केहीले हातमा पञ्जा लगाएका थिए, केहीले खाली हात सफा गरिरहेका थिए । दिउँसो २ बज्दासम्म उनीहरूले कार्यालयका कक्ष सफा गरिसकेका थिए । जलेका फर्किचर, कागजपत्रको खरानी र जलेका दराजका अवशेषहरू कार्यालयको आँगनमा जम्मा गरिएको थियो । त्यसपछि कर्मचारी बस्ने क्वार्टर सफा गरिरहेका उनीहरू आफूहरूको कार्यालय जलेपछि राज्यको कुनैपनि निकायले चासोसमेत नराखेको भन्दै रुष्ट थिए ।

वीरेन्द्र जैसी । नेपालगन्ज ।
रोमन र ग्रीक मिथकमा एउटा फिनिक्स नामक चराको कथा छ । कथाअनुसार, फिनिक्स एक असाधारण चरा हो, जसले आफ्नो जीवनको अन्त्यमा सुगन्धित जडिबुटी र मसलाहरू जम्मा गरेर एउटा गुँड बनाउँछ । त्यसपछि सूर्यको ताप वा आफैँले आगो बालेर त्यो गुँड जलाउँछ र आफूपनि त्यसैमा जलेर खरानी हुन्छ । तर, त्यही खरानीबाट फेरि नयाँ र जवान फिनिक्सको जन्म हुन्छ । मिथक नै सही यतिखेर नेपालका लागि त्यही फिनिक्स चराको कथा एक प्रेरणादायी बिम्ब बन्न सक्छ ।
आइतबार दिउँसो उच्च सरकारी वकिल कार्यालय नेपालगन्जका कर्मचारीहरू हातमा झाडु लिएर कार्यालयको कर्मचारी क्वार्टर सफा गरिरहेका थिए । केहीले हातमा पञ्जा लगाएका थिए, केहीले खाली हात सफा गरिरहेका थिए । दिउँसो २ बज्दासम्म उनीहरूले कार्यालयका कक्ष सफा गरिसकेका थिए । जलेका फर्किचर, कागजपत्रको खरानी र जलेका दराजका अवशेषहरू कार्यालयको आँगनमा जम्मा गरिएको थियो ।त्यसपछि कर्मचारी बस्ने क्वार्टर सफा गरिरहेका उनीहरू आफूहरूको कार्यालय जलेपछि राज्यको कुनैपनि निकायले चासोसमेत नराखेको भन्दै रुष्ट थिए ।
कार्यालयको कुनैपनि कागजपत्रहरू बचेका थिएनन् । अधिकांश मेसिनरी सामान र फर्निचरहरू लुटपाट भएको उनीहरूको भनाइ थियो ।कर्मचारीहरूले कार्यालयको बरण्डामा बचेखुचेका कुर्सीमा बसेर दिउँसोको नास्ता खाए । कतिपय कर्मचारीहरूका लागि बस्ने कुर्सी र बेञ्चसमेत पुगेन । कार्यालयका कार्यकक्षहरूमा जलेको धुवाँ लागेर कालैकालो भएका छन् । एसी, कम्प्युटर र अन्य साधनहरू चोरी भएका छन्। बिजुलीको तारहरू जलेर नष्ट भएका छन् । कार्यालयका सहायक प्रमुख कर्णबहादुर बुढाथोकीले खरानी टकटक्याएर भएपनि कार्यालयका जरुरी सेवाहरू सञ्चालन गर्नसक्ने अवस्था बनाउनेगरी आफूहरूले खरानी टकटक्याइरहेको बताए ।
‘अत्यन्त अपराधिक तरिकाले कार्यालयमा आगो लगाउने र लुटपाट गर्ने काम भयो । हामीलाई शून्यमा पु¥याइयो । तर, अब आशा त बचाइराख्नुप¥यो । अब खरानी टकटक्याएर फेरि उठ्नुभन्दा विकल्प पनि त छैन,’ बुढाथोकीले भने । उनले अहिले कार्यालयका लागि फर्निचरदेखि कप्युटरहरूसम्म जोडजाम गर्नुपर्ने र त्यसका लागि बजेटको पनि आवश्यक पर्ने भएकोले माथिल्लो निकायलाई पर्खिनुको विकल्प पनि नभएको बताए ।
उक्त कार्यालय नजिकै रहेको नापी कार्यालयका कर्मचारीहरू पनि मिसन संवाददाता पुग्दा थाकेर आराम गरिरहेका थिए । सबै कर्मचारीहरू खरानीले ढाकिएका थिए । कोही पसिना पुछ्दै थिए । कार्यालयको प्रांगणमा कागजपत्र जलेर बनेको सेता खरानी छरपस्ट थियो । साथै, जलेर नष्ट भएका दराज र मालसामानहरूको थुप्रो लगाइएको थियो । कर्मचारीहरूले केही सामान्य कागजपत्रबाहेक सबै जरुरी कागजपत्र र साधनहरू जलेर नष्ट भएका र कम्प्युटर लगायतका साधनहरू लुटपाट समेत भएका बताए ।
त्यहाँका कर्मचारीहरूले पनि राज्यका कुनैपनि निकायबाट सुरक्षा र तथा अभिभावकत्वको महसुस नभैरहेको दुःखेसो पोखे । ‘शुक्रबारबाटै आफूहरूले कार्यालयको सरसफाइ सुरु गरिसकेको बताउँदै धेरैजसो जलेका सामानहरू बाहिर निकालिसकिएको बताए । ‘हामी चुप लागेर बसेनौँ । फेरि नउठिकन सुखै छैन । हामीले अहिले जेजति सकिन्छ कार्यालयको सरसफाइ गरेर अत्यावश्यक सेवाहरू सञ्चालनको वातावरण बनाउनेतिर सोचिरहेका छौँ,’ कार्यालयका नापी अधिकृत राजेन्द्र थापाले भने ।
उनले कार्यालयको सेवा सञ्चालन मालपोत कार्यालयसँग पनि जोडिएकोले दुईवटै कार्यालयको सेवा कसरी प्रवाह गर्ने सम्बन्धमा माथिल्लो निकायबाट निर्देशन नआएसम्म सम्भव नहुने पनि बताए । ‘हामी खाली बस्नुहुन्न । सकेको कामहरू गर्नुपर्छ भनेर दिनभरी यसरी खटिएका छौँ । यतिबेला आशा नै सबैभन्दा जरुरी चिज हो । आशा गरौँ राम्रो होला,’ थापाले मिसन टुडेसँग आइतबार भने । यता, भूमिसुधार तथा मालपोत कार्यालयको सरसफाइ हुन बाँकी छ ।
कार्यालयका प्रमुख सविनसिंह चौधरीका अनुसार अब मुचुल्का गरेर मात्रै सरसफाइ गरौँ भन्ने कुरा आएर सरसफाइको काम रोकिएको छ । अब क्षतिको लगत यकिन गर्ने, कार्यालय भवन काम लाग्ने नलाग्ने परीक्षण गर्ने, काम लाग्ने भए रंगरोगन गर्ने र त्यसपछि मन्त्रालय तहबाट काम सुरु गर्ने विषयमा निर्देशन आएपछि मात्रै काम अघि बढ्ने चौधरीले बताए । चौधरीका अनुसार अलि लामो समयसम्म भूमिसुधारतर्फको काम ठप्प हुने देखिएको छ ।
मालपोतको २०७५ सालयताको डाटा डिजिटल अर्काइभ गरिएकोले मालपोतका कामहरू भने सञ्चालन गर्न सकिने अवस्था रहेको उनले बताए । त्यसका लागि अफिस यकिन गर्ने, फर्निचर जोड्ने, लजिस्टिक र मसलन्द सामान जोड्ने, बिजुली, इन्टरनेट, कम्प्युटर जडान गरेपछि सेवा दिन सकिने अवस्थामा पुगिने उनले बताए । ‘हामीले शून्यबाट काम थाल्नुपर्ने स्थिति छ । केन्द्रमा अहिले विषय बुझेको र हिम्मत भएको मन्त्री आउनुभयो भने हामी फेरि उठ्नसक्छौँ भन्ने आशा छ,’ चौधरीले भने ।
मालपोत कार्यालयकै छेउमा रहेको जिल्ला अदालतका कर्मचारीहरू आइतबार कार्यालयको भुइँ पानीले पखालिरहेका थिए । उनीहरूले शुक्रबार कार्यालयमा जलेका सामानका अवशेष र खरानी सफा गरे । त्यसरी सफा गरिएको सामान आइतबार क्रेनले टिप्परमा हालेर डम्पिङ साइटमा लगिँदै थियो । अदालतका रजिष्ट्रार इन्द्र कार्कीले अदालतमा विचाराधीन मुद्दादेखि अभिलेखका फाइलहरू, फर्निचरहरू, कम्प्युटर लगायतका साधनहरू सबै नष्ट भएका र लुटपाट भएका बताए ।
‘अदालतमा अहिले बस्नका लागि एउटा कुर्सी पनि छैन,’ सरसफाइको काममा कर्मचारीलाई अह्राइखटाइ गरिरहेको अवस्थामा भेटिएका कार्कीले भने, ‘कम्तीमा थुनामा रहेकाहरूको म्याद थपसम्बन्धी मुद्दाको कारबाही चलाउन सकिन्छ भन्ने प्रयास गरिरहेका छौँ । खरानी पखालेर यतिसम्म सफा गरेका छौँ । अब भवन बस्नलायक छ कि छैन प्राविधिकलाई जँचाउनुपर्नेछ । त्यसपछि प्रशासन र सुरक्षा निकायको सल्लाहमा थुनासम्बन्धीका कामहरू सुरु गर्ने विषयमा छलफल चलिरहेको छ,’ कार्कीले भने ।
बाँके जिल्ला अदालतको ठिक सामुन्ने रहेको उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलाशका कर्मचारीहरूले पनि कार्यालयका जलेका सबै सामानहरू र दराजहरू प्रांगणमा सारेका छन् । कार्यालयको खरानी सफा गरेका छन् । अहिलेका लागि बन्दी प्रत्यक्षीकरणसम्बन्धी मुद्दाहरूको कारबाही सुचारु गर्न सकिने अवस्थामा पुगेको अदालतका सूचना अधिकारी बलबहादुर विष्टले जानकारी दिए । बाँकी मुद्दाहरूका लागि सुरक्षा संवेदनशीलता र पूर्वाधारहरूको व्यवस्था गर्न समय लाग्ने भएकोले कहिलेदेखि सुरु हुन्छ भन्न नसकिने विष्टले जानकारी दिए । अदालतका केही पुराना अभिलेख र बर्दिया फाँटका मुद्दाका मिसिलहरू जोगाउन सकिएको उनले जानकारी दिएका छन् ।
जिल्लाको प्रमुख प्रशासनिक कार्यालय जिल्ला प्रशासन कार्यालय बाँकेमा भने सरसफाइको कुनै सुरसार गरिएको छैन । बरु पुरानो भवनमा कार्यालय सञ्चालनका लागि प्रयास भइरहेको छ । प्रमुख जिल्ला अधिकारी बस्ने टेबलको व्यवस्था पुरानो भवनमा गरिएको छ । अरु कर्मचारीहरू बस्ने कक्ष पनि व्यवस्थापन गर्ने प्रयास भइरहेको छ । नयाँ नागरिकताका र राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन गर्दै जाने सोच बनाइएको प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले बताए ।
त्यसबाहेक अब सेवा कसरी सुचारु गर्ने भन्ने विषयमा केही भन्न नसकिने उनको भनाइ छ । ‘मन्त्री नियुक्त भइसकेपछि माथिबाट कस्तो निर्देशन आउँछ त्यसैअनुसार अघि बढ्नुको विकल्प छैन । हामीसँग कुनैपनि कुराको अभिलेख बचेको छैन । त्यसको डिजिटल अभिलेख पनि सर्भर तोडफोड गरिएको र कम्प्युटर लगायतका साधनहरू नष्ट भएकोले अहिले हेर्न मिल्ने अवस्था छैन,’ प्रजिअ जोशीले भने । हुनपनि प्रशासनको भुइँतला र दोस्रो तला पूरै नष्ट गरिएको छ । किचनमा रहेको एलपी ग्याँस सिलिण्डर विस्फोट हुँदा कार्यालय भवनको पूर्वपट्टीको भाग क्षतविक्षत अवस्थामा छ । कार्यालयका अधिकांश फर्निचर र जरुरी साधनहरू छैनन् । सबै रेकर्डहरू खरानी भएको अवस्था छ ।
जिल्ला प्रशासनको जस्तै कार्यालयको कुनै सरसफाइ नगरिएको अवस्था आन्तरिक राजस्व कार्यालय नेपालगन्जको पनि छ । त्यहाँ कार्यालयबाट बाहिर ल्याएर प्रांगणमा जलाइएका फर्निचर र कम्प्युटरहरूको अवशेष असरल्ल छ । भएका सबै सवारीसाधनहरू जलाएर नष्ट पारिएका छन् । कर्मचारीहरूको क्वार्टर पनि जलाइएको छ । कार्यालयभित्र सबै साधनहरू जलेर नष्ट भएका छन् । कार्यालयका कर अधिकृत उदय केसीले प्रहरीले मुचुल्का उठाइसकेपछि बल्ल सामानको सरसफाइ गर्ने तयारीमा रहेको बताए ।
ठूला ठगी मुद्दाका फाइलहरू उपद्रवीका निशानामा
बाँके जिल्ला अदालत र उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलाशमा अहिले सहकारी र कर्णाली विकास बैंक ठगी सम्बन्धीका ठूला मुद्दाहरू चलिरहेका छन् । तर, उपद्रवीका निशानामा दुवै अदालतमा रहेका त्यस्ता मुद्दाका फाइलहरू नै निशानामा राखिएका पाइएको कर्मचारीहरू बताउँछन् । अदालतमा मात्रै नभई उच्च सरकारी वकिलको कार्यालयमा पनि कर्णाली विकास बैंकसँग सम्बन्धित मुद्दाका फाइलहरू कुनैपनि बाँकी नराखेर नष्ट गरिएका कर्मचारीहरूले बताए ।
‘दुईवटा दराज एकैठाउँमा थिए । जुन दराजमा कर्णाली विकास बैंकसम्बन्धी फाइलहरू थिए । त्यो दराज खोलेर केही पनि बाँकी नरहने गरी जलाइएको छ । अर्काे दराज भने त्यसरी नियत राखेरै जलाइएको देखिएन,’ उच्च सरकारी वकिलको कार्यालयका एक कर्मचारीले भने । यसैगरी जिल्ला अदालतमा चलिरहेका सहकारीसम्बसन्धी ठूला ठगीसम्बन्धी मुद्दाका फाइलहरू र सुनुवाइमा रहेका मुद्दाका फाइलहरू कुनैपनि बाँकी नराखेर जलाइएको एक कर्मचारीले बताए । केही पुराना अभिलेख बचेपनि नयाँ मुद्दाका फाइलहरू बाँकी नराखेर जलाइएको कर्मचारीहरू बताउँछन् ।
आगजनी गर्नेहरू आपराधिक नियत राखेरै आएको देखिएको भन्दै सबैजसो कार्यालयका कर्मचारीहरूले भने, ‘पहिला सीसीटिभी क्यामेरामा आक्रमण गरिएको छ । त्यसपछि गएर सर्भरहरू नष्ट गरिएको अवस्था छ । अनि निशाना बनाएरै आगजनी गरेको देखिन्छ । यो एकदमै सुनियोजित ढंगले गरिएको अपराधिक कर्म हो,’ अदालतका एक कर्मचारीले भने ।
यस्तो कृत्य घटाउनेले आफ्नो बच्ने कल्पना गरेपनि त्यसो नहुने कर्मचारीहरू दाबी गर्छन् । ‘फाइल यहाँ जलाइएपनि अरु निकायहरूमा सुरक्षित हुन्छन् । डिजिटलरूपमा पनि केही डाटाहरू हुन्छन् । यसरी सबै चिज नष्ट गराएपछि सबै कुराबाट मुक्ति मिल्छ भन्ने नसोचे हुन्छ । सबैचिज ठिक ठाउँमा आयो भने फेरि अनुसन्धान हुन्छ । अपराधीले मुक्ति पाउन सजिलो छैन,’ उच्च सरकारी वकिल कार्यालयका एक कर्मचारीले भने ।









प्रतिक्रिया दिनुहोस्