ज्यान जोखिममा राखेर बस्दै महेन्द्र बहुमुखीको छात्रावासमा विद्यार्थी



वीरेन्द्र जैसी । नेपालगन्ज ।

क्याम्पसको हाताभित्र चारैतिर घाँस र बुट्यानको झाडीबीचमा चलचित्रमा देखाइने भुतबंगलाजस्तो वर्गाकार भुइँतले भवन छ । जसको मध्यभागमा रहेको आँगनमा मान्छे डुबाउनेगरी झाडी उम्रेको छ । भवनको छतबाट सिमेन्ट उप्केर भुइँमा खसेको छ । भवन हेर्दा जताततै चर्केको देखिन्छ । जुनसुकै बखत छत खसेर दुर्घटना निम्तने खतरा छ । इन्जिनियरहरूले जाँचबुझ गरी भवन बस्न लायक छैन भनेर भनिसके । तर, उक्त भवनमा करिब ५० जनाभन्दा बढी विद्यार्थीहरू अझै बसिरहेका छन् । त्यही जोखिमपूर्ण भवनमा बालबालिकाहरू पनि बसिरहेका छन् ।

तर, यसरी जोखिमपूर्ण भवनमा आफ्ना विद्यार्थीहरू बसिरहेका छन् भनेर उच्च शिक्षा प्रदान गर्ने नेपालगन्जको सबैभन्दा पुरानो र ठूलोे शैक्षिक संस्था महेन्द्र बहुमुखी क्याम्पसको प्रशासनलाई आधिकारिक रूपमा थाहा छैन । देशको सबैभन्दा ठूलोे विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पससमेत रहेको उक्त क्याम्पसको छात्रहरूका लागि बनाइएको छात्रावास करिब २० वर्षदेखि बेवारिसे छ भन्दा अचम्म लाग्ला । तर, वास्तविकता यही हो ।

शुक्रबार मिसन संवाददाता उक्त क्याम्सको एक नम्बर नाम दिइएको छात्रावासमा पुग्दा भेटिए जाजरकोट घर भएका एक विद्यार्थी । उनले महेन्द्र बहुमुखी क्याम्पसमा स्नातक तहमा राजनीतिशास्त्र अध्ययन गरिरहेको बताए । उनी उक्त छात्रावासमा बस्न आउनुअघि उनका परिचित व्यक्ति उक्त कोठमा बसिरहेका थिए । उनले ती व्यक्तिले छोडेर गएपछि उनको कोठामा आफू बसेको बताए ।

छात्रावासमा बस्ने अधिकांश विद्यार्थीहरूले छात्रावासमा बस्न कुनै प्रक्रिया पूरा गर्नुपर्दैन । ती विद्यार्थीले भनेजस्तै छात्रावासमा बस्दै आएका व्यक्तिसँग सम्पर्क गर्ने र उनीहरूले छोडेर गएपछि आफू बस्ने गरेका छन् । उक्त छात्रावास यसरी बेवारिसे बनेको दुई दशकभन्दा बढी भइसकेको छ । दुई दशकयता उक्त छात्रावासमा को आयो ? को गयो ? क्याम्पस प्रशासनलाई थाहा छैन । त्यहाँ बसिरहेका बर्दिया घर भएका एक विद्यार्थीले भने, ‘वार्डेन पनि छन् भन्ने सुनिन्छ । क्याम्पसमा गार्डहरू पनि छन् । तर अहिलेसम्म यहाँ कोही पनि आएर सोधपुछ गरेको थाहा छैन ।’

उक्त छात्रावासमा क्याम्पसका विद्यार्थी मात्रै बस्दैनन् । विद्यार्थीका दाइभाइहरू र आफन्तहरू पनि बसिरहेका छन् । शुक्रबार छात्रावासमा पुग्दा दुईजना बालक बरण्डामा राखिएको बेच्नमा बसेर मोबाइलमा भिडिओ हेरिरहेका थिए । उनीहरूले आफूहरू दाइसँग उक्त छात्रावासमा बसिरहेको बताए । उनीहरूका दाइ महेन्द्र बहुमुखी क्याम्पसमै स्नातक तहमा अध्ययन गर्दा रहेछन् साथै एउटा निजी विद्यालयमा पढाउने पनि गर्दा रहेछन् ।

तीनवर्ष अघि क्याम्पसले नेपालगन्जस्थित संघीय आयोजना कार्यान्वयन इकाईलाई भवनको प्राविधिक परीक्षण गरिदिन आह्वान गरेपछि खटिएको प्राविधिक टोलीले एक नम्बर छात्रावास भवन बस्न नमिल्नेगरी जोखिमयुक्त भइसकेको निष्कर्ष निकालेको थियो । त्यसपछि क्याम्पस प्रशासनले २०७९ साउन १० गते एक सूचना जारी गर्दै एक नम्बर छात्रावास भवनमा बस्न निषेध गरिएको बताएको थियो । तर, उक्त सूचना आउँदा पनि त्यहाँ विद्यार्थीहरू बस्न छोडेनन् । क्याम्पस प्रशासनले पनि विद्यार्थीहरूलाई त्यहाँ बस्ने नदिने केही पनि प्रबन्ध गरेन । त्यसयता तीन वर्ष बितिसकेको छ । क्याम्पस प्रशासन अझै गैरजिम्मेवार बनिरहेको छ ।

छात्रावासमा बसिरहेका विद्यार्थीहरू आफूहरू बाध्यतावस जोखिम मोलेर बस्नुपरिरहेको बताउँछन् । ‘बाहिर कोठा लिएर बस्नलाई भाडा तिर्ने खर्च पुग्दैन । यहाँ नबस्ने हो भने हामीलाई नेपालगन्जमा बसेर पढ्नसक्ने स्थिति छैन । यस्तो जोखिमपूर्ण घरमा बस्न त हामीलाई पनि रहर छैन नि । कहिले छत खस्ला भन्ने पिर छ । कहिले सर्पले टोक्ने हो कि भन्ने चिन्ता छ,’ बर्दिया घर भएका एक विद्यार्थीले भने । विद्यार्थीहरूले छात्रावास वरिपरि सर्पको बिगबिगी रहेको पनि बताए । छात्रावाससम्म पुग्ने बाटोमा पनि घाँस पलाएर जोखिमपूर्ण अवस्था छ । अर्का एक विद्यार्थीले सबै विद्यार्थीहरू भाडामा कोठा लिएर बस्न सक्ने स्थितिका नहुने भएकोले क्याम्पसले गरिब विद्यार्थीलाई ध्यानमा राखेर व्यवस्थित छात्रावास बनाउनु जरुरी रहेको बताए ।

हुनपनि २०२५ सालमा राजा महेन्द्रको पालामा छात्रावाससमेत चाहिने संवेदनशीलता देखाएर बनाइएको उक्त भवन गणतन्त्रकालसम्म आइपुग्दा जीर्ण बनिसक्दा पनि नयाँ भवन निर्माण गर्नेतर्फ कसैले ध्यान दिएका छैनन् । क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनका सभापति केशरजंग शाही गरिब तथा विपन्न विद्यार्थीका लागि छात्रावास अनिवार्य आवश्यकता रहेको बताउँछन् । ‘यो क्याम्पस पहाडी तथा हिमाली क्षेत्रबाट आएर उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीहरूको आशा भरोशा हो । यहाँ आएर उनीहरूले कोठा भाडा तिरेरै बस्ने हो भने पढाइका लागि हुने खर्च नै महंगो पर्न जान्छ । सबैले त्यो खर्च धान्नसक्ने स्थिति पनि नहुन सक्छ । त्यसैले हामीले त पटक पटक यो छात्रावास भत्काएर नयाँ बनाउनुपर्छ भनेर आवाज उठाउँदै आएका छौँ,’ शाहीले भने ।

तर, नयाँ भवन त बनाउने परै जाओस् विगत दुई दशकयता उक्त छात्रावास नै बेवारिसे बनाएर बसेको छ क्याम्पस प्रशासन । क्याम्पसमा होस्टेल वार्डेन पद दिइएका एक कर्मचारी पनि छन् । दमन डाँगी नाम गरेका ती कर्मचारीले वार्डेनको काम नगरेको पनि दुई दशक नै भइसकेको बताए । दमनले विद्यार्थी संगठनले हस्तक्षेप गर्न थालेपछि होस्टेलमा आफूले काम गर्न नसकेको बताए । ‘होस्टेलमा को बस्ने, को नबस्ने भन्ने विद्यार्थी संगठनका नेताहरूले नै निर्धारण गर्छन् । हामीले केही भन्यो भने अवरोध गर्न आउँछन् । दुई दशक भइसक्यो, होस्टेलमा को बस्छ ?, कसरी बसेको छ ? केही आधिकारिक जानकारी छैन । क्याम्पसले कुनै शुल्क पनि लिएको छैन ।’

क्याम्पसको दक्षिणतर्फको कुनामा दुईवटा भवनमा उक्त छात्रावास रहेको छ । एक र दुई नम्बर भवन एकै ठाउँमा जोडिएका छन् भने ३ नम्बर भवन अलग्गै रहेको छ । सबै गरी दुई दर्जनबढी कोठाहरू रहेका वार्डेन डाँगी बताउँछन् । एउटै कोठामा चार जनासम्म बस्ने गरेका पाइएको छ ।

छात्रावासमा बसिरहेका विद्यार्थीहरू पनि होस्टेलमा कसले बस्न दियो भन्ने कुरा खुलेर बताउँदैनन् । एकजना विद्यार्थीले भने, ‘यहाँ धेरैजसो नेताका मान्छेहरूले नै प्राथमिकता पाउँछन् । को कसरी बसेका छन् भनेर खुलायौँ भने हामी नै असुरक्षित हुन्छौँ दाई, हाम्रो फोटो पनि नहालीदिनुहोला है,’ ती विद्यार्थीले भने । अर्का एक विद्यार्थीले छात्रावासबारे गुनासो गर्ने हो भने परीक्षामा फेल बनाइदिने डर व्यक्त गरे । ‘हामीले धेरै बोल्यौँ भने परीक्षामा हामीले दिएको पेपर नै गायब बनाइदेलान् दाइ,’ उनले हाँस्दै भने ।

क्याम्पस प्रमुख लालमणी आचार्य पनि क्याम्पसको छात्रावासलाई क्याम्पसको ‘पुरानो रोग’को संज्ञा दिन्छन् । उनले उक्त छात्रावास दुई दशकदेखि क्याम्पसको नियन्त्रणमा नरहेको र अहिले त भत्काएर नयाँ बनाउनुको विकल्प नै नरहेको उनले बताए । ‘हामीले त्यहाँ नबस्नु भनेर सूचना जारी गरेकै हो । अरुभन्दा पनि एक नम्बर होस्टेल जोखिम छ भनेर प्राविधिकले भनेपछि अब त्यसलाई भत्काएर नयाँ बनाउनुको विकल्प नै छैन ।

त्यहाँ बसिरहेकाहरूको ज्यानको जोखिमलाई ध्यानमा राखेर उनीहरूलाई अब त्यहाँबाट हटाउने पहल गर्छौँ,’ आचार्यले भने । उनले भवन भत्काउन त्रिभुवन विश्वविद्यालयले नै अनुमति दिनुपर्ने भएकोले भत्काउन ढिलाइ भएको तर्क गरे । नयाँ भवन बनाउन बजेटको स्रोत खोज्ने पर्यत्न गरेपनि सफल नभएको भन्दै उनले निरिहता व्यक्त गरे ।

छात्राहरूको छात्रावास दुई दशकदेखि अधुरै 

भारतीय दूतावासको सहयोगमा सन् २००६ जुनबाट निर्माण सुरु गरिएको महेन्द्र बहुमुखी क्याम्पसले छात्राहरूको छात्रावास भवन बेथितिको अर्काे नमुना बनेर गिज्याइरहेको छ । क्याम्पसको हातावारि साल्ट ट्रेडिङ्गको उत्तरतर्फ रहेको क्याम्पसको जग्गामा उक्त भवनको अधुरो हालतले महेन्द्र बहुमुखीको अधोगतिलाई पनि बताइरहेको छ ।
दुई तलाको उक्त भवन अहिले लागूऔषध दुव्र्यसनीहरूको ‘अखडा’ बनेको स्थानीय लक्ष्मी रानाले बताइन् । लक्ष्मीले उक्त भवनको जग हाल्दै गरेको देखेको पन्ध्र वर्षअघिको सम्झना गर्दै भनिन्, ‘मेरो घरको माथिल्लो तला थप्न लागेको र यसको जग हालेको सँगै हो । १५, १६ वर्ष त भैसक्यो होला । यो भवन यत्तिकै अधुरै छाडेर तमाशा देखाइरहेका छन् ।’ उनले भवन बन्दा छोरीहरू क्याम्पस पढ्ने छोरीहरू बस्ने घर हो भन्दा खुसी लागेको बताउँदै अहिले उक्त घरकै कारण आफूहरूका छोरीचेलीहरू नै असुरक्षित हुन पुगेका बताइन् । ‘राति राति नशा खानेहरू आउँछन् । त्यहीँभित्र केटा केटीहरू पस्छन् । कतिपटक हामीले पुलिसलाई भनेर समात्न लगायौँ । राति प¥यो भने यतातिर आउन पनि डर लाग्छ हामीलाई,’ लक्ष्मीले भनिन् ।

हुन पनि उक्त भवन पनि एक तला पनि पूरा नहुँदै अधुरै छोडिएको छ । भवन निर्माण सुरु हुँदा महिला छात्रावास र डिग्री कलेज भवनसमेत गरी दुई करोड २४ लाख रूपैयाँँको लागत अनुमान तयार गरेर गोर्खा–बडिमालिका जेभी कम्पनीलाई निर्माणको जिम्मा दिइएको क्याम्पस प्रशासनले जानकारी दिएको छ । सम्झौताको समयभित्र ३० प्रतिशत मात्रै काम भएपछि ठेक्का सम्झौता तोडेर २०६८ फागुन २९ मा नर्सिङ–कालापानी जेभीलाई एक करोड ४० लाख रूपैयाँँमा ठेक्का दिइएको पाइएको छ ।

भारतीय दूतावासले २०१६ मे २ सम्म एक करोड ६२ लाख ६४ हजार ५६२ रूपैयाँँ उपलब्ध गराएको थियो । तर, निर्माण पूरा नभएर अलपत्र रहेको डिग्री भवन भने नेपालगन्ज उप–महानगरपालिकाले पूर्णता दियो । छात्रावासको भवनका लागि भने अहिले पनि भारतीय दुतावासकै मुख ताकिरहेको छ क्याम्पस प्रशासन । क्याम्पस प्रमुख लालमणी आचार्य राजदुतावासबाट पटक पटक भवन निर्माण पूरा गरिदिने प्रतिबद्धता आएपनि परिणाम प्राप्त हुन नसकेको बताउँछन् ।

स्ववियु सभापति केशरजंग शाही भने उक्त भवन अलपत्र पर्नुमा विद्यार्थी संगठनले निर्माण कम्पनीहरूसँग अनुचित रकम माग गरेर दुःख दिएपछि एकपछि अर्काे कम्पनी परिवर्तन भएको पाइएको बताउँछन् । ‘काम गर्न नदिने, चन्दा मागेर हैरान गर्ने, काम गर्न अवरोध गर्ने काम विद्यार्थी संगठन र तिनका नेता भन्नेहरूले नै गरेका रहेछन् । त्यसैले अड्किएको उक्त काम अझै अघि बढेको छैन,’ शाहीले भने, ‘अहिले पनि स्रोत खोजेर उक्त भवन निर्माण गर्न क्याम्पस प्रशासन र जनप्रतिनिधिहरू सक्रिय हुन सक्नुभएको छैन ।’

  • No tags available
प्रकाशित मिति : २०८२ भदौ २ गते सोमबार