रानी जमरा–कुलरिया आयोजनाको थप सिँचाइ र जलविद्युुतको उद्घाटन



चिसापानी (कैलाली) ।

मंगलबार दिउँसो नेपाली सेनाको हेलिकोप्टरमा प्रधानमन्त्री खडकप्रसाद (केपी) शर्मा ओली कैलाली पुगे । १ बजेर १५ मिनेटमा उनी लम्की चुहा नगरपालिकास्थित नेपाली सेनाको गोरुगां ब्यारेकमा झरे । त्यहाँ ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासहित सुदूरपश्चिमका मुख्यमन्त्री, मन्त्री, प्रदेश सभा सदस्यहरू स्वागतका लागि कुरिरहेका थिए ।

प्रधानमन्त्री ओली पुगेपछि उनीहरूले फूलगुच्छासहित दिएर सम्मानका साथै स्वागत गरे । लगत्तै उनीहरू चिसापानीमा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना रानीजमरा कुलरिया सिँचाइ आयोजनाको इन्टेक निरीक्षण गर्न पुगे । इन्टेक निरीक्षणपश्चात् प्रधानमन्त्री जलविद्युत् तथा प्रशारण लाइनको उद्घाटनका लागि जानकी गाउँपालिका वडा नम्बर ९ कटासेका लागि गाडीमा सवार भए ।

झण्डै २ बजेतिर कार्यक्रमस्थल पुगेका प्रधानमन्त्री ओलीले शिलालेखको शिलान्यास गर्दै प्रशारण लाइनको उद्घाटन गरे भने लगत्तै सो प्रशारण लाइनको प्रत्यक्ष अनुगमन गरे । प्रधानमन्त्री ओलीले रानीजमरा कुलरिया सिँचाइ आयोजनाको सिँचाइतर्फको थप सिँचाइ, जलविद्युत् र प्रसारण लाइनको एक साथ उद्घाटन गरेका थिए ।

डेढ दशकदेखि कैलालीमा सो आयोजना निर्माणाधीन अवस्थामा रहेको छ । प्रधानमन्त्री ओलीले मंगलबार रानी, जमरा र कुलरियातर्फको १४ हजार तीन सय हेक्टर सिँचाइ, ४.७१ मेगावाट क्षमताको जलविद्युत् तथा प्रसारण लाइनको उद्घाटन गरेका थिए । प्रधानमन्त्री ओलीले उक्त आयोजनालाई नेपालको जलस्रोत तथा ग्रामीण कृषि क्षेत्रको विकासमा ऐतिहासिक उपलब्धि भन्दै यसले नेपालको ग्रामीण जीवनशैली, कृषि उत्पादन, ऊर्जा आत्मनिर्भरता र खाद्य सुरक्षाको चित्रण गर्ने बताए ।

प्रधानमन्त्री ओलीले १२० वर्षअघिको स्थानीय किसानको सामूहिक प्रयास र परम्परागत सीपबाट सुरु भएको रानी जमरा कुलरिया प्रणालीलाई आधुनिक स्वरूपमा विस्तार गरिएको उल्लेख गर्दै स्थानीय सहभागिता र सरकारको समन्वयबाट आजको सफलताको जग खडा भएको बताए। प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवका सिँचाइ आयोजना–सिक्टा, बबई, महाकाली तेस्रो, भेरी–बबई र सुनकोशी–मरिन बहुद्देश्यीय आयोजना–यथाशीघ्र सम्पन्न गर्न निर्देशन दिए ।

रानीजमरा कुलरीया सिँचाइ आयोजना सूचना अधिकारी नविन पौड्यालका अनुसार हालसम्म आयोजनाको ७५ प्रतिशत काम मात्रै सम्पन्न भएको छ । ‘सिंगो आयोजनाको काम ७५ प्रतिशत मात्रै सकिए पनि १४ हजार तीन सय हेक्टरमा सिँचाइ गर्न तथा जलविद्युत् र प्रशारण लाइन निर्माणको काम सकिएपछि उद्घाटन गरिएको हो,’ पौड्यालले भने, ‘बाँकी २५ प्रतिशत काम भने छ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ ।’

१४ हजार तीन सय हेक्टरमा सिँचाइ सुविधा पुगाउनका लागि काम २०७६ सालमै काम सम्पन्न भएको दाबी गरिएको थियो । २०७६ साउन १ गते तत्कालीन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले मन्त्रालयमै पत्रकार सम्मेलन आयोजना गर्दै १४ हजार तीन हेक्टर क्षेत्रमा सिँचाइ हुने गरी नहरमा पानी छाडिएको दाबी गरेका थिए । यस्तै ४.७१ मेगावाट क्षमताको जलविद्युत् तथा प्रशारण लाइनको काम पनि सम्पन्न भएर डेढ वर्षअघि नै विद्युत् उत्पादन सुरु भइसकेको थियो ।

तर, त्यसको सञ्चालन तथा व्यवस्थापन कार्यविधि भने अझै स्वीकृत भएको छैन । आयोजनाले एक अर्ब रूपैयाँ खर्च गरेर जलविद्युत् गृह निर्माण गरेकोमा उत्पादित विद्युत् बिक्री गरी २५ वर्षमा सिँचाइ आयोजनाको सम्पूर्ण लगानी उठ्ने अनुमान गरिएको छ । आर्थिक वर्ष २०६६–०६७ सालमा आयोजनाको निर्माण सुरु भएको थियो । सूचना अधिकारी पौड्यालका अनुसार आयोजनाको मूल उद्देश्य रानी, जमरा र कुलरिया सिँचाइ प्रणालीको १४ हजार तीन सय हेक्टर, नयाँ शाखा नहर विस्तारमा छ हजार हेक्टर र सिंचित क्षेत्र विस्तारअन्तर्गत पथरैयादेखि कान्द्रा नदीसम्मको थप १८ हजार हेक्टर गरी ३८ हजार तीन सय हेक्टर खेतीयोग्य जमिनमा वर्षैभरि सिँचाइ सुविधा उपलब्ध गराउने हो ।

नेपाल सरकारबाट स्वीकृत गुरुयोजनाअनुसार २० हजार तीन सय हेक्टर क्षेत्रफलको निर्माण कार्य आर्थिक वर्ष २०८०–०८१ मा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर, उक्त काम सम्पन्न हुन अझै छ वर्ष लाग्ने देखिएको हो । नेपाल सरकार तथा विश्व बैंकको संयुक्त लगानीमा आर्थिक वर्ष २०६७–०६८ देखि आर्थिक वर्ष २०८०–०८१ सम्ममा सम्पन्न गर्ने लक्ष्यका साथ कूल लागत २७ अर्ब ७० करोड २५ लाखको खरिद गुरुयोजना २०७४ चैत १५ गते स्वीकृत भएको थियो । तर, निर्धारित समयमा काम सम्पन्न नहुँदा आयोजनाको लागत पनि बढ्दै गएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ साउन १४ गते बुधबार