बिरामी आमाको उपचार गराउने,बेपत्ता भएका बुवालाई खोज्ने र भाइहरूको उज्ज्वल भविष्य सुनिश्चित गर्ने सपना बोकेर काठमाडौँ बसेका उनको ती सबै सपना जेनजी आन्दोलनका क्रममा अवसान भएको छ । चार महिनादेखि बुवासँग सम्पर्क थिएन । आमा भारतमा श्रम गर्दै उपचार गराइरहेकी थिइन् । सुवास जापान जाने तयारीमा काठमाडौँ गएका थिए । तर, त्यहीबेला जेनजी आन्दोलनका क्रममा सरकारको बर्बरताका कारण सुवासजस्तै दर्जनौले अकालमा ज्यान गुमाएका छन् ।
शेरबहादुर ऐर । कैलाली ।
खप्तडछान्ना गाउँपालिका–७ गोरखालीका २३ वर्षीय सुवास बोहराको सोमबार दिउँसो संसद भवन अगाडि प्रदर्शनस्थल नजिकै गोली लागेर मृत्यु भयो ।काठमाडौँ मेडिकल कलेज (केएमसी)मा चार दिनसम्म उनको शव राखिएको थियो । शुक्रबार पोष्टमार्टमपछि सुवासकी आमाले शव बुझेपछि काठमाडौँको पशुपतिनाथमा हिन्दु परम्पराअनुसार उनको अन्त्येष्टि गरियो । बिरामी आमाको उपचार गराउने, श्रमका लागि भारत धाउनुपर्ने बाध्यता अन्त्य गर्ने, बेपत्ता भएका बुवालाई खोज्ने र भाइहरूको उज्ज्वल भविष्य सुनिश्चित गर्ने सपना बोकेर काठमाडौँ बसेका उनको ती सबै सपना पशुपति आर्यघाटमा खरानी बन्न पुग्यो ।चार महिनादेखि बुवासँग सम्पर्क थिएन ।
आमा भारतमा श्रम गर्दै उपचार गराइरहेकी थिइन् । छोरा सुवास जापान जाने तयारीमा काठमाडौँ गएका थिए । तर, त्यहीबेला जेनजी आन्दोलनका क्रममा उनले ज्यान गुमाए । बिहीबार भारतको बैंगलोरबाट काठमाडौँ पुगेकी सुवासकी आमाले शुक्रबार शव बुझेर उनका भाइ सन्दिप बोहराले दागबत्ती दिए । सुवासले प्लस–टु सकेर केही महिनाअघि जापानी भाषा सिक्न काठमाडौँ आएका थिए । जापान उड्ने तयारीमा भएपनि आर्थिक अभावले प्रस्थान मिति पर्खिरहेका थिए । उनका आफन्त प्रदीप खड्काका अनुसार रकम जुटाउन नसक्दा उनी निकै संघर्षरत थिए । तर, उडान भर्नुअघि नै उनको जीवन अन्त्य भयो ।
गाउँमा पढाइ राम्रो नभएको र आर्थिक अवस्था कमजोर भएकाले उनले आफ्नै भाइलाई पनि काठमाडौँमा साथमा राखेका थिए । आफू जापान गएपछि भाइलाई राम्रो स्कुलमा पढाउने उनको सपना अधुरै रह्यो । बिरामी आमालाई छोराको निधनको खबरले विक्षिप्त बनाएको छ । छोराको मृत्युको खबर सुनेपछि बिहीबार भारतबाट काठमाडौँ पुगेर होटलमा बसेकी थिइन । परिवारको आर्थिक अवस्था कमजोर भएपछि बझाङसहित विभिन्न स्थानबाट उनको अन्त्येष्टिका लागि आर्थिक सहयोग जुटाइएको थियो ।
बिहीबार काठमाडौँ पुगेकी सुवासकी आमालाई सामाजिक अभियान्ता आशिका तामाङले आर्थिक सहयोग गरेकी थिइन् । उनले सुवास परिवारलाई नगद २० हजार सहयोग गरेको अहिले सामाजिक सञ्जालमा देखिन्छ । सुवाससहित नेपाल प्रहरीले जेनजी आन्दोलनमा देशभर ५१ जनाको मृत्यु भएको पुष्टि गरेको छ । जसमा ३ प्रहरी, १ भारतीय नागरिक र अन्य नेपाली नगारिक रहेका प्रहरी सहप्रवक्ता रमेश थापाले बताए । प्रहरी परिसरले पोस्टमार्टम गर्न मृतकका परिवारलाई सिफारिस दिएको र त्यसैको आधारमा अस्पतालले काम अघि बढाएको थियो । जसमध्ये ९ जनाको सिफारिस प्राप्त नभएको अस्पतालले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस्