सिँचाइ र विद्युत्विहीन जलकुन्डीवासी



श्यामलाल पोखरेल । बुटवल ।

दाङको लमही नगरपालिका वडा नम्बर ९ का ओमबहादुर रामिजालको कुनै नोकरी छैन । उनको ठुलो आम्दानी हुनेखालको कुनै व्यापार व्यवसाय पनि छैन । उनी कृषिमा आत्मनिर्भर सामान्य किसान हुन् । घर चलाउने उनको पुर्खौली पेशा निर्वाहमुखी कृषि नै हो । ‘२१ कट्ठा खेतमा खेतीपाती गरेर जनतन जीविका चलाएको छु, मेरो कुनै नोकरी छैन । कृषिमा पनि भनेजस्तो छैन । वर्षभरी दुःख गरेर जनतन खान पुराउने गरेको छु,’ उनले भने । ५३ वर्षका रामिजाल पढेलेखेका पनि छैनन् । खेतीपाती गरेर जनतन ६ जनाको परिवार पालेका छन् ।

कृषिबाटै सबै घरखर्च चलाउँदै आएका रामिजाल बेमौसमी तरकारी उत्पादन गरेर आम्दानीको श्रोत बढाउने सोचमा डुबेको वर्षौँ भयो । उनले सोचेअनुसार आधुनिक तरिकाले खेतीपाती गर्ने र बेमौसमी तरकारीहरु उत्पादन तथा बिक्री गरेर आम्दानी बढाउने सोच रहेपनि सोचअनुसार केही गर्न नसकेको मिसन टुडेसँग गुनासो गरे । सिँचाइ र विद्युत्को सुविधाको आश्वासन पाएपछि भोट दिएर नेतालाई जिताएका रामिजाल एक पात्र हुन । उनीजस्ता जलकुन्डी गाउँका थुप्रै सर्वसाधारण किसानहरुले आश्वासन पाएपछि भोट दिएका थिए ।

बेमौसमी तरकारी उत्पादनका साथै आधुनिक तरिकाले खेतीपाती गर्ने उनको सोच र चाहानाको बाधक बन्यो सिँचाइ । सिँचाइको सुविधा नहुँदा सोचेअनुसार कृषि उत्पादन गर्न नसकेको उनले बताए । कैयौँ पटक सिँचाइका लागि कुलो, पाइप, मटर र टु फेसको विद्युत् तारको व्यवस्था गर्दिन्छौँ भनेर चुनावमा भोट दिएको कहानी सुनाउँछन् उनी । तर चुनाव जितेपछि सिँचाइ र विद्युत्को सुविधा दिन्छौँ भन्ने नेताहरु फर्केर नआएको गुनासो गर्दै उनले भने, ‘लोभलालच देखाएर नेतालाई भोट हालिम् अहिले केही पाएनौँ । हाम्रा भोटले जितेर किसानका लागि केही गरेनन् । नेतालाई भोट हालेर केही पाएनौँ ।

२०७९ र त्यसअघिको चुनावमा पनि सिँचाइको प्रलोभन देखाएर भोट मागेकाहरुसँग लमही नगरपालिका वडा नम्बर ९ जलकुन्डीका सर्वसाधारणहरु रिसाएका छन् । राजमार्गसँग जोडिएको जलकुन्टी कृषि उत्पादनका लागि सम्भावित ठाउँ हो । जहाँ कृषि उत्पादनका लागि उर्वरभूमि मानिन्छ । तर सिँचाइको अभावले त्यहाँ भनेजस्तो कृषि उत्पादन हुन सकेको छैन । विभिन्न बेमौसमी तरकारी, गहुँ, मकै, धान, आलु, प्याज, लसुन, टमाटरलगायत नगदेवाली सिँचाइबिना पनि आकासे पानीको भरमा राम्रै उत्पादन हुने गर्दछ ।

सानो बस्ती रहेको जलकुन्डीका सर्वसाधारण किसानहरुको खेतबारीको पुच्छारबाट कालीखोला बगेको छ । खेतबारीसँग जोडिएर कालीखोला बगेपनि त्यहाँ किसानहरुका लागि सिँचाइको कुनै सुविधा छैन । कहीँ कतै पहुँच नभएका आर्थिक रुपमा पनि कमजोर भएका किसनाहरुले कालीखोलाको पानी हेर्दै खेतबारीमा काम गर्ने गर्दछन् । नजिकै खोला भएपनि उनीहरुले खेतबारीमा सिँचाइ गर्न सकेका छैनन् । जसलेगर्दा भनेजस्तो गरी कृषि उत्पादन गर्न सकेका छैनन् । स्थानीय पालिकासँग सिँचाइ, बीउबिजन र मल मागेपनि केही नदिएको उनीहरुको गुनासो छ।

यस विषयमा लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले भने, ‘जलकुन्डी गाउँमा विद्युत् थप विस्तार र सिँचाइको अभावबारे कुरो आएको थियो, मैले विद्युत्का लागि विद्युत् अफिसमा कुरा गरिदिएको थिएँ ।’ सिँचाइका लागि वडामा परेको बजेटबाट भएपनि केही सहयोग पुराउने बताउँदै उनले भने, ‘स्थानीयले फोन गरेर गाउँको समस्या बताएपनि पालिकामा नआएको र हामीले खोज्दा पनि कोही किसान सम्पर्कमा आउनु भएन ।’

 

  • No tags available
प्रकाशित मिति : २०८२ साउन ४ गते आइतबार