कर्णाली प्रदेशका सुर्खेतबाहेक ९ जिल्लामा स्याउ फल्छ । स्याउ कर्णाली प्रदेशको प्रमुख उत्पादनमध्येको एक हो । कर्णालीले बर्सेनि करोडौँ मूल्यको स्याउ निर्यात गर्दै आएको छ । तर, काँचो स्याउ लुकिछिपी बजारमा ल्याइँदा कर्णालीको स्याउ गुणस्तरमा गिटावट आउने सम्भावना देखिएको छ । कर्णालीको अर्गानिक स्याउको ब्राण्ड बचाइराख्न राज्यले चनाखो हुनुको विकल्प छैन ।
शुभाकर विश्वकर्मा । कोहलपुर (बाँके) ।
कर्णाली प्रदेशका विभिन्न जिल्लामा उत्पादित काँचो स्याउ बजारमा छ्याप्छ्याप्ती छ । सुर्खेतबाहेक कर्णालीका ९ जिल्लामा स्याउ फल्छ । तीमध्ये साविक कर्णालीका केही जिल्लाको स्याउ साउन पहिलो सातामै बजारमा पुगिसकेको थियो । अहिले बाँकेका नेपालगन्ज र कोहलपुर लगायतका बजारमा उक्त काँचो स्याउ पाइन्छ । सबैभन्दा पहिला कालीकोटको स्याउ बजारमा पुगेको थियो । बिक्रिवितरण गर्न योग्य नै नभएको स्याउ व्यवसायीहरूले राज्यका निकायको आँखा छलेर लुकिछिपी रातारात बजारमा ल्याएका थिए । ती स्याउ पाकेकै थिएनन्÷छैनन् ।
भदौ पहिलो सातासम्म आइपुग्दा देशभरका प्रमुख सहरमा कर्णालीकै स्याउ छ । स्याउ देशभरका लगभग प्रमुख सहरसम्म पुगिसकेको छ । विशेष कोहलपुर र नेपालगन्जमा कर्णालीको काँचो स्याउ छरपस्ट छ । यस्तै, मुगुको स्याउसमेत दुई साता अघिदेखि बजारमा आउन सुरु गरेको हो । कर्णालीमा सबैभन्दा धेरै स्याउ फल्ने जुम्लाको स्याउसमेत बजारमा पुगेको एकसाता बितिसकेको छ । जुम्लाको तिला गाउँपालिकाको स्याउ नपाक्दै बजारमा आइपुगेको हो । जिल्लाको अन्य क्षेत्रको स्याउ भने अहिलेसम्म बजारमा आइपुगेको छैन ।
स्याउ व्यापारीहरूका अनुसार हुम्लाको स्याउसमेत केही दिनमा बजारमा पुग्दैछ । कालीकोट, मुगु र जुम्ला जिल्लामा फलेकोे काँचो स्याउ बजारमा पाइन थालेको हो । काँचो स्याउ व्यापारीहरूले लुकिछिपी ल्याएका हुन्, अहिलेसम्म खुला रूपमा आएको छैन । स्याउ लुम्बिनीसहित सुदूरपश्चिम र पूर्वसम्मै पुगिसकेको छ । कर्णालीको स्याउ भित्रिने मुख्य ट्रान्जिट प्वाइन्ट कोहलपुर हो । अहिले कोहलपुरका मुख्य बजारहरू, कृषि हाटबजार, हरियाली मार्ग, पुरानो बसपार्क, न्युरोड क्षेत्रसहित अन्य ठाउँका सटरहरूमा पाइने गरेको छ ।
नेपालगन्जका मुख्य बजारमा समेत कर्णालीकै स्याउ पाइन्छ । कर्णालीका विभिन्न जिल्लाबाट स्याउ भित्र्याएका व्यापारीहरूले सुदूरपश्चिम, लुम्बिनी प्रदेशका विभिन्न जिल्ला र पूर्वी जिल्लासम्म पठाउने गरेका छन् । स्याउ सुदूरपश्चिमका धनगढी लगायतका क्षेत्रमा पुगिसकेको छ । लुम्बिनी प्रदेशको बाँके, बर्दिया, दाङ, प्युठान र रुपन्देही जिल्लामा समेत बिक्रीका लागि पुगिसकेको छ । स्याउ अझै आउने क्रममै छ ।
उपभोक्ता भन्छन्, ‘छैन स्याउको स्वाद र मिठास्’
हरेक दिनजसो ठेलामा स्याउ बेच्दै गरेका फुट्कर व्यवसायी बिहानै घरघरमै पुग्छन् । ‘आयो हजुर ताजा स्याउ’ भन्दै ग्राहकको खोजीमा हुन्छन् । ग्राहक सोध्छन् ? ‘कहाँको स्याउ हो ।’ व्यापारीहरूको सहज उत्तर हुन्छ, ‘यो त कर्णालीको अर्गानिक स्याउ हो ।’ जब स्याउ खान्छन्, ‘स्याउको स्वादै भेटिँदैन ।’ कोहलपुर ११ का केशव शर्मा भन्छन्, ‘हरेक दिनजसो घरतिर व्यापारी स्याउ आयो भन्दै घुमिरहेका हुन्छन् । अस्ती एक दिन दुई केजी स्याउ किनेको थिएँ । स्याउको स्वादै छैन ।’
विगतका वर्षहरूमा किन्दा स्याउ राम्रो हुन्थ्यो भन्दै शर्माले यसपटक काँचो स्याउ बजारमा आइपुगेको बताए । उनका अनुसार यसरी बिक्री गर्दा निश्चित व्यक्ति र व्यापारीलाई फाइदा हुन सक्छ । तर, कर्णालीको स्याउले उचित मूल्य नपाउने समस्या आउनसक्ने शर्माले बताए ।
अर्का उपभोक्ता पवित्रा मल्लको पनि भनाइ उस्तै छ । आफूहरूले स्याउ खरिद गर्दा नपाकेको परेको बताइन् । मल्लले कोहलपुर–११ स्थित कृषि बजारमा स्याउ खरिद गरेकी थिइन् । स्याउ खाँदा अमिलोपन रहेको उनले बताइन् । ‘स्याउ त कस्तो अमिलो रहेछ । नपाकेको स्याउ आएको रहेछ बजारमा । खानै सकिएन, फ्याँक्नुप¥यो । पैसा मात्रै खेर गयो,’ उनले भनिन् । शर्मा र मल्ल त उदाहरण मात्रै हुन् । जसले स्याउ खरिद गरेका छन् । उनीहरूको प्रतिक्रिया सकारात्मक छैन । होस् पनि कसरी बजारमै काँचो स्याउ छ ।
स्याउ प्रतिकेजी एक सय रूपैयाँदेखि दुई सय रूपैयाँसम्म बिक्रीवितरण हुने गरेको छ । प्रतिकार्टुनको १७ सयदेखि दुई हजारसम्म पर्ने गरेको छ । व्यापारीहरूले किसानबाट प्रतिकेजी ८० देखि ९० रूपैयाँसम्म किन्ने गरेका छन् । त्यसैले व्यापारीहरूको निहीत स्वार्थका कारण स्याउ नपाक्दै बजारमा आएको हो । त्यसको प्रत्यक्ष असर उपभोक्ताहरूले भोगिरहेका छन् । ग्रेडिङ र प्याकेजिङसमेत राम्रोसँग नगरिएका काँचो स्याउका कारण उपभोक्ताहरूको स्वास्थ्यमा समेत असर गर्ने देखिन्छ । यसरी हरेक वर्ष नपाकेकै स्याउ बजारमा पु¥याउने गरेका कारण कर्णालीको स्याउको गुणस्तरमा समेत गिटावट आउने प्रवल सम्भावना रहेको छ ।
काँचो स्याउ बजारमा पुगेपछि खुला गर्ने निर्णय
कर्णालीका अन्य जिल्लासहित जुम्लाको काँचो स्याउ बजारमा पुगिसकेको छ । जुम्लाको तिला गाउँपालिकाको स्याउ बजारमा पुगेको दुई हप्ता पुगिसकेको छ । तर, सोमबार जुम्लामा बसेको सर्बदलीय बैठकले जुम्ला जिल्लामा स्याउ संकलन खुला गर्ने निर्णय गरेको छ । जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यको अध्यक्षतामा बसेको बैठकले स्याउ संकलन सुरु गर्ने निर्णय गरेको हो ।
गत साउन २ गते जिल्ला समन्वय समितिको कार्यालयमा आयोजित समीक्षा कार्यक्रममा जुम्लाबाट भदौ १५ गतेभन्दा अघि स्याउ टिप्न नपाइने निर्णय गरिएको थियो । सोहीअनुसार कृषि विकास कार्यालय जुम्लाले साउन ९ गते जुम्लाका आठै स्थानीयतहलाई तोकिएको समयभन्दा अघि स्याउ नटिप्न पत्राचार नै गरेको थियो ।
अन्य जिल्लाको स्याउ बजारमा पुगिसकेको र जुम्लाको स्याउसमेत पाकिसकेका कारण टिप्न खुला गर्ने निर्णय गरिएको जुम्लाका जिसस प्रमुख गौरीनन्द आचार्य बताउँछन् । जुम्ला जिल्लाको तल्लो भौगोलिक स्थानमा उत्पादित स्याउ छिटो पाक्ने भएको हुँदा सबैको सहमतिअनुसार निर्णय गरिएको उनले बताए ।
कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीले जुम्लाको तातोपानी र तिला क्षेत्रको स्याउ परिपक्व भइसकेका बताए । स्याउको गुलियोपना पनि भरिसकेकाले संकलन गर्न दिने निर्णय भएको कार्यालय प्रमुख अधिकारीको भनाइ छ । ‘भदौ १५ गतेअघि स्याउ टिप्न नदिने निर्णय भएपनि स्याउ पाकिसकेपछि किसान र व्यापारीको मागलाई मध्यनजर गरी संकलन सुरु गरिएको हो । अन्य क्षेत्रभन्दा तिला र तातोपानीको स्याउ टिप्न योग्य भइसकेको छ,’ उनले भने ।
यता, जिल्ला कृषि विकास कार्यालय जुम्लाले कार्टुन खरिदका लागि ६ लाख विनियोजन गरेको छ । आर्थिक वर्ष २०८०–०८१ मा समयमै कार्टुन खरिद नगर्दा १० लाख बजेट फ्रिज भएको थियो । यस वर्ष समयमै खरिद गरी अनुदानको कार्टुन वितरण गर्न किसानले माग गरेका छन् ।









प्रतिक्रिया दिनुहोस्