कछुवा गतिमा बन्दै प्रदेशस्तरीय क्षयरोग उपचार केन्द्र



शुभाकर विश्वकर्मा । कोहलपुर (बाँके) ।

बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ९ ढकेरीस्थित वडा कार्यालयसँगै रहेको छ, गणेश माध्यमिक विद्यालय ढकेरी । लामो समयदेखि गणेश माविले चर्चेको जग्गामा लुम्बिनी प्रदेशस्तरीय क्षयरोग उपचार तथा प्रेषण व्यवस्थापन केन्द्र निर्माण हुँदैछ । तत्कालीन महादेवपुरी गाविस हुँदा श्रेस्ता कायम भएको दुई बिघा जग्गामा केन्द्रको संरचना निर्माणको काम भइरहेको छ ।

लुम्बिनी प्रदेशस्तरीय उक्त संरचना निर्माणको लागि सरकारले जग्गा उपलब्ध गराएको थियो । नेपाल सरकार संघीय ससर्त अनुदानमा निर्माण भइरहेको केन्द्रको निर्माणकार्य कछुवा गतिमा भइरहेको छ । निर्माण जिम्मा लिएको ठेकेदारको लापरवाहीको कारण केन्द्र निर्माणकार्य निकै सुस्त गतिमा भइरहेको हो । कोहलपुर नगरपालिका–१० स्थित नारायण–के आर कन्स्ट्रक्सन जे.भी.ले केन्द्र निर्माणको ठेक्का पाएको छ । केन्द्रको निर्माण गरिरहेका निर्माण व्यवसायी कुलीन राणा हुन् । आर्थिक वर्ष २०८१–०८२ देखि बहुवर्षीय योजनाको रूपमा निर्माणकार्य सुरु भएको केन्द्र निर्माण कार्यप्रति नजिकै रहेको स्थानीय सरकार भने सन्तुष्ट छैन् ।

वडा कार्यालयको नजिकै बन्दै गरेको सरकारी संरचना निर्माणमा पटक पटक चासो दिएर छिटो काम सम्पन्न गर्न भन्दापनि सुनुवाइ हुन नसकेको बताउँछन्, राप्ती सोनारी गाउँपालिका वडा नम्बर ९ का वडाध्यक्ष सोहनलाल थारू । मिसन टुडे दैनिकसँग कुराकानी गर्दै उनले भने, ‘अहिलेसम्म ठेकेदारले सन्तोषजक काम गरेको देखिँदैन् । हामीले उहाँलाई धेरैपटक छिटो काम सक्नुहोस् भनेका छौँ । अहिलेसम्मको कामको प्रगति गर्दा लक्ष्यअनुसारको काम भएको छैन् ।’ ढकेरीमा छिट्टै प्रदेशस्तरीय संरचना बनोस् भन्ने हाम्रो चाहना छ । तर, निर्माणकार्य निकै सुस्त गतिमा भइरहेको भन्दै वडाध्यक्ष थारूले सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराए ।

उनले भनेजस्तै स्थलगत रिपोटिङको क्रममा त्यहाँ सुस्त गतिमै काम भइरहेको प्रष्टै देखिन्छ । साउन अन्तिमसाता मिसन टुडे त्यहाँ पुग्दा निर्माण जिम्मेवारी लिएका व्यवसायीका कुनैपनि प्रतिनिधि त्यहाँ थिएनन् । वडाध्यक्ष थारूले त्यहाँ लामो समयदेखि कोही पनि नभएको बताए । निर्माण भएका संरचनाको प्रगति पनि ज्यादै न्यून देखिन्छ । केन्द्र निर्माण भइरहेको जग्गामा दुई वटा संरचना निर्माण भइरहेको छ । एउटा संरचनाको जग भर्खरै हालिएको छ । भुइँतहमा केही इन्च सिमेन्टको संरचना निर्माण भएको छ । त्यसमाथि सरिया फिट गरिएको छ । अर्को संरचनामा भने भुइँतहबाट पहिलो तहसम्म इँटा बिछाइएको छ । त्यसमाथि फिट गरिएको सरियामा ढलान गरिएको छ । उक्त फिल्डमा इँटा, बालुवा र ढुंगाहरू यत्रतत्र छरिएको देखिन्छ ।

भौतिक प्रगति ३० प्रतिशत मात्रै

२०८० सालमा निर्माण सम्झौता भएको आयोजनाको हालसम्म जम्मा ३० प्रतिशत मात्रै भौतिक प्रगति भएको छ । वित्तीय प्रगति जम्मा २० प्रतिशत रहेको शहरी विकास तथा भवन निर्माण कार्यालय नेपालगन्ज बाँकेले जनाएको छ । कार्यालयका सवइन्जिनियर राजेशकुमार यादवका अनुसार केन्द्र निर्माणका लागि २०८० चैत ८ गते सम्झौता भएको थियो । संघीय ससर्त अनुदानको कार्यक्रमबाट एउटा वार्ड ब्लक, होस्टेल ब्लक, ओपिडी ब्लक, ल्याब र एक्सरे ब्लक निर्माण गर्नुपर्ने सम्झौतामा उल्लेख छ । तर हालसम्म प्लिन्थ (जमिनको सतहदेखि भवनको भुइँतलाको सतहसम्मको भाग)सहित कोलुम (स्तम्भ)मात्रै ढलान निर्माण गरिएको छ ।

होस्टेल ब्लकको फुटिङको काम भइरहेको छ । ओपिडी ब्लक र ल्याब तथा एक्सरे ब्लक निर्माणकार्य सुरु नै भएको छैन । केन्द्र निर्माणको भ्याट, प्रोभिजनल, सम र कन्टिन्जेन्सीसमेत गरी आयोजनाको कूल लागत अनुमान रकम १३ करोड ९९ लाख २६ हजार ७४७ रूपैयाँ १६ पैसा रहेको सवइन्जिनियर यादव बताउँछन् । त्योमध्ये ठेकेदारले भ्याट, प्रोभिजनल, सम र कन्टिन्जेन्सीसमेत गरी कूल ८ करोड ९२ लाख २४ हजार ३६४ रूपैयाँ ४७ पैसामा ठेक्का पारेको छ । केन्द्र निर्माणको काम २०८२ फागुन ९ भित्र सम्पन्न गरिसक्नुपर्ने सम्झौतामा उल्लेख छ ।
ठेकेदारको दाबी ः निर्धारित समयमै काम सम्पन्न हुन्छ ।

लुम्बिनी प्रदेशस्तरीय क्षयरोग उपचार तथा प्रेषण व्यवस्थापन केन्द्र निर्माणका लागि शहरी विकास तथा भवन निर्माण कार्यालय बाँकेले ठेक्का आह्वान गरेको थियो । ठेक्का प्रक्रियामार्फत निर्माण जिम्मा पायो के आर कन्स्ट्रक्सन कोहलपुर– १० बाँकेले । केन्द्र निर्माणको ढिलासुस्तीका बारेमा मिसन टुडेको सम्पर्कमा आएका के आर कन्स्ट्रक्सनका प्रतिनिधि प्रेम भामले केन्द्र निर्माणको ५० प्रतिशत काम सम्पन्न भइसकेको दाबी गरे । उनका अनुसार कन्स्ट्रक्सनले कार्यालयसँग दुई वर्षको ठेक्का सम्झौता गरेको थियो ।

आफूहरूले २०८१ साउन १ गतेदेखि निर्माण सुरु गरेको बताए । सम्झौतामा दुई वर्षको समय अवधि भएपनि एक वर्षमा निर्माण गर्नुपर्ने संरचना निर्माण हुन सकेको छैन । निर्माणमा किन ढिलासुस्ती भइरहेको छ भन्ने प्रश्नमा उनले भने, ‘हामीले दुई वर्षको लागि निर्माण जिम्मा लिएको हो । एक वर्षको अवधिमा आधा काम भइसकेको छ । बाँकी एक वर्ष छ, त्यति बेलासम्म हामी सम्पन्न गर्छौँ । अहिले दु्रत गतिमा काम भइरहेको छ ।’ उनले दु्रत गतिमा काम भइरहेको बताएपनि सन्तोषजनक रूपमा काम हुन नसकेको स्थानीय सरकारको भनाइ छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ भदौ ८ गते आइतबार