हरितालिका तीज हिन्दू नारीहरुको महत्वपूर्ण चाड हो । तीजमा रातो पहिरनको विशेष महत्व रहन्छ । तीज र रातो कपडा एकअर्कामा गहिरो सम्बन्ध राख्छन् । रातो पहिरन तीजको मुख्य पहिचान नै हो । जसमा विशेषगरी दुलही, विवाहित वा अविवाहित महिलाहरूले व्रत बसेर भगवान शिव–पार्वतीको पूजा गर्छन् । विवाहित महिलाका लागि रातो कपडा, रातो चुरा, पतिको दीर्घायु र पारिवारिक सुख–समृद्धिको प्रतीक हो । अविवाहित नारीका लागि रातो कपडाले शुभ जीवनसाथी पाउने कामना प्रकट गर्दछ । रातो कपडा त्यसको सौन्दर्य, शक्ति र शुभताको सांकेतिक पहिरन हो । तर, रातो पहिरन नेपाली समाजमा अहिलेपनि महिलाका लागि श्रीमानको मृत्यु र सम्बन्धविच्छेद पश्चात लगाउन वर्जित छ । पृतिसत्तात्मक समाजमा महिला अहिलेपनि दोस्रो दर्जाको नागरिकको रुपमा जिउन बाध्य छन् । महिला मुक्ति, लैङ्गिक समानता र समाजमा जरा गाडेर बसेको पितृसत्तात्मक सोच र संरचना विरुद्धको संघर्षको कथा हो ।
शुभाकर विश्वकर्मा। कोहलपुर ‐बाँके)
जसको तीजकै दिन खोसियो सिउँदो
४४ वर्षीया शोभा विसी एकल महिला हुन् । उनका श्रीमानको द्वन्द्वकालमा निधन भएको थियो । विसीका श्रीमान सुरेन्द्र विसी नेपाली सेनामा कार्यरत थिए । उनी २०५९ भदौ २३ गते दोहोरो भिडन्तपछि मारिएका थिए । युद्धरत पक्षले अपहरण गरेर हत्या गरेको थियो । त्यो दरखाने दिन, जुन दिन शोभाको सिउँदो पुछियो । त्योपनि २१ वर्षको उमेरमै । उनले विवाह गरेको भर्खर पाँच वर्ष पुगेको थियो । तीन वर्षीया नाबालिका छोरी थिइन् । उक्त कालोदिन सम्झिँदै उनी भन्छिन्, ‘तीजको दिन थियो । दर खाने दिन एक्कासि भिडन्त भयो । युद्धरत पक्षले श्रीमानलाई छोपेर लिए। पछि हत्या गरे ।’ द्वन्द्व चरम अवस्थामा थियो ।
श्रीमानको शव घर ल्याउन तीन दिन लागेको उनको भनाइ छ । श्रीमानको मृत्युपछि उनले निकै संघर्षशील जीवन बिताइन् । त्यसपछि उनी सामाजिक क्षेत्रमा क्रियाशील भइन् । उनको नेतृत्वमा २०५९ सालमै द्वन्द्वपीडित महिलाहरु अधिकारका लागि द्वन्द्वपीडित तथा एकल महिला सञ्जाल स्थापना गरिन् । उनी त्यसको संस्थापक अध्यक्ष हुन् । उनको संस्थाले २०६३ मा वैधानिकता पाएको थियो । सञ्जालमार्फत उनले द्वन्द्वपीडित तथा एकल महिलाको अधिकारका लागि संघर्ष गरिन् । नेपाली समाजमा अहिलेपनि एकल महिलालाई समाजमा फरक दृष्टिकोणले हेर्ने चलन छ । अझ आजीवन सेतै लाउनुपर्ने चलन जस्तै छ । त्यस्तो कुरामा भने शोभा अपवाद रहिन् ।
उनले श्रीमानको मृत्यु भएको ४५ दिनमै रातो नङ पालिस लगाएकी थिइन् । रातो लगाउनुको भनेको द्वन्द्वभन्दा पनि ठुलो क्रान्ति गर्नु थियो, त्यतिबेला । उनलाई अनेक लान्छना लगाइयो । तर, उनले हिम्मत हारिनन् । उनले परिवार, आफन्त र समाजसँग संघर्ष गरिरहिन् । त्यही संघर्षको परिणामस्वरुप अहिले सयौँ महिलाहरुलाई समाजको थिचोमिचोमा बाँच्न परेको छैन । शोभाहरुले नै महिलाहरुले थिचोमिचोविरुद्ध लड्न सिकाए । श्रीमानको मृत्यु भएपछि घरविहीनताको अवस्था भोग्नुपर्ने बाध्यता अहिलेपनि छ । तर, शोभाले त्यस्तो समस्या भोग्न परेन । उनले श्रीमानको परिवारका तर्फबाट ठुलो साथ पाइन् । त्यतिमात्रै होइन अहिले उनका सासु ससुरा छोरासरह गरेर जग्गा दिएका छन् । शौभाकै नाममा कानुनीरुपमा सम्पत्ति प्रदान गरेका छन्, उनीहरुले ।
विरङ्गनालाई प्रश्न–फेरि विवाह भएको हो, सिन्दुर देख्छु त ?
विरङ्गना योगीलाई म्यासेज आयो, ‘ल बधाई छ है, नयाँ जीवनको सुरुवात गरेकोमा’ । यो यसै वर्षको वैशाख महिनातिरको कुरा हो । विरङ्गना सिउँदोमा सिन्दूर लगाएको पहिलोपटक थिएन । यसको उत्तर खोज्नुभन्दा पहिला आजभन्दा १५ वर्षअघि फर्किनुपर्ने हुन्छ । जतिबेला उनी छोरीबाट श्रीमती र बुहारी भएकी थिइन् । यतिबेलादेखि नै हो, उनले सिन्दूर पोते लगाउन सुरु गरेको । तर, आज मेरो सिन्दूरमाथि किन प्रश्न गरियो ? उनी भन्छिन्, ‘कारण, म डिभोर्सी हुँ । त्यो मेरो कपालभित्रको रातो रङलाई लक्षित गरेर आएको हो ।’
त्यो प्रश्नले उनी खुसी भइन्, दुःखी पनि । खुसी यस मानेमा उनको पोष्टपछि दर्जनौँ एकल महिला उनलाई घरमै भेट्न आए । उनको साहसलाई सलाम गरे । सँगै पश्चताप पनि । ‘हामीलाई सिन्दूर लगाउन मन छ । रातो सारी लगाउन मन छ । तर, हामीलाई समाजको डर छ,’ विरङ्गना सुनाउँछिन् । यसले उनका झन साहस बढ्यो । राम्रो गरेछु कि के जस्तो पनि लाग्यो । दुःखी यसकारण, समाजमा प्रतिष्ठित र शिक्षित भनिएकाहरुले प्रश्न गरेका थिए । यो प्रश्नले अहिलेपनि उनलाई छोडेको छैन । त्यसपछि उनले प्रश्नमात्रै होइन हौसला र अपमान दुवै सहनुपरेको छ । दुई महिनाअघिको घटना सुनाउँदै उनी भन्छिन्, ‘सिन्दूर लगाएकै कारण आफन्तले नै मलाई थुकेका छन् ।
यस्ता अनगिन्ती प्रश्न र अपमानको सामना गरेकी छु,’ थाहा छैन, कहिलेसम्म मैले सिन्दूर लगाएकै कारण पितृसत्ताले प्रश्न गरिरहने हो । उनले आफ्नो श्रीमानसँग औपचारिक रुपमा सम्बन्धविच्छेद भएको प्रष्ट्याइन् । सम्बन्धविच्छेद हुनु सिउँदो पुछिनु होइन । सिन्दूर त विवाहित नारीको सौभाग्य हो, चिनारी र सौन्दर्य हो । कुनैपनि सम्बन्धविच्छेद भएकी महिलाले सिन्दूर लगाउनु भनेको उसको अधिकार भएको बताउँछिन् । उनले भनिन्, ‘म विवाहित महिला हुँ । दुई सन्तानको आमा हुँ । पेशाले शिक्षक पनि । जिम्मेवारीको भारी काँधमा बोकेकी नारी हुँ । संघर्ष मेरो अर्को परिचय हो ।’
कुनै पनि महिलाले सम्बन्धविच्छेदपछि समाजमा टाउको लुकाएर हिड्नुपर्ने बाध्यताको अन्त्य हुनुपर्नेमा जोड दिन्छिन् । सम्बन्धविच्छेदको निर्णय एउटा विवाहित नारीका लागि मृत्युवरणसरह हुने उनको अनुभव छ । भन्छिन्, ‘शून्य हुनु जस्तो हो, मेरुदण्ड भाँचिएको जस्तो हो ।’ विवाह र सम्बन्ध विच्छेदपछिको सामाजिक दृष्टिकोणबारे उनी भन्छिन्, ‘कोहीसँग कोही हुनु सिन्दूरको मूल्य हो । त्यसपश्चात् अवस्था निसन्देह भारी प्रश्नहरुका लागि तयार हुनु हो । प्रश्नै प्रश्न, प्रश्नमाथि प्रश्न ।’ उनले यस्ता प्रश्नहरुको सामना गरिरहेका छन्, त्यस्ता प्रश्नको जवाफ उनीसँग छैन, स्वयम् प्रश्नकर्तासँग पनि ।
रातो कपडा लाउँदा बहिष्करण भोगेकी गोमा
नाम एक परिचय अनेक छन्, बर्दियाको बढैयाताल–३ की गोमा पौडेलका । विद्रोह, बहिष्करण र सम्मान उनका जीवनमा भोगेका तीन घुम्ती हुन् । उनको १२ वर्षम मागी विवाह भयो । उनले पढ लेख गर्न पाइनन् । विद्रोही स्वाभावकी गोमाले चाहेर पनि पढ्न पाइनन् । कालान्तरमा उनले आफ्नो इच्छा पूरा गरेरै छाडिन्, प्रौढ शिक्षामार्फत । उनी आफूमात्र पढिनन्, कैयौँ महिलालाई पढाइनन् । कमाउन सिकाइन्, बोल्न सिकाइन्, सीप सिकाइन्, जन जागरण महिला संघमार्फत ।
विसं २०५६ सालमा स्थापना गरिएको संघको संस्थापक नै उनी हुन् । महिला अधिकार, सशक्तीकरण, कला संस्कृतिको संरक्षण संस्थाको उद्देश्य थियो । उनकै अगुवाइमा बढैयातालमा ‘लालटिन अभियान’ सुरु भयो । यो अभियानमार्फत त्यस क्षेत्रका हजारौँ महिलाले अक्षर चिने । यो उनको व्यक्तिगत स्वार्थका लागि सुरु गरिएको थिएन । तर, उनले समाजको साथ पाइनन् । उल्टै उनीमाथि विभिन्न प्रश्न उठाइयो । उनी सुनाउँछिन्, ‘हाम्रो कक्षामा आउने महिलाका श्रीमानले कुट्थे । महिला व्यक्तिगत रुपमा गालीगलौज गर्थे ।’ त्यतिमात्रै होइन उनलाई कालोमोसोसमेत दल्ने प्रयास गरियो । महिलालाई उपभोक्ता समितिको अध्यक्ष स्वीकार गर्ने समाज थियो, त्यति बेलाको ।
गोमाकै अगुवाइमा सुरु भएको अर्को अभियान हो, ‘एकल महिलाहरुलाई रातो लगाउने अभियान ।’ अभियानको सुरुवात उनले आफूबाटै गरेकी थिइन् । गोमाले विसं २०७२ सालमा श्रीमान गुमाइन् । उनले एक वर्षसम्म सेतो लगाइन् । त्यसपछि भने उनले कहिल्यै सेतो कपडा लगाइनन् । उनी भन्छिन्, ‘मेरो श्रीमानले ज्वाईँलाई एउटा कुरा भन्नु भएको रहेछ । गोमालाई म मरिसकेपछि सिन्दूर, चुरा र रातो कपडा लगाउन दिनु ।’ सोहीअनुसार परिवारको सहमतिमा उनले एक वर्षपछि रातो कपडा लगाइन् । तर, त्यसपछि समाजले दिएको पीडा, लगाएको लाञ्छना सम्झिँदा अहिले पनि भक्कानिन्छिन् उनी । श्रीमानको मृत्युपछि समाजले महिलामाथि हेर्ने दृष्टिकोण नै परिवर्तन हुने उनी बताउँछिन् ।
पहिलाको भन्दा फरक भएको त छ, तरपनि समाजमा अझै हामीलाई देखे साइत बिग्रिन्छ भन्छन् । नकारात्मक रुपमा मात्रै हेरिन्छ । पोइ टोकी भन्छन् । राणी आई आज अशुभ हुने भयो भन्छन्’, मिसन टुडेसँग गोमाले भनिन् । यस्ता कैयन पीडा उनले प्रत्यक्ष रुपमै भोगेकी छिन् । अभियान सुरु गर्दा सामाजिक बहिष्करणसम्मको धम्कीको सामना गर्नुपरेको उनको भनाइ छ । महिलालाई समाजमा एकल भएर बाँच्न सकस रहेको गोमाले बताइन् । कसैले बिरामी हुँदा पैसा पत्याउँदैनन् । लोग्ने मान्छेसँग बोल्दासमेत चरित्रमा औँला उठाइन्छ । महिलालाई माथि उठ्नै दिँदैन समाज । यस्ता सामाजिक कुरीति, बेथिति र विसंगतिविरुद्धको लडाइँ थियो, रातो लगाउने अभियान । उनी प्रश्न गर्छिन्, ‘रातो कपडा त हामी विवाह नहुँदा पनि लगाउँथ्यौँ । विवाहपछि त सामाजिक परम्पराअन्तर्गत श्रीमानको सम्मानको लागि सिन्दूर, चुरा पोते लगाउने हो । श्रीमानको मृत्युपछि सेतो लगाउने कुरा रुढीवादी हो । यो त महिलामाथिको अपमान होइन र ?’ गोमाकै अगुवाइमा अहिले कैयन एकल महिलाहरुले रातो लगाउन थालेका छन् ।
मञ्जु कोइराला ः जसलाई परिवारले नै ‘रातो टीका’लगाइदिए
२०८१ चैत २३ गते । बाँकेका पुराना कम्युनिष्ट नेता स्व.अशोक कोइरालाको १३औँ दिनको पुण्यतिथिमा श्रद्धाञ्जली कार्यक्रम राखिएको थियो । कार्यक्रमका मुख्य अतिथि पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल थिए । कार्यक्रमको अन्त्यमा अनौठो दृश्य देखियो । जहाँ स्व.कोइरालाकी धर्मपत्नी मञ्जु कोइरालालाई परिवारले रातो टिका लगाइदिए । उनका कान्छा ससुरा र जेठाजुहरुले मञ्चुलाई सार्वजनिक कार्यक्रम नै आयोजना गरेरै ‘रातो टीका’ लगाइदिएका थिए । नेपाली हिन्दू समुदायमा श्रीमानको मृत्यु भएको वर्षदिनसम्मै सेतो कपडा लगाउने चलन अझै विद्यामान छ । तर, त्यो कार्यक्रम अपवाद थियो, सन्देशमूलक पनि । उसो त मञ्जुको परिवार शिक्षित र राजजीतिक पृष्ठभूमिको छ ।
मञ्जु सुनाउँछिन्, ‘मेरो परिवारले मलाई रातो टीका लगाइदिने भन्दा आफन्तहरुबाट तर्क वितर्क नभएको होइन । तर, मेरो परिवारले मलाई रातो टीका लगाएर सन्देश दिन खोज्यो । मैले पनि सहज रुपमा स्वीकार गरेँ ।’ त्यसो त, मञ्जुलाई श्रीमानको घर आजीवन माइती घर जस्तो थियो । उनका अनुसार बुहारीलाई जेठाजुले छुनुसमेत हुँदैन भन्ने समाज छ । उनका जेठाजुहरुले कहिल्यै पनि बुहारी जस्तो व्यवहार गरेनन् । आफूलाई जहिले पनि बहिनी कै रुपमा स्वीकार गरेको उनको भनाइ छ । अशोकका कान्छा ससुरा र जेठाजुहरुले उनको मृत्युपछि मञ्जुले आजीवन सेतो लगाउँदा आफूहरुलाई झन पीडा हुने र त्यसरी कसैले पनि बस्न नपरोस् भन्ने सन्देश दिनको लागि त्यस्तो निर्णय लिएका हुन् ।
उनी भन्छिन्, ‘परिवारले तिमीले रातो लगाउ भन्नुभयो । सार्वजनिक रुपमै टीका लगाइदिनुभयो । त्यसले मलाई पनि उच्च मनोबल बढाएको छ ।’ आम रुपमा महिलाहरुले श्रीमानको मृत्युपश्चात् परिवार र समाजबाट विभिन्न अप्ठ्याराहरु भोग्नुपरेको देखेकी मञ्जुको हकमा अपवाद नै भयो ।
उनका अनुसार यस्ता किसिमका कार्यले श्रीमानको मृत्युले विह्वल अवस्थामा पुगेका महिलाहरुलाई बाँच्न प्रेरणा दिने उनले बताइन् । ‘नेपाली समाज आधुनिकतामा अघि बढेको छ । तर, महिलालाई हेर्ने दृष्टिकोण फरक छ । महिलालाई दोस्रो दर्जाको नागरिकका रुपमा हेरिन्छ । महिला क्षमतावान हुँदासमेत पुरुषलाई नै प्राथमिकतामा राखिन्छ,’ उनले भनिन् । श्रीमानको मृत्युपश्चात् अहिलेसम्म परिवारले नै यसरी कार्यक्रम नै आयोजना गरेर सार्वजनिक रुपमा रातो लगाएका घटना बिरलै देखिन्छन् । आफूले अहिलेसम्म श्रीमान नहुँदा परिवार र समाजबाट फरक व्यवहार नभोगे पनि श्रीमान जीवित भएका कतिपय महिला हिंसामा रहेको मञ्जुको भनाइ छ ।









प्रतिक्रिया दिनुहोस्