नेपालमा सन् २०२० मा भएको एक अध्ययनले पनि आश्रमहरूमा बस्ने करिब ७५ प्रतिशत ज्येष्ठ नागरिकहरू अल्जाइमर्सको जोखिममा हुने गरेको खुलाएको थियो । इन्टरनेश्नल जर्नल अफ ओल्डर पिपल नर्सिङ नामक जर्नलमा सन् २०२२ जुलाईमा प्रकाशित उक्त अध्ययनमा ५३ दशमलव ७ प्रतिशत नेपाली ज्येष्ठ नागरिकमा डिमेन्सियाको जोखिम रहेको पाइएको थियो । जुन अन्तर्राष्ट्रिय जोखिमस्तर ५ प्रतिशतदेखि ४१ प्रतिशतभन्दा निकै बढी हुन आउँछ ।
वीरेन्द्र जैसी । नेपालगन्ज ।
बाँकेको नेपालगन्जस्थित नीलसागर सेवाश्रममा अहिले ५० जनाभन्दा बढी ज्येष्ठ नागरिकहरूमा अल्जाइमर्स अर्थात् स्मृतिभ्रंशको लक्षण रहेको सेवाश्रम बताउँछ । तर ती सबै बिरामीको विशेषज्ञबाट चेकजाँच हुन सकेको भने छैन । सेवाश्रमका अध्यक्ष सरिता खनालका अनुसार उनीहरू सबै प्रायजसो सडकबाट उद्धार गरिएका हुन् । उनीहरूसँग विगतको स्मृति नहुँदा आफ्नो घर पनि कहाँ हो भन्न सक्दैनन् ।
अनि घरका मानिसहरू पनि उनीहरूको खोजीका लागि आउँदैनन् । मानिसहरू सडकमा आइपुग्नुमा पारिवारिक सम्बन्धको विखण्डन वा शारीरिक वा मानसिक रोग नै मुख्य कारण हुने गरेकोमा ज्येष्ठ नागरिकहरूमा अल्जाइमर्सको समस्या एक मूल कारणको रूपमा रहेको सरिताको दाबी छ । नेपालमा सन् २०२० मा भएको एक अध्ययनले पनि आश्रमहरूमा बस्ने करिब ७५ प्रतिशत ज्येष्ठ नागरिकहरू अल्जाइमर्सको जोखिममा हुने गरेको खुलाएको थियो ।
इन्टरनेश्नल जर्नल अफ ओल्डर पिपल नर्सिङ नामक जर्नलमा सन् २०२२ जुलाईमा प्रकाशित उक्त अध्ययनमा ५३ दशमलव ७ प्रतिशत नेपाली ज्येष्ठ नागरिकमा डिमेन्सियाको जोखिम रहेको पाइएको थियो । जुन अन्तर्राष्ट्रिय जोखिमस्तर ५ प्रतिशतदेखि ४१ प्रतिशतभन्दा निकै बढी हुन आउँछ । डिमेन्सिय भनेको डिमेन्सिया बुढ्यौलीको एक असामान्य अवस्था हो, जसमा स्मरणशक्ति, सोच र भाषा जस्ता संज्ञानात्मक क्षमताहरूमा ह्रास आउँछ र यसले दैनिक जीवनमा हस्तक्षेप गर्छ । डिमेन्सियाभित्रको एक प्रमुख समस्या अल्जाइमर्स पनि हो ।
नेपालगन्ज मेडिकल कलेजमा कार्यरत मनोचिकित्सक डा. तनविर अहमद खानका अनुसार अल्जाइमर्स भनेको बढ्दो उमेरसँगै मष्तिस्कको स्मरणशक्तिसम्बन्धी कार्यक्षमता घट्दै जाने समस्या हो । उनका अनुसार यो समस्या प्रायः ६५ वर्षमाथिका ज्येष्ठ नागरिकहरूमा देखिन्छ । जति उमेर बढ्दै जान्छ त्यति नै यसको जोखिम पनि बढ्दै जाने उनले बताए । उनले भने, ‘सामान्यतया ६५ देखि ७० वर्षका ज्येष्ठ नागरिकमध्ये पाँच प्रतिशतमा यो समस्या देखिन सक्छ भने ७० देखि ७५ का १० प्रतिशतमा, ७५ देखि ८० वर्षकामा २० प्रतिशत हुँदै उमेरअनुसार यो सम्भावना दोब्बरले बढ्दै जाने हुन्छ ।’
डा. खानले सुरुमा सामान्यरूपले नामहरू बिर्सने, कहिलेकाहीँ हिँड्ने बाटोहरू बिर्सने समस्या देखिन थाल्छ । त्यसपछि परिवारका सदस्यहरूकै नाम बिर्सने, एकै दिनको पनि घटनाहरू बिर्सन थाल्ने, आफ्नै सामानहरू बिर्सन थाल्ने हुँदै आफ्नै घरसमेत पराई घर हो भन्ने ठान्नेसम्मको स्थिति आउन सक्ने उनले बताए । ‘हुँदा हुँदा समयको भ्रम सिर्जना भई दैनिक जीवनको आफ्ना व्यक्तिगत कामहरू पनि गर्न नसक्ने स्थिति हुन्छ । राति नसुत्ने दिउँसो सुत्ने, दिशापिसाब गर्न शौचालय प्रयोग गर्नुपर्छ भन्नेसम्म बिर्सने स्थिति आउन सक्छ,’ खानले भने । जब बिर्सने समस्याले आफ्नो दैनिक काम गर्न नै समस्या हुन थाल्छ तब उक्त समस्यालाई अल्जाइमर्स भनिने डा. अहमदको भनाइ छ ।
अल्जाइमर्सलाई रोकथाम गर्न नसकिने र उपचारसमेत नभएपनि मानसिक स्वास्थ्यलाई ख्याल गरेमा र समयकै औषधि सेवन गर्न पाएमा अल्जाइमर्सको गम्भीरतातर्फ जाने दर सुस्त गर्न सकिने डा. खानको भनाइ छ । ‘तर हामीकहाँ यो समस्या हो भन्ने चेतनाकै कमी छ ।मानिसहरूले यसलाई स्वास्थ्य समस्याको रूपमा नबुझेर उल्टै ज्येष्ठ नागरिकहरू हेलामा पर्नसक्ने अवस्था आउनसक्छ,’ उनले भने ।
नीलसागरका अध्यक्ष खनाल पनि प्रायः ज्येष्ठ नागरिकहरूलाई परिवारले स्याहार गर्नुपर्ने दायित्वबोध भन्दा पनि बोझको रूपमा लिँदा ज्येष्ठ नागरिकहरू संवेदनात्मक आघातले स्वयं नै सडकमा पुग्ने गरेका बताउँछिन् ।
‘जीवनभरी आफूले बालबच्चालाई हुर्काएको, लालनपालन गरेको स्मृतिका बीच आफू हेलामा पर्न थालेको महसुस भएपछि आमाबुवाहरू आफैँ घर छोडेरसमेत हिँड्ने गरेको पाएकी छु,’ खनालले भनिन् । तर, अल्जाइमर्सका बिरामीलाई घरमा स्याहार गर्न पनि सजिलो छैन । खनालका अनुसार उनले ज्येष्ठ नागरिक स्याहारसम्बन्धी तालिम लिँदा अल्जाइमर्स समस्या भएका ज्येष्ठ नागरिकको स्याहार गर्ने विषयमा पनि तालिम लिएकोले केही सहज भएपनि स्याहार गर्न निकै गाह्रो हुने गरेको बताउँछिन् ।
‘कुन बेला कता हिँडिदिनुहुन्छ । के समस्यामा पर्नुहुन्छ भन्ने नै ठूलो चिन्ताको विषय हुन्छ । एकजना त अनिवार्य साथमा हुनुपर्छ,’ खनालले भनिन् । मनोचिकित्सक खान पनि अल्जाइमर्सको जति रोग बढ्यो, त्यति स्याहार गर्न गाह्रो हुने बताउँछन् । ‘एकजना त २४सै घण्टा बिरामीसँग हुनुपर्छ । उनीहरूले आफूमाथि कुनै दुर्घटना हुन्छ भन्नेसमेत थाहा नहुने भएकोले निगरानी गरिरहनुपर्छ । अर्काेतिर स्याहार गर्ने मानिसको दिनचर्या नै बिरामीको दिनचर्यासँग मिलाउनुपर्ने हुँदा उसको स्वास्थ्यम पनि असर गर्न सक्छ ।
उसले राम्ररी निदाउन पनि नपाउन सक्छ,’ खानले भने । सन् २०२० मा जर्नल अफ इण्डियन एकेडेमी अफ जेरियाट्रिक्समा प्रकाशित अध्ययन प्रतिवेदनले नेपालमा अल्जाइमर डिमेन्सिया भएका बिरामीका हेरचाहकर्ताको भावनात्मक, सामाजिक, आर्थिक, शारीरिक र आध्यात्मिक अवस्थामा ठूलो असर गरिरहेको उल्लेख गरेको थियो । बढ्दो उमेरसँगै सुरु हुने यो रोग अहिले विश्वभर फैलँदो छ । विश्व स्वास्थ्य संगठनका अनुसार डिमेन्सियासमेत भनेर चिनिने यो समस्याले हाल विश्वभर पाँच करोड ५० लाख मानिसहरू प्रभावित छन् ।
जसमध्ये ६० प्रतिशतभन्दा बढी कम र मध्यम आय भएका देशहरूका मानिसहरू छन् । प्रत्येक वर्ष लगभग १० लाख नयाँ बिरामीहरू थपिइरहेका छन् । सन् २०२१ मा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कार्यरत मानसिक रोग विशेषज्ञ मोहन बेलबासे र डा. ज्योति अधिकारीले उनीहरूकहाँ पुगेका बिरामीहरूलाई लिएर एक अध्ययन गरेका थिए । उक्त अध्ययनले एक हजार तीन सय ३२ जना बिरामीमध्ये ५२ जनामा अल्जाइमर्स भएको पाइएको थियो ।
यसैगरी, सन् २००० देखि २०२१ सम्म फरक फरक वर्षमा भएका यस्तै प्रकृतिका ११ वटा अध्ययनले चिकित्सकहाँ पुगेका ३ दशमलव ९ प्रतिशतदेखि २८ प्रतिशतसम्म बिरामीहरू डिमेन्सियाबाट प्रभावित पाइएको थियो । यसबाहेक अल्जाइमर्सका बारेमा सचेतनाको अभावमा बिरामीहरू चिकित्सककहाँ नपुगेको अवस्था पनि छ । रोगको प्रभाव बढिरहँदा उपयुक्त परामर्श र सचेतनाको अभावमा कतिपय अल्जाइमर्स पीडित ज्येष्ठ नागरिकहरू परिवार तथा समाजबाट अपहेलित भएर वा हराएर सडकमा पुग्ने गरेका छन् । अर्काेतिर, परिवारका सदस्यहरूलाई यस समस्याबाट पीडित सदस्यलाई हेरचाह गर्न कठिन भइरहेको अवस्था छ ।
नेपालजस्तो औसत आयु बढ्दै गएका देशहरूमा ज्येष्ठ नागरिकको स्वास्थ्य उपचार एक नयाँ र संवेदनशील समस्यामा रूपमा देखिने डा. खानको भनाइ छ । जसमध्ये अल्जाइमर्स सिधै बढ्दो उमेरसँग सम्बन्धित भएकोले यसको समस्या पनि बढ्दै जाने उनले बताए । डा. खानका अनुसार जापानलगायत विकसित देशहरूमा अल्जाइमर्सका बिरामीलाई औषधिदेखि हेरचाह सरकारले जिम्मा लिन्छ । सरकारले अलग्गै हस्पिटल र हेरचाहको व्यवस्था गरेको हुन्छ ।
नेपालमा सरकारले अल्जाइमरलाई गम्भीर खालको रोगको सूचीमा राख्दै दुई लाखसम्म उपचार खर्च दिने व्यवस्था गरेको छ । तर, यो रोगको प्रकृति हेर्दा उक्त रकम निकै कम भएको डा. खानको भनाइ छ । उनले सरकारले यस्ता रोगका बिरामीको हेरचाहका लागि अलग्गै केन्द्र खोल्न सकेमा राम्रो हुने सुझाव दिए । उनले थपे, ‘जबसम्म सरकारले जिम्मा लिँदैन तबसम्म छोराछोरीले पनि हेरचाह गर्ने जिम्मेवारी हो भन्ने बुझ्नुप¥यो । उहाँहरूले आफूलाई हुर्काउन गरेको मिहिनेत सम्झेर आफ्नो दायित्व सन्तानहरूले पूरा गर्नुप¥यो ।’
नीलसागर सेवाश्रमकी अध्यक्ष खनाल पनि सरकारले अल्जाइमर्सका बिरामीका लागि अलग्गै स्याहार केन्द्र खोल्नुपर्ने बताइन् । ‘जीवनभरी देशका लागि योगदान दिएका ज्येष्ठ नागरिकहरूलाई परेको बेला स्याहार गर्नु राज्यको पनि दायित्व हुन आउँछ । तर, हाम्रो राज्य यतातिर उदासिन भएकोले परिवारका सदस्यहरूले आफ्नो कर्तव्य बिर्सनु भने भएन,’ खनालले भनिन् ।
कसरी गर्ने अल्जाइमर्सका बिरामीको स्याहार
– उठ्ने, खाने, सुत्ने समय निश्चित बनाएर दिनचर्या मिलाइदिने
– झ्यालढोका सुरक्षित बनाउने, चिप्लिने वस्तु हटाउने, औषधि वा धारिलो सामग्री सजिलै नपुग्ने ठाउँमा राख्ने
– बिर्सेको कुरामा मजाक नगर्ने, छोटो वाक्य, स्पष्ट शब्दमा धैर्यपूर्वक बुझाउने
– बिर्सेका कुराहरू क्यालेन्डर, नोट, फोटो, रङ्गसंकेत प्रयोग गरेर सम्झाउन मद्दत गर्ने
– डाक्टरले दिएको औषधि समयमै र निश्चित मात्रामा दिने
– परिवार, साथी वा समूह गतिविधिमा सहभागी गराउने
– सन्तुलित आहार, पर्याप्त पानी र सजिलो खाना उपलब्ध गराउने
– हल्का व्यायाम, हिँडडुल वा योग जस्ता गतिविधिमा प्रोत्साहित गर्ने
– झोक, पुनः पुनः सोध्ने वा बिर्सिने कुरामा रिस नगरी शान्त ढंगले सहयोग गर्ने
– परिवार वा केयरगिभरले आफ्नो मानसिक र शारीरिक स्वास्थ्यमा पनि ध्यान दिने









प्रतिक्रिया दिनुहोस्