आगजनीले क्षतविक्षत कार्यालयबाट सेवा प्रवाह गर्न समस्या



शेरबहादुर ऐर । कैलाली ।

नागरिकता र राहदानी बनाउनका लागि सेवाग्राहीको भिडभाड हुने तथा विपद् व्यवस्थापनको जिम्मेवारी पाएको निकाय हो ‘जिल्ला प्रशासन कार्यालय ।’ तर, उक्त कार्यालय भदौ २४ गते जेनजी आन्दोलनका क्रममा भएको आगजनी, तोडफोड तथा लुटपाटका कारण अहिलेसम्म सुचारु हुन सकेको छैन् । कार्यालयले भदौ २६ गते जारी गरिएको अपिलमा ‘कार्यालयबाट लुटपाट भएका सामाग्रीहरू प्राप्त भएकामा नियमित सेवा प्रवाह, अभिलेख व्यवस्थापन तथा प्रशासनिक कार्य सम्पादनलाई सुचारु गर्न थोरै भएपनि मद्दत पुग्ने देखिन्छ ।’ उल्लेख गरिएको छ ।

भदौ २४ गते प्रदर्शनका क्रममा भएको आगजनी तथा तोडफोडबाट कार्यालयका प्रायः सबै भौतिक संरचना र अधिकांश महत्वपूर्ण कागजात, कम्प्युटर, उपकरणलगायतका सामाग्रीहरू जलेको अवस्थामा रहेको यथार्थ जानकारी दिन र सेवा सुचारु गर्न नसक्दा समस्या भएको जनाइएको छ । कार्यालयले परिसरभित्र रहेको स्थानबाट नियतवश, आवेग, लहलहै वा तत्कालीन मनोविज्ञान समेतका कारण जानअन्जानमा कसैले बोकेको वा अन्यत्र लगेको पनि हुन सक्ने अनुमान गर्दै भनेको छ, ‘कार्यालयको दैनिक सेवा प्रवाहसँग मात्र सीमित नभई आम नागरिकलाई जुनसुकै समयमा उपलब्ध गराउन सकिने अभिलेख र सूचनासँग पनि प्रत्यक्ष रूपमा जोडिएका थिए ।’

भदौ २४ गते नै आन्दोलनकारीबाट आगजनी र तोडफोडबाट क्षति व्यहोरेको नापी कार्यालय धनगढी र मालपोत कार्यालय धनगढीले सूचना जारी गर्दै क्षतिको विवरण यकिन भइनसकेकोले अर्को सूचना जारी नभएसम्मका लागि सेवा सुचारु गर्न नसकिने जनाएको छ । कार्यालयले जारी गरेको सूचनामा भनिएको छ, ‘देशमा विकसित विषम परिस्थितिले यस कार्यालयको भवनमा आगजनी भई क्षतिग्रस्त भएको र हाल सो क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेको हुँदा यस कार्यालयबाट तत्काल सेवा प्रवाह गर्न सकिने अवस्थामा नरहेकोले अर्को सूचना प्रकाशन नभएसम्मका लागि कार्यालयबाट प्रवाह हुने सम्पूर्ण सेवाहरू अवरुद्ध रहने ब्यहोरा जानकारी गराइन्छ ।’

भन्सार सुचारु गर्न मोबाइल व्यवसायी सक्रिय

कैलाली भन्सार कार्यालयलाई सुचारु ल्याउन सुदूरपश्चिम मोबाइल व्यवसायी संघले सरसफाइ तथा अतिआवश्यक सामाग्री सहयोग गर्ने भएको छ । ‘एक सय २० को श्रमदान, नयाँ नेपालको निर्माण’ भन्ने मूल नाराका साथ शनिबार भन्सार कार्यालयको निरीक्षण गरेका मोबाइल व्यवसायीहरूले कार्यालयलाई सुचारु ल्याउन सरसफाइसँगै अतिआवश्यक सामाग्री सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको हो । संघका प्रदेश अध्यक्ष सन्तोष मण्डल धानुकले कैलालीमा विभिन्न निकायमा क्षति पुगेको बताए ।

उनले दैनिकी आवश्यक सेवाहरू सञ्चालन हुने मुख्य भन्सार नाकालाई अतिआवश्यक सामाग्री सहयोग गर्ने बताए । उनले भन्सारलाई सरसफाइ गरि ल्यापटप, फर्निचर, प्रिन्टर सहयोग गर्ने सन्तोष जानकारी दिए । उनले भने, ‘दैनिकी आवश्यक सेवाहरू भन्सारबाट प्रवाह हुन्छ । अहिले हामीले आवश्यक सामाग्रीका लागि निरीक्षण गरेका छौँ । मुख्य कार्यालय सरसफाइ गर्नुपर्ने छ । त्यसपछि ल्यापटप, प्रिन्टर, फर्निचर आदि कार्यालयलाई आवश्यक रहेको छ । यी हामीले सहयोग गर्नेछौँ ।’ उनले व्यवसायी संघले खाका तयार गरिरहेकोले अन्तिम रुप दिई यथाशीघ्र कार्यालय सञ्चालनमा ल्याउन पहल हुने बताए ।

कैलाली भन्सार कार्यालयका भन्सार अधिकृत तथा सूचना अधिकारी खेमप्रसाद अर्यालले ठूलो भवन र सवारीसाधनभन्दा पनि सामान्य सेवाग्राहीलाई सेवा प्रदान गर्न यात्री शाखा सञ्चालन ल्याउन जरुरी रहेको बताए । उनले चेकजाँच गर्ने कर्मचारीहरूलाई बस्ने व्यवस्थापन गर्नुपर्ने बताए । उनले आम नागरिकले कार्यालय सुचारु भएको जानकारी दिन पनि तत्काल आवश्यक पर्ने शाखाहरू सुचारु ल्याउन जरुरी रहेको बताए । उनले भन्सारका तीन वटा शाखा तत्काल सुचारु हुन जरुरी रहेको बताए ।

उनले भने, ‘ठूलो भवन र सवारीसाधनको कुरा गर्दैन । यात्री शाखामा सानो भवन जीवितै छ । त्यसमा रंगरोगन गरि आवश्यक फर्निचर र आवश्यक उपकरणको व्यवस्थापन गर्न जरुरी छ । सबभन्दा महत्वपूर्ण यात्रु शाखा हो । अस्थायी पैठारीका सामान आउने र मुद्दाका कामहरू आउने गरेका छन् । त्यसका लागि भन्सार तयारी अवस्थामा बस्नुपरेको छ । त्यसपछि जाँचपासको कामहरू पनि हुने गर्छ । अन्य भन्सारका कार्यहरू बिस्तारै कार्यालय आफैँले पनि व्यवस्थापन गर्नेछ । अहिले भन्सारलाई फर्निचर, प्रिन्टर, कम्प्युटर, रेकर्ड फाइललगायत अतिआवश्यक रहेको छ ।’

भदौ २४ गते जेनजी समूहको आन्दोलनका क्रममा कैलाली भन्सार कार्यालयसहित आन्तरिक राजस्व कार्यालय, जिल्ला प्रशासन कार्यालय, नापी कार्यालय, मालपोत कार्यालय, कोष तथा लेखा नियन्त्रक कार्यालयलगायत प्रदेश मन्त्रालय तथा निकायहरूमा आगजनी, तोडफोड तथा लुटपाट भएको थियो । आगजनीले भवनहरूमा क्षति पु¥याएपछि अहिलेसम्म कार्यालयहरूले सेवा सुचारु गर्न समस्या देखिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ भदौ २९ गते आइतबार