बुटवल ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्व. रामप्रसाद बञ्जाडे टंकमणिको शालिक अनावरण गरेका छन् । माओवादी नेता टंकमणिको शालिक अनावरण गर्नुका साथै ‘टंकमणि ः एक क्रान्ति विजक’ नामक पुस्तकको विमोचन पनि गरेका छन्।
शहीद स्मृति प्रतिष्ठान नेपालले बनाउन लागेको शालिक र पुस्तक प्रचण्डले आइतबार बुटवलमा आयोजित कार्यक्रममा अनावरण र विमोचन गरेका हुन् ।
उक्त कार्यक्रममा प्रचण्डले राजनीतिक र अन्य विषयमा केही बोलेनन् । उनले स्व. टंकमणि र उनको परिवारको विषयबाहेक अरु विषयमा बोलेनन् । अध्यक्ष प्रचण्डले राम्रो प्रतिरोध गर्न सकिएकाले जनयुद्व सफल भएको तर्क गर्दै तत्कालीन अवस्थामा पार्टी कामका लागि सप्लाई र प्राविधिक काम जटिल भएको बताउँदै सप्लाई र प्राविधिक काम गरेर टंकमणिले जनयुद्व सफल बनाउन ठूलोे योगदान पुराएको स्मरण गरे ।
बाहिरको मासमा नदेखिने, सांसद, मन्त्री पनि नहुने तर पार्टीभित्र राम्रो काम गरेका टंकमणिको योगदान उच्च रहेको बताउँदै अध्यक्ष प्रचण्डले भने, ‘पार्टीमा ठूलोे योगदान पु¥याएपनि टंकमणिलाई पार्टीले केही गर्न सकेन र मैले पार्टीमा आत्मसमीक्षा गरिसकेको छु, अब हामीमाझ टंकमणि नभएपनि उहाँले पु¥याएको योगदानलाई कदर गरेर घरपरिवारलाई सहयोग गर्नुपर्छ ।’ उनले टंकमणिको स्मरण गर्दै जनयुद्धको समयमा जोखिम मोलेर जिम्मेवारीपूर्ण काम गरेका योद्वालाई कहिल्यै भुल्न नहुने बताए ।
बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेले टंकमणि माओवादीको मात्र नभइ सिंगो समाजको नेता भएको बताउँदै परिवर्तनका लागि लडेका योद्धा टंकमणिको शालिक बनाउन सहयोग पुराउने बताए । आफूहरू काँग्रेस माओवादी गठबन्धनबाट निर्वाचित भएकाले केन्द्रमा गठबन्धन भत्केपनि पालिकामा गठबन्धनको मर्मअनुसार काम गरिएको प्रमुख पाण्डेले बताए ।
कार्यक्रममा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन, पार्टी सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज चक्रपाणि खनाल, पूर्वसभामुख ओनसरी घर्ती, पूर्वमन्त्रीहरू रेखा शर्मा, पार्टीका लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री कुलप्रसाद केसी, जोखबहादुर महरा, पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बराल लगायतका नेताहरूको सहभागिता थियो । विद्यार्थीबाट राजनीतिमा लागेका टंकमणिको २०७८ साल मंसिर ८ गते बुटवलमा मोटरसाइकल दुर्घटनामा परी मुत्यु भएको थियो ।









प्रतिक्रिया दिनुहोस्