नौ वर्षीय बालक हत्या प्रकरणः गोलपार्कबाट अपहरणमा परेका थिए कुशल



शुभाकर विश्वकर्मा । कोहलपुर (बाँके) ।

२०८२ वैशाख १५ गते बैजनाथ गाउँपालिका–४ स्थित नौलापुरमा हत्या गरिएको अवस्थामा भेटिएका नौ वर्षीय बालक कुशल बुढा हत्या मुद्दामा नौ जना कारागार चलान भएका छन् । बुढाको हत्या आरोपमा उनकी आमा, झट्केलो बुवा, एक बालक र एक भारतीयसहित नौ जना कारागार चलान भएका हुन् । इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेका अनुसार जिल्ला अदालत बाँकेले उनीहरूलाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको हो ।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक हरी भट्टराईले कुशलको हत्या प्रकरणमा कारागार चलान हुनेमा कोहलपुर नगरपालिका–११ मा भाडाको कोठामा बस्दै आएकी ३१ वर्षीया आमा यशोदा बुढा, झट्केलो बाबु दैलेखको दुल्लु नगरपालिका–१० घर भई कोहलपुर बस्दै आएका ३३ वर्षीय निरकनाथ योगीसहित अन्य ६ जना रहेका छन् भने एक जना बालकलाई बाल सुधारगृहमा पठाइएको थियो । पुर्पक्षका लागि कारागार चलान हुनेमा भारतीय नागरिक बहराइच जिल्ला थाना मोतिपुर गाउँ मिहीपुरुवाका २४ वर्षीय निमामुद्दिन नाँउसमेत रहेका छन् ।

उनी कोहलपुर नगरपालिका वडा नम्बर ३ मदनचोकमा साइकल बनाउने काम गर्दै आएका थिए । हत्यापश्चात् प्लाष्टिकमा बेरिएको अवस्थामा शव भेटिएको प्रकरणमा जोडिएका कोहलपुर नगरपालिका वडा नम्बर –४ का अन्यलाई पनि कारागार चलान गरिएको प्रहरी निरीक्षक भट्टराईले जानकारी दिए । कारागार चलान हुनेहरूमा कोहलपुर–४ गोवा गाउँ गफारपुर टोलका रमजान नाँउ, ४३ वर्षीय मोहम्मद सरिफ नाउँ, ४५ वर्षीय जमीन नाँउ रहेका छन् । यसैगरी, सोही टोलका ५४ वर्षीय सब्बिर नाँउ र २४ वर्षीय सकिल नाँउ रहेको कोहलपुर प्रहरीले जनाएको छ ।

भारतको बहराइच जिल्ला थाना मोतिपुर गाउँ मिहीपुरुवा घर भई कोहलपुर–१२ चपरगौरीमा कपाल काट्ने पेसा गर्ने १७ वर्षीय सल्मान सल्मानी भनिने अजमेर अलीलाई बाल सुधारगृहमा पठाइएको प्रहरी निरीक्षक भट्टराईले बताए । ‘पुर्पक्षका लागि कारागार चलान गरिएकाहरू नै हत्यामा संलग्न मुख्य आरोपी हुन् । मुद्दाको अन्तिम फैसला हुन बाँकी छ,’ उनले भने । कोहलपुर माध्यमिक विद्यालय कोहलपुर–११ मा कक्षा ३ मा अध्ययन गरिरहेका नौ वर्षीय कुशल बुढा गत वैशाख ८ देखि हराइरहेका थिए ।

अनुसन्धानको क्रममा प्रतिवादी जमिर नाउँलगायत बुढालाई सोहीदिन कोहलपुर–११ गोलपार्क नजिकबाट अपहरण गरी हत्या गरेको खुलेको प्रहरीले जनाएको छ । कुशललाई साइकल चलाइरहेको बेलामा उनीहरूले चकलेट र मिठाइ दिएर उनले चलाएको साइकलसहित अटोमा राखेर लिएको बयान प्रतिवादीहरूले गरेका थिए । हत्या प्रकरणमा जोडिएका एक जना अझै फरार रहेका छन् । वैशाख ९ गते हाल पुर्पक्षका लागि कारागारमा रहेकी यशोदा बुढाले इलाका प्रहरी कार्यालय कोहलपुरमा छोरा हराएको भन्दै निवेदन दिएकी थिइन् ।

१५ गते कुशलको शव बीभत्स रूपमा हत्या गरिएको अवस्थामा भेटिएको थियो । सोहीदिन कुशलका हजुरबुवाको किटानी जाहेरीको आधारमा कोहलपुर प्रहरीले यशोदा र निरकलाई पक्राउ गरेको थियो । उनीहरू श्रीमान् श्रीमती हुन् । यशोदाको निरकसँग दोस्रो विवाह थियो । यशोदाको माइती घर कैलाली हो । कुशलका बुवाको सात वर्षअघि नै मृत्यु भइसकेको थियो । बुबाको मृत्यु हुँदा कुशल डेढ वर्षका मात्रै थिए । यशोदा चिसापानीस्थित एक संस्था–कम्पनीमा सेक्युरिटी गार्डको रूपमा काम गर्थिन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ भदौ १६ गते सोमबार