना रहेको छ । हरित बाँसगढी अभियानलाई यो कार्यक्रमले सहयोग पुग्ने नगरपालिकाले विश्वास लिएको छ ।

कोहलपुर (बाँके) ।

बर्दियाको बाँसगढी नगरपालिकामा ‘ग्रीन स्कुल कार्यक्रम’ सुरु भएको छ । वन्यजन्तु संरक्षण नेपाल र युनेस्कोको समन्वयमा बाँसगढीमा ‘ग्रीन स्कुल कार्यक्रम’ सुरु भएको हो । यो कार्यक्रम पहिलो चरणमा बाँसगढीका दुई वटा विद्यालयमा सञ्चालन गरिएको छ । शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख मनप्रसाद रेग्मीका अनुसार यो कार्यक्रम सञ्चालन गर्ने बर्दिया जिल्लामै बाँसगढी नगरपालिका एकमात्र स्थानीय तह हो । यो कार्यक्रम विद्यालय केन्द्रित रहेको उनले बताए ।

‘कार्यक्रम नगरपालिकाका दुई वटा विद्यालयमा सञ्चालन भएको छ । यो विद्यालय केन्द्रित कार्यक्रम हो । जलवायु परिवर्तनका विभिन्न आयामबारे विद्यार्थी, शिक्षक र अभिभावकलाई प्रशिक्षित गराइनेछ ’ शाखा प्रमुख रेग्मीले मिसन टुडेसँग भने । कार्यक्रम पहिलो चरणमा बाँसगढी नगरपालिका वडा नम्बर ५ मा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बाँसगढी र वडा नम्बर ४ मा रहेको जनता माध्यमिक विद्यालयमा सञ्चालन हुनेछ । विद्यालयमा ‘शून्य फोहोर’ यसको प्रमुख उद्देश्य रहेको छ ।

यस्तै विद्यालयलाई हरियाली र स्वच्छ बनाइनेछ । कार्यक्रमअन्तर्गत जलवायु परिवर्तनसम्बन्धी विद्यार्थीहरूलाई जानकारी प्रदान गरिने शाखाले जनाएको छ । उनले भने, ‘कार्यक्रमको उद्देश्य हरियाली प्रवद्र्धन गर्नु नै हो । यस विषयमा जलवायु परिवर्तनसम्बन्धी विद्यार्थी र अभिभावालाई सचेतना फैलाइनेछ । कार्यक्रमअन्तर्गत विद्यालयमा वृक्षारोपण हुन्छ । फोहोर व्यवस्थापन गरिनेछ ।’ यस्तै विद्यार्थीहरूलाई जलवायु परिवर्तनबारे जानकारी दिने, उत्पादनमूलक काममा विद्यार्थीलाई सरिक गराउने, अर्गानिक उत्पादनमा जोड दिने र विद्यार्थीहरूलाई आयमूलक व्यहारिक ज्ञानको सीप सिकाउने कार्यक्रमको ध्येय रहेको छ ।

कार्यक्रमपश्चात् विद्यालयप्रति आकर्षण बढाउने र जलवायु परिवर्तन असरलाई न्यूनीकरण गर्ने कार्यक्रमको लक्ष्य रहेको छ । कार्यक्रम सञ्चालनपूर्व विद्यालय, जनप्रतिनिधि र कर्मचारीहरूलाई जलवायु परिवर्तन शिक्षा अभिमुखीकरण तालिम प्रदान गरिएको थियो ।अभिमुखीकरण तालिममा बोल्दै बाँसगढी नगरपालिकाका नगर प्रमुख खड्कबहादुर खड्काले शिक्षालाई जीवनसँग जोड्दै वातावरणमैत्री व्यवहारमा विद्यार्थीलाई प्रशिक्षित गरिने कार्यक्रमको उद्देश्य रहेको बताए ।

उनका अनुसार ग्रीन स्कुल कार्यक्रमको अवधारणालाई सार्थक बनाउन नगर क्षेत्रका विभिन्न विद्यालयमा प्रशिक्षण तथा अभिमुखीकरण तालिम आयोजना गरिनेछ । पहिलो चरणमा औपचारिक रूपमा दुई वटा विद्यालयमा कार्यक्रम सञ्चालन भएपनि नगर क्षेत्रका २० वटा विद्यालयमा जनचेतनामूलक कार्यक्रम आयोजना गरिने शिक्षा युवा तथा खेलकुद शाखाले जनाएको छ । कार्यक्रमअन्तर्गत विद्यालय परिसर, प्रांगणमा वृक्षारोपण, बगैँचा र कौसीखेती विकास गरिनेछ ।

यस्ता छन् शिक्षासम्बन्धी नीति

निर्धारित मापदण्ड र निर्देशिका, विद्यार्थी सङ्ख्या आवश्कताका आधारमा शिक्षक दरबन्दी मिलान तथा विद्यालय मर्ज प्रक्रिया अघि बढाइनेछ । सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट कक्षा सञ्चालनको नीति लिइएको छ । अंग्रेजी, गणित र विज्ञानजस्ता विषयमा विषयगत शिक्षकको व्यवस्था, उत्कृष्ट नतिजाका आधारमा विद्यार्थी र विद्यालयलाई पुरस्कृत गरिने उल्लेख छ ।

कक्षा ११ र १२ तर्फ प्राविधिक धारमा अध्ययन गर्न प्रोत्साहित गरिने र विज्ञान विषय सञ्चालनलाई प्राथमिकतामा राखी जेहेन्दार विद्यार्थी छात्रवृत्ति र विद्यालय अनुदानको व्यवस्था गरिने उल्लेख गरिएको छ । पढ्दै कमाउँदै कार्यक्रमलाई निरन्तरता दिइनेछ । रोजगार उन्मुख विषय छनोट गर्न विद्यार्थीहरूलाई प्रदेश सरकारसँगको समन्वयमा वृत्ति परामर्श कार्यक्रम सञ्चालन गरिनेछ । त्यसैगरी फ्रि वाइफाइ जोन र निःशुल्क तथा आधारभूत शिक्षा कार्यान्वयनमा जोड दिइने बताइएको छ ।

वडा शिक्षा समितिलाई क्रियाशील बनाउने, विद्यालय व्यवस्थापनलाई थप प्रभावकारी बनाउन प्रधानाध्यापकसँगको कार्यसम्पादन करार सम्झौतालाई निरन्तरता दिने उल्लेख गरिएको छ । लुम्बिनी प्राविधिक विश्वविद्यालयसँगको सहकार्यमा केन्द्रीय क्याम्पस सञ्चालनका लागि प्रक्रिया अघि बढाउने उद्देश्य रहेको छ । यस्तै खेलाडी विशेष कार्यक्रम सञ्चालन गरिने पनि चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ भदौ १८ गते बुधबार