18 April 2024  |   बिहिबार, बैशाख ६, २०८१

स्वास्थ्य चौकीमा सुत्केरी सेवा लिनेको संख्या न्यून

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, साउन २६, २०७३  

सात महिनामा २६ जनाले मात्रै सुत्केरी सेवा लिए
केशव राना
कोहलपुर, साउन २६
कोहलपुर स्वास्थ्य चौकीबाट सुरक्षित सुत्केरी सेवा लिनेको संख्या हेर्ने हो भने सन्तोषजनक देखिँदैन । २०७२ पुषदेखि २०७३ असार मसान्त सम्म ७ महिनाको अवधीमा जम्मा २६ जनाले सुत्केरी सेवा लिएका छन् ।
एक वर्षमा झण्डै एक हजार जना गर्भवतीहरुले चेकजाँच गराउने गरेको तथ्यांक स्वास्थ्य चौकीमा छ तर, सुत्केरी गराउनेको यो संख्या ज्यादै न्यून हो ।
जनचेतना फैलाउन नसकेकाले पनि सुत्केरी सेवा लिनेको संख्या कम भएको हुन सक्ने स्वास्थ्य चौकी इन्चार्ज धननाथ योगीले बताए । उनका अनुसार स्वास्थ्य चौकीमा संचालित बर्थिङ्ग सेन्टरका बारेमा अझैं पनि राम्रोसँग जानकारी गराउन नसक्दा सुत्केरी हुन आउनेको संख्यामा कमी आएको हो ।
कोहलपुर चौराहास्थित नवनिर्मित भवनमा बर्थिङ्ग सेन्टर सहितको अत्याधुनिक स्वास्थ्य चौकी सञ्चालनमा आएको छ । कोहलपुर नगरपालिकाको ७ देखि १३ वटा वडा हेर्दै आइरहेको कोहलपुर स्वास्थ्य चौकीमा सुत्केरी संख्यामा भने वृद्धि भएको देखिँदैन । अझैं पनि स्वास्थ्य चौकीप्रति विश्वासको भावना जगाउन नसकेका कारण सुत्केरी संख्यामा कमी आएको हुन सक्ने इन्चार्ज योगीको भनाई छ । गत आ.व. ०७२÷०७३ मा ९९७ जना महिलाले गर्भवती जाँच गराएका छन् । त्यसमध्ये ९२० जनाले खोप लगाएका छन् । पहिलो जाँच ९१६ जना महिलाले गरेका थिए भने ४ पटक गर्भवती जाँच पूरा गरेको संख्या भने २५८ मात्रै रहेको छ ।

IMG_0280

अन्य महिलाले अन्य स्वास्थ्य संस्था, अस्पतालहरुमा जचाएको हुन सक्ने इन्चार्ज योगीले बताए । साढे १७ हजारले सेवा लिए कोहलपुर स्वास्थ्य चौकीबाट गत आ.व. २०७२÷०७३ मा साढे १७ हजारले विभिन्न सेवा लिएका छन् । गाउँ घर क्लिनिक र खोप छाडेर १७ हजार ५ सय ६५ जनाले सेवा लिएका हुन् ।  स्वास्थ्य चौकीबाट २ हजार २ सय २५ जना ६० वर्ष माथिका वृद्धवृद्धाहरुले सेवा लिएका छन् । क्षयरोग सम्बन्धीको बिसिजी खोप ४८७ जना, डिपिटी (३ पटक) ५९२ जना, पोलियो थोपा (३ पटक) ४७२ जना, पोलियो खोप (एकपटक ) ५८३, निमोनिया भ्याक्सिन (३ पटक) ३५५, दादुरा रुबेला खोप (९ महिनामा) ६३७, दादुरा रुबेला (१५ महिनामा) २८६ जना बच्चाले सेवा लिएका छन् । त्यस्तै जापानिज इन्सेफ्लाईटिस विरुद्धको खोप ५१३ र बच्चाको तौल (२ वर्षमुनि) ८२६, जसमा ५ जना कुपोषित बच्चा भेटिएका थिए । यस्तै स्वास प्रश्वास सम्बन्धी पाँच वर्ष मुनिका १८१४ जना बालबालिकाले सेवा पाएका छन् । जसमध्ये ५१९ जनामा निमोनिया र ४ जनामा कडा निमोनिया भेटिएको स्वास्थ्य चौकी इन्चार्ज धननाथ योगीले जानकारी दिए । यस्तै ५ वर्ष मुनिका १२२९ बालबालिकामा झाडापखाला देखिएको थियो । यस्तै टिटि खोप ६९१ महिलाले लगाएको स्वास्थ्य चौकीले जनाएको छ । स्वास्थ्य चौकीको कार्यक्षेत्र अन्तरगत रहेका ९ हजार ५ सय १५ जना दम्पत्ति मध्ये ३२ प्रतिशतले यस स्वास्थ्य चौकीबाट परिवार नियोजनको साधन प्रयोग गर्ने गरेको तथ्यांक छ । जसमा आईयुसिडि प्रयोग गर्ने ९९७, इम्प्लान्ट ११८९, पिल्स ५९६ र डिपो २७५ जनाले प्रयोग गरेको स्वास्थ्य चौकी इन्चार्ज योगीले बताए ।

प्रकाशित मितिः बुधबार, साउन २६, २०७३     11:49:35 AM  |