शक्ति संघर्षमा रुमल्लिएको नाउपा



धनगढी ।

नागरिक उन्मुक्ति पार्टी (नाउपा)भित्र अहिले वारपारको आन्तरिक शक्ति संघर्ष चलिरहेको छ । पार्टीभित्र श्रीमान–श्रीमती रहेका रेशमलाल चौधरी र रञ्जिता श्रेष्ठबीचको शक्ति संघर्षले पार्टीका कार्यकर्ताहरूमा अन्यौलता बढ्दो छ । लामो समयदेखि भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा उपचाररत नाउपाका नेता एवं पूर्वमन्त्री लक्ष्मणकिशोर चौधरीले पार्टी संरक्षक रेशम र पार्टी अध्यक्ष रञ्जिताको अहमताले पार्टीनै युद्ध मैदानमा परिणत भएको आक्रोश व्यक्त गरेका छन् ।

उनले भने, ‘पार्टीनै बाँदरको हातमा नरिवल प¥यो । मनलाग्दी गरे । रेशम बढी जान्ने अहमतावादी भएर बिग्रिएको हो । रञ्जिता बढी परिचालित भएर बिग्रेको हो । स्पष्ट कुरो एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीबाट परिचालित हुन् । यिनीहरूमा परिवारबाहेक अरु कसैलाई विश्वास नगर्ने मानसिकताका कारण पार्टी गलत दिशामा हिँडेको छ ।’

लक्ष्मणकिशोरले भने, ‘परिवारभित्र नाउपाको नेतृत्व रहेसम्म उभो लाग्नेवाला पनि छैन । अब रञ्जितामा के देख्छु भने जतिसके चलाउने, नसके सिध्याउने रणनीति देखिन्छ । विधि विधानको कुनै अध्ययन छैन । केवल शक्ति देखाउने काम मात्र भयो । शक्ति र पावर पाउनेबित्तिकै एक अर्कामाथि प्रतिशोध साँध्ने काम मात्रै भयो ।’

लक्ष्मणकिशोरको ९ बुँदे अपिल

पूर्वमन्त्री चौधरीले विवेकहीन नेतृत्वको कारण लाखौँ मतदाताको भावना र सपनामाथि तुषारापात भएको भन्दै नाउपा सुधारको लागि ९ बुँदे अपिलसमेत जारी गरेका छन् । उनले सार्वजनिक अपिल गर्दै वर्तमान आधिकारिक अध्यक्षलाई समर्थन गर्ने, केन्द्रीय समितिको विस्तार तथा अद्यावधिक गर्ने, पार्टीको विधानलाई संशोधन गर्ने, विधानले निर्देशित गरेको मापदण्डअनुसार पदाधिकारीलाई तोकुवा नभई लोकतान्त्रिक विधिद्वारा चयन गर्ने, पार्टीको अध्यक्षलाई अझै जिम्मेवार बनाउन विशेष समिति बनाउने

। आगामी फागुनभित्रै महाधिवेशन र विधान सम्मेलन र विशेष अधिवेशन र राष्ट्रिय भेला गरिसक्नुपर्ने औँल्याएका छन् । त्यस्तै, पार्टीको ब्यानरमा पहिचानवादी शहीद र पार्टी अध्यक्षको फोटो र तस्बिरबाहेक अन्य व्यक्तिको फोटो हटाउनुपर्ने, पहिचानको मुद्दालाई आत्मसात् गर्दै टीकापुर घटनाका राजबन्दीहरूलाई सदा सम्मान गर्ने र अन्य दलबाट प्रवेश गर्ने व्यक्तिलाई तिनका तहअनुसारको विशेष सम्मानित पदको व्यवस्था गर्ने सुझाएका छन् ।

लक्ष्मणकिशोरलाई पण्डितको समर्थन

पूर्वमन्त्री चौधरीको अपिलमा पार्टीका अर्का वरिष्ठ नेता दामोदर पण्डितले समर्थन जनाएका छन् । सामाजिक सञ्जालमा आफ्नो विचार सार्वजनिक गर्दै पण्डितले लेखेका छन्, ‘आज नाउपा नामको पार्टीको डुङ्गा नदीको मझधारमा छ । न बोटे छ, न डुङ्गाका बहना छन् । छन् त केवल त्यसमाथि सवार यात्रु मात्र । डुब्छ या किनारमा लग्छ, थाहै छैन । पार्टीको यो अवस्थाले मलाई लेख्न बाध्य बनायो ।’

उनले भनेका छन्, ‘धेरै अप्ठ्यारोमा छ पार्टी भन्ने लाग्न सक्छ । तर सहज निकास पनि छ । पहिलो कुरा बैठक छिट्टै बसौँ । ठोस निर्णय गरौँ । पूर्वमन्त्री माननीय लक्ष्मण जोगेठ्वा जिको ९ बुँदे प्रस्तावप्रति मेरो पूर्णसमर्थन छ । सबैलाई त्यो पढ्न र समर्थन गर्न अनि आगामी बैठकलाई त्यसैमा केन्द्रीकृत भएर पार्टीलाई अगाडि बढाउन अनुरोध गर्दछु । हामीले गरेका गल्तीको गम्भीरतापूर्वक समीक्षा गरौँ ।’

पार्टीभित्र एकअर्कालाई कारबाहीको प्रक्रिया जारी

कैलालीबाट उदाएको नाउपा आन्तरिक कलहको भूमरीमा फँसेको छ । हालै रेशम पक्ष तथा बहुमत केन्द्रीय सदस्यहरूको राष्ट्रिय भेलाले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलाई पार्टी सदस्यसमेत नरहने गरी हटाएको थियो । लगत्तै पार्टी अध्यक्ष लालवीर चौधरीलाई बनाइयो । तर निर्वाचन आयोगले लालवीर चौधरीलाई वैधता नदिएपछि रञ्जिता श्रेष्ठ पुनः अध्यक्षमा कायम गरिएकी हुन् ।

निर्वाचन आयोगबाट मान्यतासँगै बल पाएकी रञ्जिताले पार्टीका संसदीय दलका नेतासमेत रहेका गंगाराम चौधरीमाथि कारबाहीको डण्डा चलाएकी हुन् । पार्टीले सोधेको स्पष्टीकरणको समेत दलको नेता चौधरीले जवाफ नदिएको भन्दै चौधरीमाथि कारबाही गरेर संसदलाई जानकारीसमेत गराएकी छिन् ।

पार्टीको संसदीय दलको नेताको भूमिकामा रहेको व्यक्तिले नपाएको महासचिवको ओहोदा उल्लेख गरी पार्टीको लेटरप्याड तथा छापको दुरुपयोग गरी पार्टीको हितविपरीत हुने गरी अवाञ्छनीय क्रियाकलाप गरेको भन्दै स्पष्टीकरण सोध्दा पनि चित्तबुझ्दो नदिएपछि फेरि माग्दा जवाफनै नदिएको पत्रमा उल्लेख छ ।

उनले संसदीय दलको नेताको भूमिकामा रहेको व्यक्तिले पार्टीको विधानविपरीत केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको, संवैधानिक आयोगको रूपमा रहने निर्वाचन आयोगको बैठक निर्णयविपरीत पार्टीको महासचिव पद उल्लेख गरी पार्टीको छाप तथा लेटरप्याड दुरुपयोग गरी विभिन्न निर्णय एवं पत्राचारहरू गरेको र दलत्याग गरेको एवं केन्द्रीय कमिटी पदाधिकारीसमेत नरहेका व्यक्तिलाई बैठकमा सामेल गराएको आरोप चौधरीमाथि लगाएकी छिन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ भदौ १ गते आइतबार