
शिवु खनाल । दाङ ।
नेपालमा बर्सेनि सर्पदंशबाट तीन हजारभन्दा बढीले ज्यान गुमाउँदै आएका छन् । सर्पदंशबाट बर्सेनि ४० हजारभन्दा बढी प्रभावित हुने र तीन हजारभन्दा बढीको मृत्यु हुने गरेको एक अध्ययनले देखाएको छ । सर्पको टोकाइबाट हुने मृत्युका सबै घटना प्रहरीसँग पुग्दैन । त्यसैले वास्तविक मृत्युको सङ्ख्या अझै धेरै हुने अनुमान छ ।
सर्पले टोकेको एक घन्टाभित्र उपचार सुरु गर्नुपर्ने भए पनि अस्पतालसम्म नपुग्दा बर्सेनि हजारौँको सङ्ख्यामा ज्यान जाने गरेको चिकित्सकहरूको भनाइ छ । गोमन, करेतजस्ता विषालु सर्पले टोकेर तत्काल उपचार गर्नुपर्नेसमेत बर्सेनि सयौँभन्दा बढी बिरामी अस्पताल पुग्ने गरेका छन् । दुई महिनायता देउखुरी क्षेत्रमा दैनिक सर्पको बिगबिगी बढेको छ । यहाँ दैनिक सर्पदंशका बिरामी उपचारका लागि आउने गरेका छन् ।
लमही र गढवा सर्पदंश उपचार केन्द्रमा आइसियु र भेन्टिलेटर नहुँदा बिरामीलाई उपचारका लागि अन्यत्र जान सिफारिस गर्ने गरिएको छ । बिरामीलाई समयमै अस्पताल पु¥याउन नसक्दा बाटैमा मृत्यु हुने गरेको छ । दैनिक सर्पदंशका बिरामी उपचारका लागि आउने गरेका छन् । आइसियु र भेन्टिलेटर नहुँदा अन्य अस्पताल लैजान सिफारिस गर्नुपर्ने बाध्यता छ । अस्पतालमा सर्पदंशका बिरामी राख्न भेन्टिलेटर छैन ।
राजपुर गाउँपालिका वडा नम्बर ३ खरदरियाका ५५ वर्षीय शालिकराम यादवलाई विषालु सर्पले डस्यो । यादवलाई सोमबार बिहानै करिब ५ बजे घरभित्रै योग गर्दै गरेको अवस्थामा विषालु सर्पले डसेको हो । सर्पले डसेपछि लगत्तै उनलाई तत्काल गढवास्थित सर्पदंश उपचार केन्द्रमा पु¥याइयो । गढवामा उपचार सम्भव नभएपछि थप उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही रिफर गरिएको थियो । उपचारका क्रममा प्रतिष्ठानमा यादवको मृत्यु भएको हो ।
राजपुर गाउँपालिका– १ कटबेरुवाका १६ वर्षीया सुस्मिता रोकालाई गत साउन ३ गते विषालु सर्पले डस्यो । घरमा पढिरहेको बेला रोकालाई सर्पले डसेपछि उपचारका लागि गढवा सर्पदंश उपचार केन्द्रमा पु¥याइयो । उपचारका क्रममा रोकाको मृत्यु भयो । राजपुर गाउँपालिका वडा नं. १ कटबेरुवा निवासी ३० वर्षीया बेनी रोकालाई गते सर्पले डस्यो । घरमा रहेकी रोकालाई खुट्टामा सर्पले डसेपछि उपचारका लागि लमही अस्पतालमा पु¥याइयो । उपचारका क्रममा रोकाको अकालमा ज्यान गयो ।
राजपुर गाउँपालिका वडा नं. ३ खरदरिया निवासी ४० वर्षीय तारावती यादवलाई विषालु सर्पले डस्यो । गत असार ६ गते यादवलाई घरमा काम गरिरहेको बेला सर्पले डसेलगत्तै गढवा र लमहीमा उपचार सम्भव नभएपछि थप उपचारका लागि घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पु¥याउँदा पु¥याउँदै बाटोमै अकालमा ज्यान गयो । ‘असारदेखि भदौ, असोजसम्म देउखुरी क्षेत्रमा बर्सेनि सर्पले डसेर नागरिकले अकालमा ज्यान गुमाउनु परेको छ । आइसियु र भेन्टिलेटर सहितको उपचार नपाउँदा नागरिकले ज्यान गुमाउनु परेको हो ।
तर, यसको उपचारलाई सरकारले प्राथमिकतामा राखेको छैन । जसकारण ग्रामीण भेगमा बसोबास गर्ने र विपन्न बढी प्रभावित भइरहेका छन् ।
सामाजिक अभियन्ता तथा ‘हाम्रो दाङ हाम्रो जिम्मेवारी’ अभियानका संयोजक प्रदिप मजगैयाँले भने, ‘समयमै स्वास्थ्य संस्था पुग्दा पनि सर्पदंश उपचार नपाएर नागरिकले ज्यान गुमाउनुपर्ने गम्भीर अवस्था दाङ देउखुरीमा देखिएको छ । स्वास्थ्यजस्तो आधारभूत अधिकारमै सहज पहुँच नपाएर नागरिकले मृत्यु वरण गर्नुपर्ने परिस्थितिले दाङको विकासबारे गम्भीर प्रश्न खडा गरेको छ, जनताको जीवनभन्दा ठुलो तपाईँहरूको राजनीति हो ? योजना बनाउनेहरू, राजनीतिक दल र पदमा बस्ने नेताहरूलाई यो पीडाले अलिकति पनि छुँदैन ?’
संयोजक मजगैयाँ सोमबार आन्तरिक मामिला तथा कानुन मन्त्रालय पुगेर सचिव र विपद् व्यवस्थापन महाशाखाका प्रमुखलाई दाङमा सर्पदंश उपचार अभावका कारण बढ्दो जोखिमबारे औपचारिक जानकारी गराए । उनका अनुसार, सचिवले सर्पदंश उपचारका लागि सुविधासम्पन्न सर्पदंश केन्द्र दाङ देउखुरीमै स्थापनाका लागि आन्तरिक मामिला तथा कानुन मन्त्रालय र स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मजगैयाँले नागरिकलाई सचेत रहन आग्रह गर्दै भने, ‘अब जनताले आवाज उठाउनुपर्छ । किनकि स्वास्थ्यजस्तो आधारभूत अधिकारबाट वञ्चित हुँदा नागरिकले ज्यान गुमाउनु लोकतन्त्रकै अपमान हो ।’
२० प्रतिशत बिरामी पुग्छन् स्वास्थ्य संस्था
विशेषगरी, ग्रामीण क्षेत्रमा सर्पको टोकाइबाट बढी प्रभावित हुने र स्वास्थ्य संस्था नजिक नहुँदा समयमै उपचारबाट वञ्चित रहने भएकाले समेत मृत्युदर उच्च रहेको अध्ययनमा उल्लेख छ । सर्पको टोकाइ र यसको उपचारमा पहुँचबारे अध्ययनकर्मी चिरञ्जिबी खनालले भने, ‘सर्पको टोकाइबाट हुने केसहरू ग्रामीण भेगमा बढी हुन्छन्, जहाँ नजिक सर्पदंश उपचार केन्द्र हुँदैन । सर्पदंशको उपचारका लागि प्रयोगमा ल्याइने परम्परागत प्राथमिक उपचार विधि जोखिमपूर्ण छन् ।’
‘डोरीले बाँध्ने, घाउ चुस्ने अर्थात् टोकेको ठाउँमा काटेर रगत बग्न दिनेजस्ता परम्परागत विधिले विषको प्रभाव घटाउँदैन । बिरामी समयमै अस्पताल पु¥याउन ढिलाइ हुने भएकाले ज्यान जाने जोखिम बढी हुन्छ ।’ वन्जजन्तु अनुसन्धानकर्ता तथा सर्प उद्दारकर्ता चिरञ्जिबी खनाल भन्छन् । ‘सर्पले टोक्यो भनेर आत्तिएर र घरेलु उपचार जस्तै गोबर लगाउने, ढुङ्गाले घोट्ने, धामी झाँक्रीकोमा लैजाने र टोकेको माथिल्लो भाग काट्ने, बाँध्ने, टोकेको ठाउँमा चुसेर रगत निकाल्ने जस्ता कार्य गरेर अस्पतालमा ढिला गरी पुग्ने प्रवृत्ति समाजमा देखिन्छ ।
यसले गर्दा बिरामीको आत्तिएर मृत्यु हुन्छ ।’ सर्पले टोकेको थाहा पाउना साथ नजिकैको सर्पदंश केन्द्रमा लगेर एन्टिस्नेक भेनम लगाउन नेपाल औषधि व्यवसायी संघ दाङका अध्यक्ष एवम् स्वास्थ्यकर्मी विष्णुप्रसाद पौडेलको सुझाव रहेको छ । यता लमही सर्पदंश उपचार केन्द्रबाट तालिम प्राप्त डक्टर र गढवा सर्पदंश उपचार केन्द्रबाट नेपाली सेनाद्वारा नियमित रुपमा सर्पका बिरामीहरूलाई उपचार गर्दै आएका छन् । तर दुवै सर्पदंश उपचार केन्द्रमा न त आइसियु, न त भेन्टिलेटर नै छ । हचुवाको भरमा जोखिम मोलेर उपचार गर्ने गरिएको छ । वर्षातको समयमा सर्पको बिगबिगी बढेको बेला दुवै अस्पतालमा सर्पदंशका बिरामी राख्न भेन्टिलेटर छैन ।









प्रतिक्रिया दिनुहोस्