कोष खड्का ‐भारद्वाज) व्यस्त रेडियोकर्मी होइनन् तर जादुमयी प्रस्तुतिले चर्चित बनेका व्यस्त उद्घोषक हुन् । अब उनी उद्घोषक मात्र होइन् प्रेरणादायी अर्थात् मोटिभेसनल स्पीकरका रुपमा दरिँदै गएका छन् । नेपालका व्यस्त उद्घोषकहरुमध्ये उनको नाम शीर्ष स्थानमा आउँछ । धार्मिक एवम् आध्यात्मिक कार्यक्रमबाट लोकप्रिय बनेका उनी सांगीतिक कन्र्सटहरुमा पनि उत्तिकै छाइरहेका छन् । शब्द वाणी र बुलन्द आवाजले हरेक व्यक्तिलाई प्रभावित बनाइरहेका उनले आफ्नो अनुभव सुनाएका छन् ।
उद्घोषण यात्रा
सुरुमा रेडियो कस्तो होला, के होला भन्ने लाग्थ्यो । बोल्ने मान्छे रेडियो भित्रै छन् कि भन्ने लाग्थ्यो । तर जब आफू रेडियोमा बोल्न थालियो त्यसपछि धेरै कुरा जान्ने मौका मिल्यो । रेडियोमा बोल्दा धेरै चिठीपत्रहरु आउँथे, फोनहरु आउँथे । तर हिजोआज फोन र चिठी कम भएको छ र हात हातमा मोबाइलमा रेडियोहरु सुन्नेहरुको संख्या बढेको छ । वास्तवमा मेरो यात्रा रेडियो कार्यक्रम सञ्चालकबाट भएको हो ।
रेडियोकै कारण आज हजारौँ मानिसहरुका अगाडि उभिएर बोल्न सक्ने भएको छु । मेरो सबैभन्दा ठुलो पाठशाला रेडियो नै हो । मेरो हिजोआजको दैनिकी भनेको पूर्णकालीन उद्घोषण नै हो । तर रेडियोको युग सकिएको भनेर जसले भनिरहेका छन् त्यो गलत हो । रेडियोको चाम अझैपनि छ । अहिलेपनि अनलाइनका माध्यमबाट रेडियो गुन्जयमान हुनेगर्छ । रेडियो सुन्न कम भए तापनि त्यसको प्रभाव भने अझै छ । र रेडियो सुन्नेहरुको संख्या उत्तिकै छ ।
हुन त हिजोआज उद्घोषण कला सिकाउने सेन्टरहरु स्थापित छैनन् । उदघोषण सिकेर मात्रै हुँदैन, आफूमै क्षमता चाहिन्छ । यसमा सबैभन्दा ठुलो कुरा भनेको धैर्यता हो । जीवनमा सफलता प्राप्त गर्नुछ भने धैर्यता राख्ने क्षमता आफूमा हुनुपर्छ । धैर्यताका साथ जसले कर्तव्य निर्वाह गर्छ त्यो सफल हुन्छ । आजपनि गुणात्मक हिसाबले उद्घोषकहरुको संख्या बढेको छ, संख्यात्मक हिसाबले छैन ।
यसर्थ उद्घोषकको महत्व र आवश्यकता कमी होइन अझै बढेर गएको महसुस भएको छ । हिजो बोल्नेलाई सामान्य हो भन्ने चलन थियो, बोल्नेलाई पनि पैसा दिनुपर्छ र भन्ने थियो । तर अहिले आज प्रोफेसनल उद्घोषक चाहिन्छ है भनेर खोजी हुने गरेको छ । कुनै कार्यक्रममा एउटा उद्घोषकले जुन तरिकाले कार्यक्रम चलाँउछ त्यो सामान्य व्यक्तिले सक्दैन । व्यवसायिक व्यक्ति नै चाहिन्छ । ज्ञानले भरिपूर्ण हुनुपर्छ भन्ने पनि छ । सोही अनुसार माग पनि हुने रहेछ ।
अध्ययनमा विविधता र प्रेरणा

एक सफल उद्घोेषक वा पब्लिक स्पीकर बन्न विविध क्षेत्रको अध्ययन जरुरी पर्छ । जसले अध्ययन, अनुसन्धान अन्वेषण गर्छ वा जसले जे कुराको खोज गर्छ उसमा सोही कुराको निखारता हुँदै जाने हो । ज्ञानहरु वृद्धि हुँदै जाने हो । धनले बदलिएको मानिसभन्दा ज्ञानले बदलिएको मानिस धेरै बुद्धिमान हुन्छ । हामी ज्ञानले बदलिनुपर्छ र ज्ञान हासिल गर्न अध्ययन गर्नुपर्छ । अध्ययनले हामीमा निखारता ल्याउँछ र त्यसलाई प्रस्तुत गर्ने शैली अपनाउन सकियो भने सफल पनि भइन्छ ।
वास्तवमा प्रस्तुतीकरणले मान्छेलाई लठ्याउने हो । मान्छेको हृदयमा बस्ने हो । उद्घोषकको लागि प्रस्तुतीकरण एकदमै जरुरी हुन्छ । मेरो सन्दर्भमा कुरा गर्ने हो भने म अध्ययन गर्छु, आफूभन्दा अग्रजहरुले बोलेको सुन्छु र उहाँहरुको नोभेलहरु पढ्छु । त्यसलाई आफ्नो शैलीमा ढाल्ने प्रयास गर्छु । जसको आफ्नोपन हुँदैन त्यसको प्रगती हुन सक्दैन । मानिसको जीवन छोटो छ तर ज्ञान अनन्त छ । छोटो जीवनमा ज्ञान अन्नत प्रदान गरेर आफूलाई श्रेष्ठ बनाउनुपर्छ । त्यही कर्ममा म अघि बढ्छु र आफ्नो शैलीमा ढालेर प्रस्तुत वा वाणीहरु प्रस्तुत गर्दा सबैले मन पराइ दिनुभएको छ ।
हुनत मेरो जीवनमा सबैभन्दा ठुलो प्रेरणा भनेको रेडियो नै हो । रेडियो सुन्दा चर्चित व्यक्तिहरुको कुराहरु सुन्थेँ । आफूपनि सोही अनुसार बोल्न पाएपनि हुन्थ्यो भन्ने एउटा कल्पना थियो । त्यसपछि ०६८ सालमा रोडियोमा बोल्न सिकेँ । त्यसपछि एउटा रेकर्डिङ कार्यक्रम चलाएँ । म पहिलो पटक अन एयर हुँदा पुस महिना थियो । रेडियोमा लाइभ प्रोगाम चलाउन गएको थिएँ । त्यसबेला स्टेशन म्यानेजर मेरो छेउमै आएर बस्नु भएको थियो । मलाई के बोल्ने थाहा थिएन । तर जे बोलेको रहेछु राम्रै बोलेको रहेछु ।
तर म पुसको महिनामा पसिनाले भिजेर निथ्रुकै भएको थिए । पुसको महिनामा पनि मलाई पसिना आउने बनाएछ । त्यहाँबाट मेरो संघंर्षको यात्रा सुरु भएको थियो । एक दशक रेडियो कार्यक्रम सञ्चालन गरेँ । भनिन्छ नि जीवनमा सँधै विकल्प राख्नपर्छ । त्यसपछि मेरो बाटो मोडियो । सिन्धुलीको कमलामाई नगरपालिका सिन्धुलीमाडीमा पहिलो धार्मिक कार्यक्रम चलाएँ । सोहीबेला धार्मिक स्टेज चढेँ । त्यसपछि निरन्तरता दिँदै गएँ र राम्रो हुँदै गयो । लगाव बढ्यो । भाषा शुद्ध भयो । शब्द चयनमा ध्यान दिन थालेँ ।
शब्दसँग खेल्न मन पर्न थाल्यो । आफूसँग भएको क्षमता आफैँले पहिचान गर्नुपर्ने रहेछ । संसारमा कसैले पनि तपाईभित्र यो क्षमता छ भनेर भनिदिँदैन । क्षमता स्वयमले पहिचान गर्ने हो । मैले पनि आफूभित्र यो क्षमता छ भनेर पहिचान गरेँ । त्यो महसुस गरेँ । अनि महोत्सवको स्टेज चढ्नुपर्छ भन्ने लाग्यो । सांस्कृतिक कार्यक्रमहरुको स्टेजमा ०७५ बाट चढ्न थालेँ । प्रस्तुति राम्रो हुँदै गयो । मलाई दर्शकले मन पराइदिनुभयो । त्यसपछि म स्टेज यात्रामा निस्किएँ । धेरै ठाउँबाट बोलाउन थाल्नुभयो । अहिलेसम्म नेपालका ७३ वटा जिल्लाहरुमा पुगिसकेको छु । कयौँ स्थानहरुमा माया–प्रेम पाएको छु । हरेक वर्ष १५ वटा जति महोत्सव गर्ने गरेको छु भने १० देखि २० वटासम्म धार्मिक स्टेजहरुमा उद्घोषण गर्ने गरेको छु ।
टर्निङ पोइन्ट
केही समयअघि सम्पन्न पोखरा कोटिहोममा एकजना सहयोगी साथीले एउटा चिठी ल्याएर दिनुभयो । त्यसमा लेखिएको थियो, ‘आदरणीय उद्घोषकज्यू राधे राधे । हजुरलाई धेरै हेरिरहेको र हजुरको बोलीबाट प्रभावित भइरहेको छु । म एकपटक हजुरलाई भेट्न चाहन्छु ।’ पत्रमा यही उल्लेख थियो । त्यसपछि मञ्चदेखि बाहिर ओर्लिए र उहाँलाई भेटेँ । उहाँले मलाई देख्नेबित्तिकै आँखाबाट आँसु बगाउनुभयो । किन रुनुभयो भनेर प्रश्न गर्दा उहाँको उत्तर थियो – ‘हजुरको बोली र वाणी सुनेर जीवन जिउने एउटा उत्प्रेरणा जागेको छ ।
सही ढंगबाट जीवन जिउन थालेको छु । वास्तवमै हजुर जीवन जिउने उत्प्रेरणा भएको छ । हजुरलाई देख्ने भगवानसँग प्रार्थना थियो, आज पूरा भयो उहाँले भन्नुभयो । अनि मलाई लाग्यो कमाएको भनेको यही रहेछ । मंले कमाएको भक्तहरुको प्रेम हो । दर्शकको माया हो । जहाँ म जान्छु उहाँहरु मलाई हुटिङ्ग गर्नुहुन्छ । जहाँ म जान्छु त्यहाँ आँखाभरी आँसु झारेर बाबा–आमाहरु आफ्ना विगतका कुरा भुल्दै नयाँ जीवनको आनन्दको अद्भूत गर्नुहुन्छ । सबैले मन पराइदिनुभएको छ ।
०७२ बाट मैले धार्मिक यात्रा सुरु गरेँ । सुरु गर्दैजाँदा सञ्जालहरुमा धेरै माया गर्नेहरु पाइरहेको छु । कोरोनाको बेलामा दिप टेलिभिजनलाई मैले सम्झनपर्छ । त्यो टेलिभिजनबाट एकदमै धेरै माया पाएँ । झापामा एकजना आमाबाबा हुनुहुन्छ । उहाँहरु मलाई आफ्नो कान्छो छोराको रुपमा मान्नुहुन्छ । मेरा कयौँ आमा–बाबाहरु हुनुहुन्छ । पछिल्लो समय पशुपति कोटिहोममा आए । काठमाडौँ केन्द्रित भएर कर्म गर्न पाए । कोटिहोमले अझै धेरै स्थापित ग¥यो । यसको श्रेय बालयोगेश्वर विजय श्रीकृष्णमूर्तिजी महाराजलाई जान्छ । त्यसपछि पोखरामा गरेँ । त्यसले मलाई अझै धेरै व्यापकता बनायो । व्यापकताका बिचमा नै मैले धेरै प्रेम पाएको छु ।
सबैको साझा बन्नुपर्छ
उद्घोषकले कहिलेपनि आफ्नो कुरा बोल्ने होइन अरुको मनको भावना बुझेर बोल्न पर्नेहुन्छ । किनकि उद्घोषकले सबैको साझा हो । बोल्दै गर्दा सिलसिलायुक्त कलात्मक शैलीमा सबैको हृदयमा विरजमान हुनेगरी वाणी प्रस्तुत गर्न सक्नेगरी उद्घोषकसँग कला हुनुपर्छ । त्यसरी कर्म गर्दा सबैको प्रिय भइन्छ । त्यो कला मसँग छ जस्तो लाग्छ । एउटा भनाइ छ ‘बोल्नेको पिठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन’ त्यसैले यो समय भनेको शब्द–वाणी छरेर सबैको मनमा बस्ने समय हो ।
बोल्ने कुराले समाजलाई मोटिभेसन गर्नसक्छ र समाजलाई सही रुपान्तरण गर्दछ । बोल्ने कलाले समाजलाई सही सन्देश दिन सकोस् भन्ने हो । मैले जुन हौसला र माया पाएको छु त्यो सब मेरो भक्तजनबाट पाएको छु । वास्तवमा भन्ने हो भने उद्घोषकले गाउँ, समाज, राष्ट्रदेखि हरेकलाई परिर्वतन गर्न सक्छ । किनकि उनीहरुमा त्यो सामथ्र्य हुन्छ ।
जिब्रो बिग्रिए, बोली बिग्रिन्छ
हामी महसुस गर्न सक्छाँै, कसैलाई हेरेर कसैको भावना महसुस गर्न सक्छौँ । उनीहरु हेरिरहेको हुन्छन् हामी बोल्दा । कुन तरिकाले बोलिरहेका हुन्छौँ दर्शकदीर्घाले नियालिरहनुभएको हुन्छ । वृद्धदेखि बालबच्चा, युवायुवती सम्मको मनोभावन बुझेर बोल्न सक्नुपर्छ । हाँसेर जीवन जीउनका लागि के चाहिएको छ भन्ने कुरा उहाँहरुको अनुहार पढियो भनेपनि थाहा हुन्छ । मनको कला बुझ्ने क्षमता उद्घोषक भित्र हुन्छ र हुनुपर्छ । त्यसैले धेरै कुरा ख्याल गर्नुपर्छ । सोच बिग्रिए जिब्रो बिग्रिन्छ, जिब्रो बिग्रिए बोली बिग्रिन्छ ।
अनि बोली बिग्रिए मन बिग्रिन्छ, मन बिग्रिए सम्बन्ध बिग्रिन्छ । सम्बन्ध बिग्रियो भने घर बिग्रिन्छ र घर बिग्रिए जीवन नै बिग्रन्छ । त्यसैले जिब्रो सुध्रियो भने सबैथोक सुध्रिन्छ । प्रमुख कुरा जिब्रो शुद्ध हुनुप¥यो । जीवनका लागि उपयोगी वाणी प्रस्तुत हुनुप¥यो । त्यसैले झर्किएर बोलाउने शब्द र मायाले बोलाउने शब्द एकै भएपनि बोलाउने तरिका फरक भयो भने प्रिय बन्न सकिन्छ । भगवान श्रिकृष्णले भन्नुहुन्छ ‘यो संसारमा सबैको प्रिय हुनु छ भने विनम्रपूर्वक बोल्नुपर्छ ।’ जुन व्यक्तिसँग विनम्रता र मधुरता हुन्छ त्यो व्यक्ति सबैको प्रिय हुन्छ । त्यसैले विनम्र र मधुरता हुन आवश्यक छ ।
उद्घोषक कुनैपनि समारोहको मेरुदण्ड हो । मेरुदण्ड बलियो भयो भने हरेक कुरा बलियो हुन्छ । उद्घोषक समारोहलाई अगाडि बढाउन सक्ने एउटा मेरुदण्ड हो । किनकि कार्यक्रम कुन शैलीमा लैजाने भन्ने कुरा उद्घोषकको हातमा हुन्छ । बिग्रिहाल्यो भने कसरी सुधार्ने भन्ने कुरा उसको हातमा हुन्छ । सुधार्दा पनि कुन तरिकाले सुधार्ने भन्ने उसको हातमा हुन्छ । त्यसैले उद्घोषकलाई सर्वप्यापी मानिन्छ ।
अब भगवानकै भरोसा
यति धेरै माया र स्नेह पाइसकेपछि मैले केही न केही सपना बनाउनुपर्छ । मैले दुईवटा उद्देश्य बोकेको छु । एउटा आफ्नो नाम चिनाउन सकाँै र अर्को एउटा ठाउँलाई चिनाउन सकौँ । त्यही सोचका साथ कर्म गरिरहेको छुु । कर्म गर फलको आश नगर भने जस्तैगरी काम गरिरहेको छु । सही कर्मको प्रतिफल सही नै आँउछ । सत्य तितो हुन्छ तर कालान्तरमा सत्यकै जित हुन्छ । त्यसैले सही कर्म गर्नपर्छ । कुन यात्रामा हिँड्ने भन्ने कुरा हाम्रो हातमा हुँदैन् । भगवानले जुन बाटो लानुहुन्छ त्यतै जाने हो ।
म म्योनेजमेन्ट पढेको मान्छे रेडियोमा बोल्न गएँ । मेरो घरमा कसैले नगरेको काम मैले गरेँ । रेडियोको यात्रासँगै आज आध्यात्मिक यात्रामा छु । कलाकारिता अर्थात् मोडलिङ पनि गर्छु । भोलिको बाटो भोलि नै थाहा हुन्छ । यो सबै सफलता र यात्राको कुरा सबथोक प्रेम हो । प्रेमले आजसम्म यहाँसम्म ल्याइपु¥याएको छ । भोलिका दिनमा प्रेरणा र अनुयायीहरुबाट साथ पाएको खण्डमा उद्घोषणसँगै कथावाचकका रुपमा पनि आफूलाई प्रस्तुत गर्न सकिएला कि जस्तो लाग्छ । संभावना नभएको होइन । त्यो पनि सम्भावना छ ।
तर चाहेर मात्रै हुँदैन भगवानले पनि चाहनुपर्छ । तर मलाई माया गर्नेहरुले यही मुखाराविन्दबाट कथा वाचन गरेको सुन्न पाएहुन्थ्यो भन्ने इच्छा राख्नु भएको छ । तर त्यसका लागि भगावानले चाहेको हुनुपर्छ । भगवानले नचाहे केही हुँदैन । चाहना हामीले गर्नुप¥यो तर पूरा भगवानले गर्नुहुन्छ । भनिन्छ नि, जीवनमा चुनौतीभित्र अवसर देख्ने मान्छे सफल हुन्छ । अवसरभित्र चुनौती देख्ने मान्छे कहिले सफल हुँदैन । मेरो यात्रामा पक्कै पनि सहज थिएन । म कार्यक्रम चलाउन मुगु गएको बेला सक्दिन होला भनेर राति ११ बजे कर्णालीको तीरमा बसेर आँसु बगाएको थिए । त्यसबेला मेरो श्रीमतीले हैसला दिएकी थिइन् । त्यसपछि निरन्तर अघि बढिरहेको छु ।









प्रतिक्रिया दिनुहोस्